दार्चुलासहित बाह्र जिल्लामा गरिब घरधुरी पहिचान हुदै

प्रकाशित मिति : बुधबार, भदौ ४, २०७६

दार्चुला । नेपाल सरकारले दार्चुला लगायत देशभरीका १२ ओटा जिल्लामा गरिब घरधुरी पहिचान तथा परिचय पत्र वितरणको तयारी गरेको छ । समाजिक सुरक्षा लगायत राज्य र गैरराज्य पक्षबाट प्रदान गरिने सेवामा गरिब परिवारको पहुँच सुनिश्चित गरेर जोखिम न्यूनीकरण गर्न गरिब घरधुरी पहिचान भइरहेको हो ।
सरकारले पहिलो चरणमा देशभरीका ७७ जिल्लामध्ये २६ जिल्लामा २०७० सालमा गरिब घरधुरी पहिचान गरेर परिचयपत्र वितरण गरिसकेको छ । २६ जिल्लाका १२ लाख ४० हजार ३ सय ५० घरधुरीमध्ये ३ लाख ९१ हजार ८ सय ३१ गरिब घरधुरी पहिचान भएका छन् ।
दोस्रो चरण अन्तरगत सुदूरपश्चिम प्रदेशको दार्चुला र डडेल्धुरा सहित सातओटै प्रदेशबाट १२ जिल्ला छनोट गरेर गरिब घरधुरी पहिचानको काम भइरहेको जिल्ला समन्वय कार्यालय दार्चुलाका समन्वय अधिकारी मोहनसिह धामीले जानकारी दिनुभयो । बाकी ३९ जिल्लामा अगामी आर्थिक बर्षमा तथ्याङक संकलन गर्ने सरकारको तयारी छ ।
घरधुरी पहिचान कार्यक्रमलाइ प्रभावकारी र विश्वसनिय बनाउन दार्चुलाका नौ ओटै स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरुलाइ अभिमुखिकरण गरिएको छ । प्रतेक स्थानीय तहमा कार्यपालिका बैठकबाट गरिब घरपरिवार पहिचान तथा परिचय पत्र वितरणका लागि आवश्यक कार्ययोजना स्वीकृत गर्न तथा गणकहरुको कार्यक्षेत्र विभाजन गर्न समेत स्थानीय तहहरुलाइ सूचित गरिएको समन्वय अधिकारी धामीले बताउँनुभयो ।
गरिब घरधुरी पहिचान तथा परिचय पत्र वितरणका लागि नेपाल सरकारले तयार पारेको मापदण्डका आधारमा सम्पुर्ण तथ्याङक संकलन गर्न गणक र सुपरिवेक्षकहरुलाइ निर्देशित गरिएको जिल्ला समन्वय प्रमुख करबिर बहादुर कार्कीले जानकारी दिनुभयो । जिल्लाभरी नियुक्त भएका गणक र सुपरिवेक्षकहरुका लागि गत साता ५ दिनको अभिमुखिकरण कार्यक्रम सञ्चालन गरेर शैद्धान्तिक र प्राविधिक कुराहरु सिकाइएको उहाँले बताउँनुभयो ।
कार्यपालिकाको निर्णय पछि प्रतेक स्थानीय तहमा नियुक्त गरिएका गणक तथा सुपरिवेक्षकहरुले सम्पत्ति बिवरण संकलन गरेपश्चात गरिब घरधुरी पहिचान गरि परिचयपत्र वितरण गरिने छ । तथ्याङक संकलनको क्रममा वास्तविक गरिब नछुटाउन र गैरगरिबलाइ गरिबको सुचिमा नपर्ने गरि वास्तविक तथ्याङक संकलन गर्न प्रशिक्षकहरुले गणक र परिवेक्षकहरुलाइ निर्देशित गरेका छन् ।