गौरा सम्पन्न, लटिनाथ अम्कुरमा पहिलो पटक खेणी लाग्दै

सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा सांस्कृतिक पर्व गौरा सम्पन्न
प्रकाशित मिति : सोमवार, भदौ ९, २०७६

दार्चुला । सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा सांस्कृतिक पर्व गौराको अवसरमा एक हप्तासम्म मेला अर्थात स्थानीय भाषामा खेणी लाग्ने गरेको छ । गत ३ गते मंगलबार पञ्चमीका दिन पञ्चदलहन मिश्रित बिरोडा भिजाएर शुरु भएको गौरा पर्व अन्तरगत बुधबार नानी गौरा, बिहिबार भित्र गौरा र शुक्रबार गौराको मुख्य दिन श्री कृष्ण जन्माष्ठमी अर्थात अठवाली पर्व मनाइएको छ ।
अठवाली सम्पन्न भएपछि दार्चुलाको लेकम क्षेत्र सहित सुदूरपश्चिमको विभिन्न जिल्लाहरुमा गौरा मेला अर्थात खेणी लागिरहेको छ । लेकम गाउँपालिका ५ मैखोलीस्थित मालिकार्जुन मन्दिरमा अठवाली गौरा र नवमीको दिन भण्डारी घरमा खेणी पर्व सम्पन्न भएको छ । दशैको दिन लेकम ५ मैखोलीको एडिबाग मन्दिर, जयपुर मन्दिर रिठाचौपाता लगायत बिभिन्न देविदेवताका मठ मन्दिरहरुमा खेणी मेला लागेको छ । एकादशीका दिन लेकम ५ कै डाडाबाग मन्दिर, लेकम १ को सर्मोली लगायत बिभिन्न मन्दिरमा खेणी सम्पन्न भइसकेको छ । लेकम ५ कै मैखोली अम्कुरस्थित लटिनाथ मन्दिरमा पहिलो पटक द्धादशीको अवसरमा मंगलबार खेणी मेला लगाउने तयारी गरिएको स्थानीय हरिप्रसाद जोशीले जानकारी दिनुभयो । जोशीले भन्नुभयो, गौराको अवसरमा लेकमका दर्जनौ शक्तिपिठहरुमा गौरा, खेणी मेला लाग्दै आएको छ, लटिनाथ मन्दिर अम्कुरमा अहिलेसम्म पुजाआजा मात्रै हुने गरेकोमा यो बर्षदेखी धार्मीक, सास्कृतिक गतिबिधि बढाउने उदेश्यले दामाहा लगायतका बाजागाजा सहित मन्दिरमा गएर बाजा बजाउने र डेउडा खेल खेल्ने लगायतका गतिविधिको आयोजना गरेर पहिलोपटक खेणी पर्व मनाउने तयारी गरेका छौ । सोमबार गाउँलेहरुबिच भएको छलफलपछि खेणी मेलाको आयोजना गर्ने र गाउँ भित्र र छिमेकी गर्खाका मानिसहरुलाइ समेत खेणीमा निमन्त्रणा गर्ने सहमती भएको जोशीले बताउँनुभयो ।
अबको दुई दिन पछि गौराको अवसरमा लाग्ने खेणी मेला समेत सम्पन्न भएर गौराको पुर्णरुपमा समापन हुने लेकम ५ का स्थानीय दुर्गादत्त जोशीले जानकारी दिनुभयो ।
दुई हप्ता पहिलेदेखी दार्चुलाका हरेक परिवारमा गौरा महोत्सवको उल्लास छाएको छ । दार्चुलादेखी काठमान्डौसम्म समेत डेउडा खेल लागेको छ । गाउँघरमा फाग, सगुन र दामाहा लगायतका बाजागाजाको रौनकता बढेको छ ।
गौरापर्व मनाउनकै लागि थातथलो छोडेर बाहिर गएका पनि घर फर्कीएका छन् । सुदूरपश्चिमका पहाडी जिल्ला दार्चुला, बैतडी, डडेल्धुरा, अछाम, बझाङ, बाजुरा, डोटीका गाउँघरमा एक साता पहिलेदेखी गौरा पर्वको रौनकता छाएको छ । सुदूरपश्चिम प्रदेशका हरेक जाती, वर्ग र क्षेत्रका बासिन्दाको विभेदरहित साझा सांस्कृतिक पर्व भएका कारण पनि गौराको उत्साह र रौनकता हुनु स्वभाविक हो ।
महादेव वर पाउन देवी पार्वतीले गरेको कठिन तपस्या र व्रतको सम्झना गर्दै सुदूरपश्चिममा पौराणिककालदेखि मनाइँदै आएको पर्वका रुपमा गौरालाई लिइन्छ ।
एक साता मनाइने गौरापर्व धार्मिक मात्र नभएर सुदूरपश्चिमको सांस्कृतिक र सामाजिक महत्व बोकेको प्रमुख पर्व हो, लेकम गाउँपालिका अध्यक्ष प्रमानन्द जोशीले भन्नुभयो, गौराले धार्मीक, सास्कृतिक परम्पराको जगेर्नाका साथै समाजिक एकता र आफन्त, इष्टमित्र भेटघाटको सुनौलो अवसरका रुपमा समेत लिने गरिएको छ ।
सुदूरपश्चिममा भएका पौराणिक सभ्यतामध्ये गौरा सभ्यता सबैभन्दा प्राचीन मानिन्छ । एकातिर देवीदेउताका चैत, फाग, धुमारी, ठाडो खेल र डेउडा गाएर धार्मिक लोककाव्य जीवन्त राख्ने परम्परा छ  भने अर्को्ितर नेपाल एकीकरणका वीरगाथा डेउडाका रूपमा गाएर राष्ट्रिय एकतालाई पनि गौरा पर्वले संरक्षण गरेको हुन्छ ।
सामाजिक अनुशासन, धार्मिक अनुशासनसँगै पारिवारिक अनुशासनसँग पनि महत्त राख्ने गौराले रामायणकाल, महाभारतकाल र आधुनिक कालखण्डलाई जोड्ने साथै विगतलाई सम्झिने, वर्तमान र भविष्यलाई सुखद बनाउने लक्ष्यअनुरूप मनाउने गरेको पाइन्छ ।
विशुद्ध धार्मिक पर्वका रूपमा मनाइने गौरा शिव–पार्वतीको परम्परागत पूजासँगै डोटेली संस्कृतिमा देव जागरण पर्वका रूपमा समेत मनाउने गरिएको छ । बल, तील, गुभा, धान र साउँका बोटबाट बनाइने गौरा र शिवका रूपमा काठको प्रतिमा स्थापित गरी एक हप्तासम्म पूजा गर्ने परम्परा रहेको छ ।
अविवाहित कन्याहरूले घर भित्र्यिाउने गौरा विर्सजन गर्दा विवाहित बुहारीले टाउकोमा नचाउँदै धार्मिक गीत गाउँदै स्थानीय मठमन्दिरमा लैजान्छन् । मठमन्दिरमा धामी, पूजारीले गौरालाई विधिवत् विर्सजन गर्ने परम्परा रहेको छ । नेपालको सुदूरपश्चिम मात्र नभइ कर्णाली प्रदेश, भारतको कुमाउ, गडवाल, हिमाञ्चलको केही भूभाग हँुंदै कश्मीरसम्म मनाउने परम्परा रहेको छ । कुमाउ गढवाल र सुदूरपश्चिममा गौरा मनाउने परम्परा एउटै भए पनि हिंमाञ्चल र कश्मीरमा भने भिन्न रहेको पाइन्छ ।
सुदूरपश्चिममा ठाउँ अनुसार गौरापर्वको अवसरमा स्थानीय तहहरुले डेउडा खेल प्रतियोगितासमेत आयोजना गर्ने गरेका छन् । विवाहित महिलाले आफ्नो घाँटीमा गौरादेवीको प्रसादका रुपमा उन र धागोले बनाइएको धागो अर्थात स्थानीय भाषामा दुबधागो एक वर्षसम्म बाँध्ने चलन छ । विवाहित महिलाले वर्ष दिनसम्म उक्त दुबधागोको पूजा गरेर मात्रै खाना खाने चलन रहेको छ ।
पञ्चमीका दिन भिजाएका पञ्चबिरोडाहरुले कृष्ण जन्माष्ठमीका दिनसम्म गौराको पुजाआजा गर्ने, गौरा सम्पन्न धएपछि परिवारजन र आफन्तको टाउँको पुजेर बाकी रहेका बिरोडा धोइपखाली प्रशादको रुपमा भुटेर खाने चलन रहेको छ ।