“प्रयोगात्मक र व्यवहारिक शिक्षा, अहिलेको आवश्यकता” : जोशी

प्रकाशित मिति : सोमवार, भदौ २३, २०७६

दार्चुला । दार्चुलाका एक युवा शैक्षिक जागरणको अभियान बोकेर देश दौडाहामा लागेका छन् । लेकम गाउँपालिका ५ मैखोली अम्कुरमा जन्मिएका हरिप्रसाद जोशीले देशका विभिन्न जिल्लाका शैक्षिक संस्थाहरुमा पुगेर शैक्षिक जागरणका कार्यक्रम सञ्चालन गरिरहेका हुन् ।
गतिशील नेपाल व्यक्तित्व विकास शैक्षिक कार्यक्रम दर्ता गरेर वैधानिक रुपमा सामुदायिक र संस्थागत विद्यालयहरुमा प्रयोगात्मक र व्यवसायिक शिक्षा तथा व्यक्तित्व विकासका कक्षाहरु लिने गरेको जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, परिवर्तित समयसंगै विज्ञान प्रविधि र व्यक्तित्व विकासको बढ्दो प्रतिस्पर्धालाई मध्यनजर गरेर उपलब्धिमुलक जनशक्ति उत्पादन गर्न शैक्षिक जागरण अभियानको थालनि गरेका हौ । हाम्रो देशको शैक्षिक प्रक्रियामा प्रयोगात्मक, उत्प्रेरणात्मक, प्रतिस्पर्धात्मक, व्यवसायिक, नेतृत्व विकास गर्न आवश्यक रहेकाले देशव्यापी कार्यक्रमको थालनी गरिएको उहाँले बताउँनुभयो ।
देशभरीका विद्यालयहरुमा विद्यार्थीकालागि विद्यार्र्थी तालिम, शिक्षककालागि शिक्षक तालिम, अभिभावककालागि जिम्मेवार अभिभावक तालिमको प्रयोगात्मक शैक्षिक शिविर कार्यक्रम सञ्चालन भइरहेको गतिशील नेपाल व्यक्तित्व विकासका संस्थापक अध्यक्ष समेत रहेका जोशीले जानकारी दिनुभयो । २०७५ सालदेखि शुरु भएको कार्यक्रमले सुदूरपश्चिमका दार्चुला, डडेल्धुरा, कैलाली, कञ्चनपुर, कर्णाली प्रदेशका सुर्खेत, सल्यान, कालिकोट, जुम्ला र प्रदेश नम्बर ५ का दाङ, बाके जिल्लाका झण्डै एक सय ५० विद्यालयका असी हजार विद्यार्थी, शिक्षक, अभिवावकहरुलाइ तालिम दिइसकेको उहाँले बताउँनुभयो ।


कृष्ण स्नातक क्याम्पस लालीबाट स्नातक सम्मको पढाइ गरेका २५ बर्षीय जोशी २०६५ सालमा नेपाल विज्ञान प्रज्ञा प्रतिष्ठानबाट पुरस्कृत भएका थिए । विज्ञान र प्रविधि र नयाँ खोज आविस्कारको क्षेत्रमा निकै रुचि राख्ने जोशीले पानी घट्ट, कोल, स्विच सिम लगायतका उपकरण निर्माण गर्न सफल भइसकेका छन् । शैक्षिक अभियान्ता जोशीले भन्नुभयो, नेपालको जनशक्ति विदेशिनुको कारण हाम्रो विद्यालयहरुले व्यवसायिक तथा जीवन उपयोगी शिक्षा दिन नसक्नु हो । प्रयोगात्मक र व्यवहारिक शिक्षा नै आजको आवश्यकता रहेकोमा उहाँको जोड छ ।
शैक्षिक शिविरबाटै युवा प्रतिभाहरु छनोट गरेर वैज्ञानिक आविस्कारको क्षेत्रमा सहयोग गरिरहेको छौ । जोशीले भन्नुभयो, ल्यापटप, प्रोजेक्टर प्रयोग गरेर मात्रै विद्यार्थीको प्रतिभा रचनात्मक हुन सक्दैन । जीवन उपयोगी शिक्षा र प्रयागात्मक ज्ञान, सीपको विकास गर्न सके मात्रै स्वरोजगार र दक्ष जनशक्ति उत्पादन गर्न सम्भब रहेको छ ।
व्यक्तिका लागि शिक्षा, विश्वका लागि शिक्षा मूल नाराका साथ गतिशील नेपाल व्यक्तित्व विकास कार्यक्रम देशभरी विस्तार भइरहेको छ । उहाँले भन्नुभयो, अहिलेसम्म कार्यक्रम गरेका विद्यालयहरुबाट निकै सकारात्मक प्रतिक्रिया पाएका छौ । देशको विकास गर्नको लागि शिक्षा क्षेत्रको विकास हुनु आवश्यक रहेकोले जीवन उपयोगी शिक्षाको विकासकालागि अभियानलाइ देशव्यापी बनाउने अभियान निरन्तर चलिरहेको छ ।