गाई हत्या प्रकरण : पाँच ट्रक सहित सात प्रहरी नियन्त्रणमा

प्रकाशित मिति : शुक्रबार, भदौ १३, २०७६

सुर्खेत। वीरेन्द्रनगरको उत्तरी जलाधार क्षेत्र र सुव्वाकुना क्षेत्रमा गरी दुई दर्जन मृत गाई फेला परे पछि प्रहरीले अनुसन्धानका लागि सात जनालाई पक्राउ गरेको छ । साथै प्रहरीले पाचँवटा ट्रक नियन्त्रणमा लिएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाले दैलेख पठाउने भन्दै नेपालगञ्जको काञ्जी हाउसबाट २९१ वटा गाई आठ वटा ट्रकमा राखेर ल्याएकोमा बिहीबार राती वीरेन्द्रनगर प्रवेशद्वारा मानिने सुव्वाकुना र कटकुवाको भीरबाट खसालिएको बताइन्छ । वीरेन्द्रनगर नगरपालिका वडा नं. ४, ७ र १४ को सीमा क्षेत्रमा पर्ने कटकुवामा १६ वटा र सुव्वाकुनामा आठ वटा गाई मृत फेला परेका हुन् ।
कटकुवा भीरमा खसालिएका मध्ये १६ वटा गाई मरेका छन् भने दुई दर्जन बढी घाइते भएका छन् । अन्य गाई बेवारिसे अवस्थामा छन् । यस्तै सुव्वा कुनामा पनि आठ वटा गाई मृत अवस्थामा भेटिएका छन् । त्यहाँ तीन वटा गाई घाइते अवस्थामा रहेको बताइन्छ ।
विहीबार राती आठ वटा ट्रकबाट ल्याएर सो क्षेत्रमा गाई भीरबाट खसालेको आरोप स्थानीयले लगाएका छन् । राती नै गाई खलासेर नेपालगन्ज फिर्ता हुन लागेका पाँच वटा ट्रक र सात जनालाई सुर्खेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
सो क्षेत्रमा दर्जनौं गाई बेवारिसेसमेत छोडेको स्थानीय बताउँछन् । कानमा वीमा कम्पनीको ट्याग लगाइएका ती गाई कसले किन त्यहाँ ल्याएर फाल्यो भन्ने एकीन भइसकेको छैन । यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ ।
सुर्खेतका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोख्रेलले बाँके प्रशासनको पत्रका आधारमा नेपालगन्ज उपमहानगरपालिकाले दैलेख लैजाने भनेर गाई ल्याए पनि वीचमै भीरबाट खसालेकोले विस्तृत अनुसन्धान सुरु गरिएको बताउनुभयो ।
प्रजिअ पोख्रेलले दैलेख लैजाने भनेर किन सुर्खेतको जंगलमा गाईलाई फालियो भनेर बाँके प्रशासन र नेपालगन्ज उपमहानगरपालिकालाई पनि प्रश्न गरेको जानकारी दिदैं बाँके प्रशासनले ज्युँदा गाई फिर्ता लैजाने भनेर जवाफ दिएको जानकारी दिनुभयो । मृत गाईका बारेमा पशु चिकित्सकको टोलीले घटनाको अध्ययन अनुसन्धानसमेत गरिसकेका छन् । यसैवीच जिल्ला प्रशासन कार्यालय बाँकेबाट जीवित गाईलाई फिर्ता लिन एउटा टोली आएको बताइन्छ ।
दुई दर्जन गाईको मारिएको विषयमा सुर्खेतमा सर्वसाधारणले विरोध जनाएका छन् । विभिन्न सामाजिक संजालमार्फत नेपालगन्जबाट सुर्खेतको कटकुवा र सुव्वाकुना क्षेत्रमा गरी दुई दर्जन गाईलाई फालेर हत्या गरिएकोमा विरोध जनाइएको छ । स्थानीय सूर्यप्रकाश कँडेलले गौहत्यामा संलग्नलाई कारबाहीको माग गर्नुभएको छ । यस्तै चन्द्रप्रकाश कँडेलले पनि गौहत्यालाई मानिसको आपराधिक मानसिकताको पराकाष्टा भएको बताउनुभएको छ ।
यता नेपालगञ्ज उपमहानगरपालिकाले विज्ञप्ति जारी गरी दैलेखको श्रीस्थान पठाउनका लागि लगिएका गाई सुर्खेतमै केही मृत्यु भएको बारे सत्य पत्ता लगाउन छानविन समिति गठन गर्ने जनाएको छ । उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख सुनिलसिंह हमालले काञ्जी हाउसमा स्थान अभावले दैलेख श्रीस्थान लैजाने क्रममा सुर्खेतको कटकुवामा अशक्त भएर हो वा रोगले मृत्यु भएकोवारे सत्यतथ्य पत्ता लगाउन प्रशासनको समन्वयमा छानविन समिति गठन गर्ने जानकारी दिनुभएको छ । -गाेरखापत्रबाट साभार