सामाजिक सुरक्षा भत्ता वितरणमा ढिलाइ

प्रकाशित मिति : शुक्रबार, भदौ १३, २०७६

दार्चुला। शैल्यशिखर नगरपालिकाले गत आर्थिक बर्ष २०७५÷०७६ को तेस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता अहिलेसम्म वितरण गरेको छैन् । गत आर्थिक बर्षभित्रै पाउनुपर्ने सामाजिक सुरक्षा भत्ता नपाउदा जेष्ठ नागरिक, अपाङ्गं, असहाय, बालवालिका, एकल महिला समस्यामा परेका छन् ।
शैल्यशिखर नगरपालिका वडा नम्बर ८ का ७८ बर्षीय लालमनी जोशीले गुनासो गर्दै भन्नुभयो, हरेक बर्षको असार महिनामा सामाजिक सुरक्षा भत्ता पाउँदै आएको थिए, यो बर्ष भदौमा समेत भत्ता पाएको छैन । बृद्धभत्ता नआउदा घरमा नुन, तेल किन्न समेत समस्या भएको जोशीले बताउँनुभयो ।
नगरपालिकाको कमजोरीका कारण झण्डै २३ सय जनाले सामाजिक सुरक्षा भत्ता पाएका छैनन् । परिचय पत्रको आधारमा स्थानीय तहले सामाजिक सुरक्षा भत्ता नगद वितरण गर्दै आएकोमा यो बर्षदेखि बैंक खाता मार्फत भुक्तानी गर्न खोज्दा ढिलाइ भएको शैल्यशिखर नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र बहादुर बिष्टले बताउँनुभयो ।
कोष तथा लेखा नियन्त्रण कार्यालय दार्चुलाका सूचना अधिकारी ईन्द्रसिह धामीका अनुसार गत आर्थिक बर्षमै सबै स्थानीय तहको सामाजिक सुरक्षा भत्ता निकासा भइसकेका छ । तर गत माघ महिनामा बैंक खाता खोलेकाहरुले समेत अहिलेसम्म रकम नपाएको स्थानीय गंगादत्त जोशीले बताउँनुभयो । सामाजिक सुरक्षा भत्ताको शिर्षकमा आएको सशर्त रकम हिनामिना गरेर वितरणमा ढिलासुस्ती भइरहेको स्थानीयको आरोप छ । सामाजिक सुरक्षा भत्ता नपाउदा यो बर्षको गौरा पर्व समेत खल्लो भएको बृद्धबृद्धाले गुनासो गरेका छन् ।
शैल्यशिखर नगरपालिकाले मेघा बैंक गोकुलेश्वरलाइ सामाजिक सुरक्षा भत्ता वितरणको जिम्मेवारी दिएको छ । बैंकका सहायक ईन्चार्ज अनिल धामीले भन्नुभयो, नगरपालिकाले ढिलागरी रकम निकासा गरेको छ । अहिले चेक काट्ने काम भइरहेकोले भदौ २० गतेदेखी सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरि तयारी थालेका छौ । सबै वडाको चेक बनिसकेपछि वडा कार्यालयको सहयोगमा सामाजिक सुरक्षा भत्ता वितरण गरिने धामीले बताउँनुभयो ।
सामाजिक सुरक्षा भत्ता खाइपाइ आउनुभएका जानकी जोशीले भन्नुभयो, असारदेखि विभिन्न बाहाना गरेर नगरपालिकाले भत्ता वितरण गरेको छैन । नेपाल सरकारले गत जेठ महिनामै निकासा गरिसकेको बृद्धभत्ता भदौमा समेत नपाए नगरपालिका कार्यालय घेराउ गरेर धर्ना बस्ने बृद्धबृद्धाहरुले चेतावनी दिएका छन् ।