असुरक्षित चमेलियाको ड्याम साइट

विद्युत् बाल्न नपाएको पिडामाथि जोखिम पूर्ण यात्रा गर्नुपर्ने बाध्यता
प्रकाशित मिति : बुधबार, असार ११, २०७६

दार्चुला । चमेलिया जलविद्युत् आयोजनाको ड्यामसाइडका स्थानीय र बलाँच­मार्मा सडकखण्डका यात्रुहरुले जोखिमपूर्ण यात्रा गरिरहेका छन् ।
आयोजनाको ड्यामसाइडमा रहेको पुरानो बाटो विस्थापित भएका कारण त्यहाँका स्थानीयहरुले बाधँको किनारैकिनार जोखिम मोलेर यात्रा गर्न बाध्य भएका छन् ।
३० मेगावाट क्षमताको जलविद्युत् आयोजनाको बाँधस्थल (ड्याम) वरिपरि घेर पर्खाल नहुँदा जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ । स्थानीय पानसिँह धामीले भन्नुभयो, शेरीका स्थानीयले आगनमै विद्युतको ड्याम भएरपनि बत्ती बाल्न समेत पाएका छैनन् । विद्युत् बाल्न नपाएको समस्या एकातिर छ, भने जोखिम पूर्ण यात्रा गर्नुपर्ने बाध्यता अर्कोतिर छ ।
लक्ष्यभन्दा दोब्बर लगानी अर्थात १६ अर्ब रुपैँया बजेट खर्चेर निर्माण भएको आयोजनाको बाँधस्थलमा सामान्य तारजालीको समेत व्यवस्था गरिएको छैन् । विगतमा चमेलिया नदी किनारकै बाटो प्रयोग गरेर यात्रा गरिरहेका शेरीका स्थानीय अहिले उक्त बाटो भन्दा उचाईको भीरको बाटो प्रयोग गरेर आवत् आवत् गर्नु परेको छ । विगतमा शेरी बासी तथा नौगाड गाउँपालिकाका केही स्थानीयहरुले प्रयोग गर्दै आएको बिटुले र शेरी जोड्ने झोलुंगे पुल चमेलिया जलविद्युत् आयोजनाको ड्यामको कारण डुबानमा परेको छ ।
मार्मा गाउँपालिकाको वडा नम्बर ३ र ६ जोड्ने चमेलिया नदीमाथि अर्थात् ड्याम साइट माथिको झोलुंगे पुल डुबानमा परेपछि नयाँ पुल निर्माण गरिएको छ । पुरानो झोलुंगे पुल डुबान र पुरानो बाटो ड्याम साइटका कारण विस्थापित भएपछि नयाँ बाटो र पुल निर्माण गरिएको थियो । पुरानो पुल ड्यामका कारण डुबानमा परेपनि नदीबाट निकालिएको छैन् ।
स्थानीय गगन सिँह धामीले भन्नुभयो, नयाँ बाटो निर्माण गरिएपनि शेरीबासीलाई भने बाटो निकै जोखिमपूर्ण रहेको छ । ‘सुदूरपश्चिम प्रदेशकै गौरबको आयोजना निर्माण गरिएपनि बाटो भने जोखिम पूर्ण छ, उहाँले भन्नुभयो, ‘३० मेगावाटको जलविद्युत् उत्पादन गर्ने ड्याम साइटको भीरालो बाटोमा रेलिङ समेत निर्माण गरिएको छैन् । पैदल यात्रुदेखी यातायातका साधनहरुसमेत यहि बाटो भएर आवतजावत गर्ने गरेका छन् । यहाँ निकै जोखिम छ ।’
त्यस क्षेत्रमा झण्डै डेढ फीटको फाराकिलो बाटो निर्माण गरिएका प्रति स्थानीय आक्रोसित भएका छन् । नागरिकहरुलाई झुक्याउने र नागरिकहरुको जोखिम पूर्ण यात्रा सृजना गर्ने खालको बाटो निर्माण गरिएकाले उक्त बाटोमा कुनै दुःखद् घटना भएपछि त्यसको जिम्मेवारी आयोजनाले लिनुपर्ने स्थानीयहरुको भनाई छ ।
आफूहरुले आगनको डिलमै निर्माण भएको आयोजनाको बत्ती बाल्न नपाएकोमा आक्रोशित शेरीका जनताहरु जोखिमपूर्ण बाटो निर्माण गरिएको प्रति झन् आक्रोशित बनेका हुन् ।
चमेलिया जलविद्युत आयोजनाको बाँधछेउको जोखिमपूर्ण बाटो । तस्बिर ः लोकेन्द्र÷दार्चुला