श्रीमानले घरमा आगो लगाउदा श्रीमती जलेर खरानी

प्रकाशित मिति : बुधबार, असार ११, २०७६

दार्चुला । नौगाड गाउँपालिका वडा नम्बर २ भैसेमेलाकाका ३२ बर्षीय शेरसिह बडालले आफ्नै घरमा आगो लगाउदा श्रीमती जलेर खरानी भएकी छिन् ।
शनिबार राती साढे १० बजेतीर मदिरा सेवन गरेर घरमा पुगेका शेरसिहले तीन तलाको १० कोठे घरमा आगो लगाएका हुन् । शेरसिहका बुवा बहादुर सिह बडालले भन्नुभयो, सधैजसो मदिराको मातमा घर परिवारसंग झगडा गर्ने छोराले घर आउने बित्तिक्कै परिवारका सबै सदस्य बाहिर गयौँ । ‘छोरो सुतेपछि घरभित्र जाऔँला भन्ने सोचेका थियौ तर घरभित्र पस्न नपाउँदै घर जलेर खरानी भयो, घरभित्रै जलेकी बुहारीको कंगाल मात्रै भेट्टियो ।’
घरमा आगो लगाएर छोरो भागेपछि छिमेकी गुहार्न आफू गाउँ गएको बताउने बडालले घरमा रहेकी बुहारीको घरबाट समान निकाल्ने क्रममा जलेर मृत्यु भएको बताउँनुहुन्छ । तर बिमलाका माइती पक्षले भने छोरीको बिगतमा समेत पटकपटक हत्या प्रयास भएको कारण सामान निकाल्न जादा जलेको नभइ जलाएर हत्या गरिएको आरोप लगाएका छन् ।
मृतकका दाजु जमन सिह ऐरीले भन्नुभयो, घरमा आगो लागेपछि समेत बहिनिसंग फोनमा कुरा भएको छ, आगो लागेको घरभित्र गएर जलेको नभइ हत्या गरिएको हुनसक्छ । विगतमा समेत बिभिन्न आरोप लगाउँदै बहिनिलाइ दुई बर्ष यता हिसां र यातना दिने गरेकोले समेत हत्या गरेको हुनसक्ने ऐरीले बताउँनुभयो । यसअघि दुई पटक प्रहरी चौकिसम्म पुगेर घरझगडाको मिलापत्र भएको र वडा र गाउँपालिकामा समेत पटकपटक मिलापत्र गरिएकोले आगलागीको घटना झनै संकास्पद रहेको स्थानीय बताउछन् ।
शेरसिह बडालले शनिबार राती स्थानीय बजारमा चारजना साथिहरुसंग महाकाली नामको मदिरा खाएर घर फर्कीएको वडाअध्यक्ष नारायण सिह ठगुन्नाले जानकारी दिनुभयो । बडालको घर एकान्तमा भएकोले घटनाबारे एकिन जानकारी पाउँन नसकिएको उहाँको भनाइ छ । आगलागी भएको थाहा पाउने बित्तिकै दल्लेक प्रहरी चौकीबाट प्रहरीको टोली राति १ बजे नै घटनास्थलमा पुगेको भए पनि घर बस्तीबाट टाढा रहेको, घरको पहिलो तल्लामा खर र परालमा आगो लगाइएकाले बिहान मात्रै आगो नियन्त्रण गर्न सकिएको प्रहरीको भनाई छ । बिहान ६ बजे मात्रै आगो नियन्त्रणमा लिन सकिएको र त्यतिबेला बडालकि श्रीमती बिमला बडालको जलेको अवस्थामा शरीरको केही भागमा मात्रै फेला परेको प्रहरी उपरीक्षक दिपेन्द्र शाहीले जानकारी दिनुभयो ।
जलेर केही भाग मात्रै बाँकी रहेको बिमलाको सवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ । भने आफ्नै घरमा आगो लगाउने शेरसिह बडाललाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको डिएसपी शाहीले बताउँनुभयो ।
आमाबुबा, श्रीमान श्रीमती, दुई छोरा र एक छोरी गरी सातजना परिवारका सदस्य उक्त घरमा बस्दै आएका थिए ।