महाकाली करिडोरको छायामा तिकंर सडक

महाकाली करिडोरको ईआइए अन्तिम चरणमा
प्रकाशित मिति : मङ्लबार, भदौ १७, २०७६

दार्चुला । महाकाली करिडोर अन्तरगत कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको खलंगासम्म २ सय ५४ किलोमिटर सडक खण्डको वातावरणिय प्रभाव मूल्याङकन (ईआइए) को काम अन्तिम चरणमा पुगेको छ ।
त्रिदेशिय सीमा दार्चुलाको तिंकरदेखी कञ्चनपुरसम्म निर्माण हुने रणनीतिक महत्तको सडक अन्तरगत ब्रह्मदेब खलंगा सडकखण्डको ईआइए प्रतिबेदन निर्माणको काम भइरहेको परामर्शदाता कम्पनी जियोसिस कन्सलटेन्टस÷युनिक ईन्जिनियरिङ कन्सलटेन्टस प्रा.लि.का टिम लिडर रेशम बानीयाले जानकारी दिनुभयो । करिडोरको ईआइए प्रगति सम्बन्धि जानकारी गराउँनुका साथै सुझाब संकलन गर्ने उद्देश्यले आइतबार जिल्ला प्रशासन कार्यालय दार्चुलामा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा बैतडीको पञ्चेश्वर बाहेक सबै क्षेत्रमा वातावरणिय प्रभाव मूल्याङकनको काम भइसकेको जनाइएको छ ।
परामर्शदाता कम्पनीका टिम लिडर बानीयाले भन्नुभयो, एघार मिटर अर्थात दुई लेन चौडाइ रहने सडक निर्माणको क्रममा झण्डै ५ हजार ठुला रुखहरु र ७ हजार बुट्यान कटान गर्नुपर्ने देखिएको छ । दार्चुलामा मात्रै लेकम गाउँपालिका, मालिकार्जुन गाउँपालिका र महाकाली नगरपालिका क्षेत्रमा एक हजार दुई सय ६२ रुखहरु काट्नुपर्ने बानीयाले बताउँनुभयो । सडक निर्माण गर्दा दार्चुलाका २ सय २५ घरहरु विस्थापित हुने भएका छन् । करिडोर अन्तरगत कञ्चनपुरमा ११ किलोमिटर, डडेल्धुरामा ५९ किलोमिटर, बैतडीमा १ सय ४४ किलोमिटर र दार्चुलाको धनथलादेखि खलंगासम्म ७७ किलोमिटर सडक निर्माण हुदैछ । दार्चुला र बैतडीमा ३७ किलोमिटर सडक अहिले सञ्चालनमा रहेको महाकाली लाेकमार्गकै प्रयोग हुने करिडोर आयोजनाले जनाएको छ ।
समयमै वातावरणिय प्रभाव मूल्याङकन (ईआइए) सम्पन्न नहुदा बनक्षेत्र नपरेको स्थानमा ठेक्का लगाएर करिडोरको काम भएपनि सुस्त गतिका कारण प्रगति हुन सकेको छैन् । दार्चुलाका प्रमुख जिल्ला अधिकारी शंकरबहादुर बिष्टले भन्नुभयो, छोरो नजन्मिदै न्वारन गरेजस्तो उल्लो प्रकृयाबाट करिडोरको निर्माण हुदा विभिन्न समस्याहरु उत्पन्न भएका छन् । अहिलेसम्म धेरै ढिलाइ भइसकेकोे बताउँदै उहाँले सहि ढंगले गहन अद्ययन गरेर समयमै प्रतिवेदन तयार गरि लागु गर्न सुझाब दिनुभएको छ ।


पत्रकार महासंघ दार्चुलाका अध्यक्ष शंकरसिह धामीले महाकाली करिडोरको कारण त्रिदेशिय सीमासम्म पुग्ने दार्चुला तिकंर सडक खण्डलाइ सरकारले छायामा राख्न नहुने सुझाब दिनुभयो । अहिले सञ्चालनमा रहेको महाकाली लोकमार्ग र निर्माणाधिन महाकाली करिडोरको दुरीमा धेरै अन्तर छैन, अध्यक्ष धामीले भन्नुभयो, करिडोर भन्दा बढी प्रार्थमिकता तिकंर सडकले पाउँनुपर्छ । करिडोर निर्माण हुनु राम्रो कुरा हो, सम्बन्धित क्षेत्रका स्थानीयले लाभ पाउलान तर तिकंरसम्म सडक पुर्याउन सके दार्चुला सहित राष्ट्रकै आर्थिक, धार्मीक, पर्यटकिय र व्यापारिक गतिबिधिमा सकारात्मक प्रभाव पार्छ । जिल्लाको विकास र समृद्धिको ढोका खोल्न तिकंरसम्म सडक विस्तार गरेर नाका सञ्चालन गर्नु आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो । पत्रकार पदम बडालले तिकंर सडक समेत त्यसैमा गाभेर करिडोर निर्माणको कार्यक्रम आएकाे बेला दार्चुलाका सासंद, जनप्रतिनिधि र नेताहरुले तिकंर सडक छुट्टै निर्माण गर्नका लागि भुमिका खेल्न नसकेको कारण अहिले तिकंर सडक छायामा पर्ने खतरा बढ्दै गएकाे धारणा राख्नुभयाे ।
मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्रसिह धामीले भन्नुभयो, निर्माणाधीन करिडोरका कारण पहिरो गएर घोडेबगर, डिन्सी, ढक्या, जडानी लगायतका थुप्रै बस्ती जोखिममा परेका छन् । सडक खनेर तल फालेको माटोका कारण बाढीको खतरा बढाएको छ, उहाँले भन्नुभयो, यसअघि पनि भर्तोला–जौलजिवी सडकले जोखिममा रहेको जौलजिवी बस्ती करिडोरअन्तर्गतको सडकलाई चौडा बनाउँदा सडकको माटो तल फालेको छ । भारी वर्षाका बेला ती ढुंगामाटो बस्तीका घरहरूमा पुगेर स्थानीयको उठिबास हुने जोखिम छ । सडक कार्यालय र निर्माण व्यवसायिले विगतमा सडक निर्माणसंगै आवश्यक ठाउँमा पर्खाल लगाउने र जाली भर्ने लिखित प्रतिवद्धता जनाएको भएपनि कार्यान्वयन नहुदा विपद् निम्तिएको छ । करिडोरजस्तो बृहत् योजनामा पनि वातावरणिय प्रभाव मूल्यांकनलाई ध्यान नदिएर बस्ती र खेतहरुमा काम गर्दा विपद नित्यिन सक्ने खतरा रहेको छ । विपद् न्युनिकरणका लागि सहमति कार्यान्वयन गर्न अहाँले अाग्रह गर्नुभयाे ।
लेकम गाउँपालिका अध्यक्ष प्रमानन्द जोशीले भन्नुभयो, करिडोर सडकले चट्टनी भूभागमा कतैपनि काम गरेको छैन । स्थानीयका खेतीयोग्य जमिनमा मनलाग्दी चौडा सडक कटान गरेर बाढी, पहिरो गइरहेको छ । जिरो बिन्दुबाट नकाटेर बिचबिचमा सजिलो ठाउँमा सडक कटान गर्दा स्थानीयले क्षती व्यहोर्नुपरेको उहाँले बताउँनुभयो । ईआइएको काम छिटो सम्पन्न गरेर मापदण्ड अनुसार सडक निर्माण गर्न उहाँले सुझाब दिनुभयो ।

दुहुँ गाउँपालिका अध्यक्ष पुलेन्द्र बहादुर कार्कीले करिडाेर अन्तरगत निर्माणाधिन सामरिक महत्तकाे तिक‌ंर सडकलाइ सरकारले पार्थमिकताका साथ निर्माण गर्नुपर्ने माग राख्नुभयाे । विगतमा छुट्टै बजेट अाएर निर्माण भइरहेकाे तिकंर सडकमा गतबर्षदेखि करिडाेर अन्तरगतकै बजेट खर्च गर्नुपर्ने भएपछि तिकंर सडक करिडाेरकाे छायामा पर्ने चिन्ता बढेकाे उहाँले बताउँनुभयाे ।
महाकाली नगरपालिकाका नगरप्रमुख हंशराज भट्टले सडक निर्माणको आधा काम भइसक्दा समेत स्थानीय तह र सरोकारवालाहरुसंग आयोजनाले कुनै छलफल नगरेको कारण अन्यौलता कायमै रहेको धारणा राख्नुभयो । सार्वजनिक सुनुवाई कार्यक्रमपछि मात्रै महाकाली करिडोरको कार्यक्षेत्र र प्रगतिबारे जानकारी पाएको उहाँले बताउँनुभयो । करिडाेरका कारण तिकंर सडक निर्माणकाे काममा ढिलासुस्ति हुन नहुनेमा उहाँकाे जाेड छ ।
कार्यक्रमका अध्यक्ष एबं जिल्ला समन्वय समितिका प्रमुख करबिर बहादुर कार्कीले महाकाली करिडोरको नाममा त्रिदेशिय सीमासम्म पुग्ने दार्चुला तिकंर सडकलाइ सरकारले छायामा राख्न खोजेको भन्दै तिकंर सडक निर्माणमा ध्यान दिन आग्रह गर्नुभएको छ । करिडोर निर्माण हुनु राम्रो कुरा हो, त्यसमा हामीले आपत्ती जनाएका छैनौ, कार्कीले भन्नुभयो, रणनीतिक महत्तको तिंकर सडक ओझेलमा पर्छकी भन्ने चिन्ता लागेको छ । यसतर्फ आयोजना र सरकारले ध्यान दिनु आवश्यक रहेको छ ।