चार सय चौँतिस मुक्त हलिया पुनःस्थापन

प्रकाशित मिति : शुक्रबार, साउन ३, २०७६

दार्चुला समाचारदाता

दार्चुला, साउन १ गते । गतबर्षसम्म आफ्नो नाममा घरजग्गा केहि नभएका लेकम गाउँपालिका ४ खरकडाका भोजराम चुनाराको मुक्त हलिया पुनःस्थापना कार्यक्रम अन्तरगत पक्की घर बनेपछि परिवारमा खुसीयाली छाएको छ ।

चुनारा मात्र हैन आफ्नो घरजमिन नभएर साहुको काम गर्दै अर्काको सहारामा बाचेका दार्चुलाका ४ सय ३४ जना मुक्त हलियाहरुको घरबास भएको छ । नेपाल सरकारले २०६५ साल भाद्र २१ गते मुक्त हलिया घोषण गरि कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न १२ जिल्लामा मुक्त हलिया पहिचान गर्दै घर निर्माण गरिदिएपछि मुक्त हलियाहरुको घरबास भएको छ । मालिकार्जुनका मुक्त हलिया बिमला वडले भन्नुभयो, ‘अर्काको हलि भएर काम गर्दाको दुःख भनिसाध्य छैन्, अहिले मजदुरी गरेर भएपनि खानलाउन पुगेको छ, आफ्नै घरमा बस्न पाउँदा असाध्यै खुसी महसुस भएको छ ।’

दार्चुला जिल्लामा कुल ४ सय ५९ जना मुक्त हलिया पहिचान भएका थिए । आर्थिक बर्ष २०७०÷७१ देखि पुनःस्थापन अनुदान दिन सुरु भइ आर्थिक बर्ष ७५÷७६ को अन्त्य सम्म कुल ४ सय ३४ जना मुक्त हलिया पुनःस्थापना कार्यक्रम बाट लभान्बित भएका छन । मालपोत कार्यालय दार्चुलाका सूचना अधिकारी नरबहादुर ठगुन्नाका अनुसार, कुल ६१ जनाले जग्गा खरिद र घर निर्माण, ३१ जनाले घर निर्माण र ३ सय ४२ जनाले घर मर्मतको सुबिधा पाएका छन । दार्चुलामा २०६९÷०७० सालदेखी शुरु भएको मुक्त हलिया कार्यक्रम अन्तरगत ८ करोड ७७ लाख ४५ हजार ९ सय ७ रुपैँया बजेट खर्च भएको छ ।

पुनःस्थापन लगतमा नाम भएका बाकी २५ जनाको भने पुनःस्थापना लगत बाट नाम कट्टा गरिएको छ । सूचना अधिकारी ठगुन्नाका अनुसार, नाम लगतकट्टा हुनेमा हालसम्म पटक पटक सूचना जारी गर्दा सम्पर्कमा नआएका, दोहोरो नामवली भएका, जनता आवास कार्यक्रमबाट अनुदान पाएका र मुल हलिया तथा श्रीमान श्रीमती दुबै को मृत्यु भएकाहरु रहेका छन् । पहिचान भएर सम्पर्कमा आएका सबै मुक्त हलिया पुनःस्थापित भएसंगै दार्चुलामा मुक्त हलिया पुनःस्थापन कार्यक्रम सम्पन्न भएको कार्यालयले जनाएको छ ।

जिल्लाभरीमा तथ्याङक संकलन भएको समयमा विभिन्न कारणले सुचिकृत नभएका पाचँ सय बढी हलियाहरु सुबिधाबाट अझैपनि बञ्चीत भएकोले सरकारले फेरी एकपटक पुनःस्थापनाको कार्यक्रम सञ्चालन गरेर सबै हलियाहरुलाइ सुबिधा दिनुपर्ने मुक्त हलियाहरुको माग गरेको छ । हलिया अगुवा दानिराम तिरुवाले भन्नुभयो, ‘सबै हलियाहरु मुक्त भइसकेका छैनन, अधिकासंले अझैपनि सेवा पाएको अवस्था छैन, सरकारले पुनःस्थापना कार्यक्रममा नसमेटिएका मुक्त हलियाहरुलाइ सुबिधा दिन कार्यक्रम ल्याउनुपर्छ ।’

मालपोत कार्यालयका सूचना अधिकारी ठगुन्नाले भन्नुभयो, छुट भएका मुक्त हलियाको सन्दर्भमा सरकारले समस्या समाधान गर्नुपर्ने देखिन्छ । जनता आवासबाट अनुदान पाइ पुनःस्थापना लगतबाट नमावली लगतकट्टा भएका मुक्त हलियाहरुले पुनःस्थापना सुबिधा नपाएपनि भोलिका दिनमा नेपाल सरकारले मुक्त हलियालाई लक्षित गरि संचालन हुने अरु कार्यक्रमबाट भने लाभान्बित हुनसक्ने मालपोत कार्यालयले जनाएको छ ।