घुस लिएको आरोपमा पक्राउ

प्रकाशित मिति : शनिबार, असार १४, २०७६

कञ्चनपुर । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कञ्चनपुरका प्रमुख अजित श्रीवास्तवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश सरकारबाट कञ्चनपुरको चौधर नदीमा तटबन्ध निर्माणका लागि आएको २५ लाख रुपैयाँ बजेटमध्ये उपभोक्ता समितिबाट घुस लिएको आरोपमा उनलाई आयोगको कञ्चनपुर कार्यालयको टोलीले पक्राउ गरेको हो । प्रदेश सरकारले जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयमार्फत तटबन्ध निर्माणका लागि बजेट पठाएको थियो । उक्त बजेटको १५ प्रतिशत कमिसन मागेपछि  कार्यालय प्रमुख  श्रीवास्तव अख्तियारको फन्दामा परेका हुन् ।

चौधर नदी तटबन्ध उपभोक्ता सहितले सबै काम पूरा गर्दा पनि कार्यालय प्रमुख श्रीवास्तवले कुनै न कुनै बहाना बनाएर भुक्तानी रोक्दै आएको समितिका अध्यक्ष मिलन सिंहले बताउनुभयाे । कार्यालय प्रमुख श्रीवास्तले दुई लाख दिएपछि मात्रै काम गरिदिने भनेपछि आफूले अख्तियारको सहायता लिएको समितिका अध्यक्ष सिंहले बताए । बिहीबार बिहान ११ बजेतिर अध्यक्ष सिंह रकम बोकेर श्रीवास्तवको कार्यालय गए ।

कार्यालय प्रमुख श्रीवास्तवले सो रकम फिल्ड इन्चार्ज इन्जिनियर गृष्मा ठगुन्नालाई बुझाउन भनेपछि अध्यक्ष सिंहले ठगुन्नालाई बुझाए । त्यसपछि उनले आएपछि अख्तियारलाई खबर गरेको बताउनुभयाे । केही बेरमै अख्तियारको टोलीले कार्यालयमा खान तलासी गर्दा कार्यालय प्रमुखले किचनमा भएको चामलको बोराभित्र सो रकम लुकाएर राखेको फेला परेको हो । अख्तियारले श्रीवास्तवसहित इन्जिनियर ठगुन्नालाई नियन्त्रणमा लिएको छ ।

समितिका अध्यक्ष सिंहले घुस दिएर काम गराउनुभन्दा अख्तियारमा पु-याउनु बेस भएको भन्दै अख्तियारको सहायता लिएको बताए । सिंहले कार्यालय प्रमुखले मोलमोलाइ गरेर दुई लाख लिएको र उक्त रकम ठगुन्नालाई दिन भनेपछि दिएको बताउनुभयाे । सत्ताधारी नेकपानिकट विद्यार्थी र युवाले घुस्याहा कर्मचारी भन्दै उनलाई अख्तियार कार्यालय लग्ने क्रममा कालोमोसो दलेका थिए । नियन्त्रणमा लिइएका कार्यालय प्रमुखसहित इन्जिनियर ठगुन्नालाई थप कारबाहीका लागि शुक्रबार काठमाडौं पठाउने तयारी भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरका प्रवक्ता टोपबहादुर विष्टले बताउनुभयाे । दुवैलाई कारबाहीका लागि हवाईजहाजमार्फत केन्द्रीय कार्यालय पठाइने उनले बताउनुभयाे ।