बाघको छाला सहित एक जना पक्राउ

प्रकाशित मिति : शनिबार, साउन २५, २०७६

दार्चुला । दार्चुलामा बाघको छाला सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दुहुँ गाउँपालिका वडा नम्बर २ वस्ने २९ बर्षीय दिपक वडाल रहेको प्रहरीले जनाएको छ । शुक्रबार बेलुकी ६ बजेतिर गाउँबाट दार्चुला सदरमुकाम खलंगा आउँदै गरेका वडाललाइ शंकाको आधारमा प्रहरी चौकी ब्रह्मदेबबाट खटिएको टोलीले दुहुँ गाउँपालिका ३ तिमुरपाटामा बाटोमा हिडिरहेको अवस्थामा चेकजाचँ गर्दा बाघको छाला फेला परेको हो । चेकजाचँका क्रममा वडालले बोकेको झोलामा चरी बाघको जस्तो देखिने ३९ ईन्च लम्बाइ र १० ईन्च चौडाइ भएको सुकाएको छाला फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । छाला सहित पक्राउ परेका वडाल सशस्त्र प्रहरी बल हेडक्वाटर नम्बर ५० गुल्म दार्चुलामा कार्यरत प्रहरी जवान हुन् । दुहुँ गाउँपालिका अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयको क्षेत्रभित्र पर्ने भएकोले थप अनुसन्धान र कारवाहीका लागि छाला सहित पक्राउ परेका वडाललाइ आइतबार अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।