दार्चुलासहित सुदूरपश्चिममा गौरा पर्व शुरु

सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा सांस्कृतिक पर्व गौरा शुरु
प्रकाशित मिति : मङ्लबार, भदौ ३, २०७६

दार्चुला । सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा सांस्कृतिक पर्व गौरा शुरु भएको छ । गाउँमा गौरा घर लिपपोत गरेर शुक्रबार बिरोडा भिजाइएको छ ।गौरा विसर्जन गर्ने मठमन्दिरको सरसफाइ पनि शुरु भइसकेको छ ।

दार्चुलाका हरेक परिवारमा गौरा महोत्सवको उल्लास छाएको छ । दार्चुलादेखी काठमान्डौसम्म समेत डेउडा खेल लागेको छ । फाग, सगुन र दामाहा लगायतका बाजागाजाको रौनकता बढेको छ ।
गौरापर्व मनाउनकै लागि थातथलो छोडेर बाहिर गएका पनि धमाधम घर फर्कन थालेका छन् । सुदूरपश्चिमका पहाडी जिल्ला दार्चुला, बैतडी, डडेल्धुरा, अछाम, बझाङ, बाजुरा, डोटीका गाउँघरमा अहिले गौरा पर्वको रौनकता छाएको छ ।
सुदूरपश्चिमको प्रमुख सांस्कृतिक पर्व गौरा मनाउन घर फर्किनेका कारण तराईबाट पहाड आउने र सदरमुकामबाट गाउँ जाने गाडीहरु भरिभराउ छन् । सुदूरपश्चिम प्रदेशका हरेक जाती, वर्ग र क्षेत्रका बासिन्दाको विभेदरहित साझा सांस्कृतिक पर्व भएका कारण पनि गौराको उत्साह र रौनकता हुनु स्वभाविक हो ।
महादेव वर पाउन देवी पार्वतीले गरेको कठिन तपस्या र व्रतको सम्झना गर्दै सुदूरपश्चिममा पौराणिककालदेखि मनाइँदै आएको पर्वका रुपमा गौरालाई लिइन्छ ।
३ गते शुक्रबार पञ्चमीका दिन महिलाले सामूहिक रुपमा बिरुडा अर्थात ५ प्रकारका अन्न मिसाएर बनाइने पञ्चबिरोडी स्थानीय जलाशयमा गएर भिजाएका छन् । शनिबार ४ गते परम्परागत कुवाँ र नाउलामा गौरा पुज्ने र अमुक्ताभरण सप्तमीका दिन गौरा भित्र्यिाउने चलन रहेको छ । ५ गते भित्र गौराघरभित्र गौरा बनाउँने, रातभरी जाग्राम बसेर गौरा पुज्ने र ६ गते अष्ठमीका दिन अठवाली पर्व मनाउने चलन रहेको छ ।


एक साता मनाइने गौरापर्व धार्मिक मात्र नभएर सुदूरपश्चिमको सांस्कृतिक र सामाजिक महत्व बोकेको प्रमुख पर्व हो, लेकम गाउँपालिका अध्यक्ष प्रमानन्द जोशीले भन्नुभयो, गौराले धार्मीक, सास्कृतिक परम्पराको जगेर्नाका साथै समाजिक एकता र आफन्त, इष्टमित्र भेटघाटको सुनौलो अवसरका रुपमा समेत लिने गरिएको छ ।
सुदूरपश्चिममा भएका पौराणिक सभ्यतामध्ये गौरा सभ्यता सबैभन्दा प्राचीन मानिन्छ । एकातिर देवीदेउताका चैत, फाग, धुमारी, ठाडो खेल र डेउडा गाएर धार्मिक लोककाव्य जीवन्त राख्ने परम्परा छ  भने अर्को्तिर नेपाल एकीकरणका वीरगाथा डेउडाका रूपमा गाएर राष्ट्रिय एकतालाई पनि गौरा पर्वले संरक्षण गरेको हुन्छ ।
सामाजिक अनुशासन, धार्मिक अनुशासनसँगै पारिवारिक अनुशासनसँग पनि महत्त राख्ने गौराले रामायणकाल, महाभारतकाल र आधुनिक कालखण्डलाई जोड्ने साथै विगतलाई सम्झिने, वर्तमान र भविष्यलाई सुखद बनाउने लक्ष्यअनुरूप मनाउने गरेको पाइन्छ ।
विशुद्ध धार्मिक पर्वका रूपमा मनाइने गौरा शिव–पार्वतीको परम्परागत पूजासँगै डोटेली संस्कृतिमा देव जागरण पर्वका रूपमा समेत मनाउने गरिएको छ । बल, तील, गुभा, धान र साउँका बोटबाट बनाइने गौरा र शिवका रूपमा काठको प्रतिमा स्थापित गरी एक हप्तासम्म पूजा गर्ने परम्परा रहेको छ ।

अविवाहित कन्याहरूले घर भित्र्यिाउने गौरा विर्सजन गर्दा विवाहित बुहारीले टाउकोमा नचाउँदै धार्मिक गीत गाउँदै स्थानीय मठमन्दिरमा लैजान्छन् । मठमन्दिरमा धामी, पूजारीले गौरालाई विधिवत् विर्सजन गर्ने परम्परा रहेको छ । नेपालको सुदूरपश्चिम मात्र नभइ कर्णाली प्रदेश, भारतको कुमाउ, गडवाल, हिमाञ्चलको केही भूभाग हँुंदै कश्मीरसम्म मनाउने परम्परा रहेको छ । कुमाउ गढवाल र सुदूरपश्चिममा गौरा मनाउने परम्परा एउटै भए पनि हिंमाञ्चल र कश्मीरमा भने भिन्न रहेको पाइन्छ ।
सुदूरपश्चिममा ठाउँ अनुसार गौरापर्वको अवसरमा स्थानीय तहहरुले डेउडा खेल प्रतियोगितासमेत आयोजना गर्ने गरेका छन् । विवाहित महिलाले आफ्नो घाँटीमा गौरादेवीको प्रसादका रुपमा उन र धागोले बनाइएको धागो अर्थात स्थानीय भाषामा दुबधागो एक वर्षसम्म बाँध्ने चलन छ । विवाहित महिलाले वर्ष दिनसम्म उक्त दुबधागोको पूजा गरेर मात्रै खाना खाने चलन रहेको छ ।

पञ्चमीका दिन भिजाएका पञ्चबिराेडाहरुले कृष्ण जन्माष्ठमीका दिनसम्म गाैराकाे पुजाअाजा गर्ने, गाैरा सम्पन्न धएपछि परिवारजन र अाफन्तकाे टाउँकाे पुजेर बाकी रहेका बिराेडा धाेइपखाली प्रशादकाे रुपमा भुटेर खाने चलन रहेकाे छ ।