मृत्युदण्ड कुर्दै अमर, बाटो हेर्दै बुवा र श्रीमती

प्रकाशित मिति : मङ्लबार, भदौ ३, २०७६

दार्चुला । दुहुँ गाउँपालिका वडा नम्बर ४ धारीका अमर बहादुर बम १६ बर्षदेखी दुबईको केन्द्रिय जेलमा मृत्युदण्ड कुर्दै जेल जीवन बिताइरहेका छन् ।
१९ बर्ष पहिले बिहे गर्दा लागेको ऋण तिर्न कामको खोजिमा भारतको राजधानी नयाँदिल्ली गएका अमर सवारी चालकका रुपमा सन् २००१ मा यूएई पुगेका थिए । हत्यामा संलग्नहरुको बयान अनुसार, यूएई गएको तेस्रो दिन दुबई स्थित इन्डियन क्लबमा दुई भारतीय नागरिकलाई पुर्याउन गएका बमलाई बाहिर बस्न लगाइएको थियो । ती भारतीय नागरिकले उक्त क्लबमा एक जना सेट्ठी थर भएका भारतीय नागरिककै हत्या गरेका थिए ।
हत्यापछि ती दुई जनालाई यूएईको सारजाहस्थित पोर्टसम्म छोड्न पुगेका अमरबहादुर बम भाषा र ठेगानाको अज्ञानताका कारण पक्राउ परेका थिए । उक्त हत्याकाण्डमा सवारी चालकको रुपमा सहयोग गरेको भन्दै दुबई अदालतले ज्यान मुद्दा दायर गरी सन् २००३ देखी जेल जीवन हुँदै सन् २००७ मा मृत्युदण्डको सजाय सुनाएको थियो । त्यस मुद्दामाथि सुनुवाई गर्दै दुबई अदालतले अभियुक्त मनोज करन र अमरबहादुर बमलाई मृत्युदण्ड दिने फैसला सुनाएर सोही फैसला त्यहाको सुप्रिम कोर्टले पनि पास गरेको छ ।
बिहे गरेको २५ दिनमै आर्थिक समस्याको कारण विदेशीएका श्रीमान फर्किने आसामा श्रीमती धनमती बम र बुवा कर्णबहादुर बम बाटो कुर्दै पर्खिबसेका छन् । अमरका बुवा कर्णबहादुर बमले भन्नुभयो, “निर्दोश छोराको रिहाइका लागि पहल गरिदिन नेता, मन्त्री, प्रधानमन्त्री र राष्ट्रपती सबैलाइ बिन्ति गरिसके । सबैबाट आश्वासन पाएरपनि छोरालाइ जेलमुक्त गरिदिन ठोस पहल गरेजस्तो लागेन । छोरा जेलमा परेर मृत्युदण्डको सजाय पाएको खबर सुनेदेखी पटक­पटक काठमाण्डौँ धाउने गरेका बमले सरकारले पहल गर्न नसकेको दुखेसो गरेका छन् ।”
धनमती बमले आसु झार्दै भन्नुभयो, “नेतादेखी देबिदेवता र भगवानसंग समेत श्रीमानको रिहाइकालागि पहल गरिदिन आग्रह गरे तर कसैले सुनेनन् । श्रीमान घर फर्किने आसामा १९ बर्षदेखी बाटो हेरी बस्दाको पिडा भनिसाध्य छैन् । श्रीमान घर फर्किए बली दिने सर्तमा देवता भागेका खसी, बोका फेरिए तर मेरा दुःखका दिन कहिल्लै नफेरिने भए ।”
कुटनीतिक पहल गरेर छोराको रिहाइ गरीदिन अमरका बुवा कर्णबहादुर बमले प्रधानमन्त्री केपीसर्मा ओलीलाइ भेटेर लिखित र मैखीक आग्रह गरेको एक बर्ष बितेको छ । दुई तिहाइ बहुमतको कम्युनिष्ट सरकारका प्रधानमन्त्रीको सकारात्मक आश्वासनपछि छोरा जेलमुक्त हुने विस्वास बोकेर दार्चुला फर्किएका कर्णबहादुरले अहिलेसम्म सरकारले ठोस पहल नगरेको भन्दै गुनासो गरेका छन् । बाबुराम भट्टराइ प्रधानमन्त्री भएदेखी अहिलेसम्मका सबै प्रधानमन्त्री र राष्ट्रपतीलाइ समेत भेटेका बम परिवारले न्यायका लागि अपिल गरेका छन् ।
छोराले मृत्युदण्डको सजाय पाउने खबरले मनमा आगो लागेका बम परिवारका सदस्यले आर्थिक समस्याले समेत च्याप्दै गएको बताएका छन् । धनमतीले भन्नुभयो, घरको साहारा समेत कोहि छैन, सासुआमा बित्नुभयो, देवरबाबु सानै छ, ससुरा डुब्नै लागेको घामजस्तै हुनुहुन्छ, मैले परिवार पाल्ने कि कमाउन जाने ? अहिले चार ओटा बाख्रा पालेर घरको नुन तेल किन्ने गरेको उहाँले बताउँनुभयो । अमरले छुटकरा पाए अझैपनि जीवनमा सुखका दिन फर्कने आशामा बम परिवारले बाटो हेरी बसेका छन् ।
पत्रकार लोकेन्द्र जोशीले गोरखापत्र दैनिक र अग्रेजी संस्करण द राइजिङ नेपाल पत्रिकामा अमर बम निर्दोश भएरपनि दुबैमा मृत्युदण्डकाे सजाय कुरिरहेको समाचार लेखेपछि युएई को नेपालस्थित दुतावासले बम परिवारसंग सम्पर्क गरेको छ । दुताबाससंग अमर बमकी श्रीमती धनमती बम र बुबा कर्णबहादुर बलमे अमर बमको रिहाइकोलागि पहल गरिदिन आग्रह गरेका छन् । थप छलफलका लागि दुताबासले बम परिवारलाइ काठमाण्डौ बोलाएको जनाएको छ ।
तस्बिर : गोरखापत्र दैनिक र द राइजिङ नेपालमा प्रकाशित समाचार