परोपकारी काममा सुदूरपश्चिमेली नेपाली समाज

प्रकाशित मिति : सोमवार, साउन ६, २०७६

दार्चुला । सुदूरपश्चिमेली नेपाली समाज भारत जम्मु कस्मिर राज्य समितिले पछिल्लो समय एकपछि अर्को परोपकारी कामहरु गर्दै आएको छ ।
जम्मु कस्मिर राज्य समितिले गरीब, बिपन्न, असहायलाइ आर्थिक सहयोग गर्ने, विकट जिल्लाहरुमा स्वास्थ्य शिविर सञ्चालन गर्नेदेखी खेलकुद र मनोरञ्जनमुलक कार्यक्रमहरु समेत सञ्चालन गरिरहेको छ ।
बझाङको खप्तड छान्ना गाउँपालिका वडा नम्बर ६ घर भएका दानु थापा आगलागीबाट घाईते हुदा समाजले सहयोग गरेको छ । हाल जम्मू, कश्मीर बस्ने थापाको परिवारिक, आर्थिक अवस्था निकै कमजोर भएको थाहा पाएर सुदुरपश्चिमेली नेपाली समाज जम्मू, कश्मीर राज्य समितीले ४ हजार ८ सय रुपैँया सहयोग गरेको सुदूरपश्चिमेली नेपाली समाज भारतका केन्द्रिय समिति सह कोषाध्यक्ष तथा जम्मु कस्मिर इन्चार्ज बाशुदेब जोशीले जानकारी दिनुभयो ।

यस्तै सुदूरपश्चिमेली नेपाली समाज अन्तरराष्ट्रिय समितिको मातहतमा डडेल्धुरा र बाजुरामा महिला पाठेघर सम्वन्धि स्वास्थ्य शिविरमा ५ हजार १ सय २० रुपैँया आर्थिक सहयोग गरेको जम्मु कस्मिर इन्चार्ज जोशीले बताउँनुभयो ।

दार्चुलाको शैल्यशिखर नगरपालिका ७ झरकडा बस्ने श्री धरम सिह धामी को छोरा मुकेश धामी जम्मू, कस्मिरमा काम गर्ने क्रममा लडेर टाउकोमा गम्भीर चोट लागेपछि उपचार खर्च जुटाउन समाजले ठुलो पहल गरेको थियो । आर्थिक अवस्था कमजोर भएका धामीको उपचारमा समस्या भएपछि जम्मू, कस्मिर राज्य समितिले एक लाख ६८ हजार ४ सय ३५ रुपैँया सहयोग संकलन गरेर ज्यान जोगाउन सफल भइएको जोशीले बताउँनुभयो ।
दार्चुलाकै दुँहु गाउँपालिका वडा नम्बर २ बस्ने टेकराम लुहारको छोरा आयुस राम लुहारको जन्माजात दुबै खुट्टा अपाङग भएपनि उपचार गर्न आर्थिक अभावमा समस्या भएको थियो । आयुसको उपचार गर्नका लागि जम्मू कस्मिर राज्य समितिले १८ हजार ८० रुपैँया आर्थिक सहयोग गरेको जनाएको छ ।
बैतडी घर भएर भारतको तेलंगनामा काम गर्ने सुदूरपश्चिमेली नेपाली समाज भारत तेलंगना राज्य समितीका वरिष्ट उपाध्यक्ष भान बहादुर विष्टको मुटुको उपचारका लागी ४ हजार ८ सय रुपैँया र समाजका पदाधिकारीहरुले बेलाबेला रक्तदान समेत गर्दै आएको जोशीले जानकारी दिनुभयो ।
स्थापना कालदेखी अहिलेसम्म जम्मु कस्मिर राज्य समितिबाट विभिन्न व्याक्तिलाई १ लाख ९६ हजार ६ सय २७ रुपैँया सहयोग गरिएको र विभिन्न संस्कृति संरक्षणका जनचेतनामुलक कार्यक्रम गरिएको जम्मु कस्मिर राज्य समिति इन्चार्ज जोशीले जानकारी दिनुभयो ।

 

परोपकारसंगै सुदूरपश्चिमेली नेपाली समाजले खेलकुद, मनोरञ्जन र संस्कृति संरक्षणका कार्यक्रमहरु समेत सञ्चालन गर्दै आएको छ । नेपालीहरुको महान चाडपर्वहरु तीज, गौरा, बिशु, शिवरात्री, दशै, तिहार लगायतका चाडपर्वहरुको अवसरमा जनचेतना मुलक सास्कृतिक कार्यक्रम सञ्चालन गर्ने गरिएको समाजले जनाएको छ ।


समाजले मानव सेवासंगै सुदूरपश्चिमको भौतिक संरक्षण, संस्कृति र धार्मीक स्थलहरुको जगेर्ना गर्ने काम गरिरहेको जोशीको भनाइ छ । खेल क्षेत्रको विकास र खेलाडी तथा खेलप्रेमीहरुलाइ प्रोत्साहन गर्न भलिवल प्रतियोगिता लगायतका खेलहरु र मनोरञ्जनको लागि होली, गौरा, तीज लगायत चाडपर्वहरुमा चाँदनी मल्ल, भुवन दहाल लगायतका कलाकारहरुलाइ बोलाएर कार्यक्रम सञ्चालन गरिएको जोशीले बताउँनुभयो ।


सुदूरपश्चिम प्रदेश सरकारसंग माग गर्दै इन्चार्ज जोशीले भन्नुभएको छ, भारतसंग खुला सीमा भएका नाकाहरुबाट बाहिरीने र भित्रिने मानिसहरुको तथ्याङक संकलन र सीमामा निगरानी हुनु आवश्यक रहेको छ । अशिक्षा, गरीबि लगायत कारणले बालबालिकाहरु समेत भारत गएर श्रमशोषणमा पर्ने गरेका छन्, चेलिबेटी बेचबिखन लगायतका अपराधीक कृर्याकलापहरु समेत हुने गरेका कारण सीमामा कडाइ गरिनुपर्नेमा उहाँको जोड छ ।
भातीय पुजिपतीको नोकर भएर काम गर्नुपर्दा धेरै बालकले श्रमशोषणको सिकार हुनुपरेको र धेरै बेपत्ता हुने तथा ज्यान समेत जोखीममा पर्ने गरेको कारण सुदूरपश्चिम सरकारले भारतमा गएकाहरुको तथ्याङक संकलन गरेर सुरक्षा र श्रम गर्ने वातावरणको शृजन ागर्न प्रयास गर्नु आवश्यक रहेको जोशीको भनाइ छ ।