बजार नपाउदा बारीमै कुहिन्छ स्याउ

प्रकाशित मिति : शनिबार, असार ७, २०७६

दार्चुला । व्याँस गाउँपालिका वडा नम्बर १ छाङ्रुका कृषक जितबहादुर बोहोराको बारीमा यो वर्ष ७ क्विन्टल स्याउ फलेको थियो । तर, बजार पुर्याएर बिक्री गर्न नपाउदा १० लाख बढीको घाटा ब्यहोर्नुपरेको छ ।
‘जिल्लामै नमुनाको रुपमा स्याउ खेती गरिरहेका बोहराले भन्नुभयो, गाउँ नजिक न सडक यातायातको पहुँच छ, न बजार नै । बोकेर बजारसम्म पुर्याउ भनेपनि बाटो छैन । राम्रो माटो र उपयुक्त हावापानी भएकाले स्याउ राम्रो फल्ने गरेपनि फाइदा लिन सकिएको छैन ।’ दार्चुला सदरमुकामबाट २८ कोष टाढाको छाङ्रु गाउँसम्म सडक यातायातको पहुच नपुगेको कारण उत्पादित स्याउ बारीमै कुहिने गरेको उहाँले गुनासो गर्नुभयो ।
गत बर्षसम्म जोखिमपूर्ण भए पनि आवतजावत रोकिएको थिएन, कृषक बोहराले भन्नुभयो, यसपालि अधिकांश ठाउँमा पहिरोले क्षति र्पुयाएको कारण नेपालतर्फ आवतजावत गर्न बाटो नै छैन् । जिल्ला सदरमुकाम आउँनुपरे भारतको भुमि भएर आउनुपर्ने बाध्यता छ ।
तीन रोपनी जमिनमा तीन सय बोट स्याउ फलाएका कृषक बोहराले बजार नपाउँदा बर्षेनी उत्पादन अनुसारको आम्दानी गर्न पाएका छैनन् । यातायात र बजारको व्यवस्था भए व्यास गाउँपालिकामा व्यावसायिक स्याउखेतीको प्रचुर सम्भाबना रहेको छ । यातायातको पहुच पुग्न समय लाग्ने भएकोले शितभण्डार गृहको व्यवस्थापन भए बेमौसमी समयमा समेत स्याउ बिक्रि गर्न सकिने कृषकहरुको माग छ ।
उत्पादन भएको स्याउ भारतीय सुरक्षाकर्मीहरुलाइ सस्तो मुल्यमा बेच्ने गरेको र बढी भएको स्याउ बारिमै कुहिएर खेर जाने समस्या रहेको कृषक बोहराले बताउँनुभयो । पछिल्लो समय स्याउ जोन कार्यक्रम सञ्चालन भएदेखी धेरै कृषक व्यवसायिक स्याउखेतीमा आवद्ध भएपनि बजार र यातायातको अभाबका कारण समस्या भोग्नुपरेको छ ।
जिल्ला सदरमुकामबाट गाउँसम्म पुग्न चार दिन समय लाग्ने भएकोले स्याउमा रोग किराको संक्रमण भएमा प्राविधिक खोज्न समेत नसकिने अवस्था छ । समय बढी लाग्ने भएकोले कृषि प्राविधिकहरु आवश्यक परेको बेला गाउँसम्म आउन नसक्ने गरेको कृषक बोहराले बताउँनुभयो ।
दार्चुला तिकंर सडक निर्माण भएदेखी सडक सपना देखेका व्यास बासी सडक निर्माणमा ढिलाइ हुदा निरास बनेका छन् । एक दशक पहिलेदेखी स्याउ खेती गरिरहेका बोहराले सडक र बजार व्यवस्थापन भए स्याउ खेतीलाइ उद्योगकै रुपमा अगाडी बढाउने योजना रहेको बताउँनुभयो । व्याँसको भबिस्यसंग जोडिएको तिंकर सडक चाडो निर्माण गरिदिन नेपाल सरकारसंग व्याँसबासीले माग गरेका छन् ।