लाइसेन्स परीक्षाकाे केन्द्र दार्चुलामै राख्न माग

प्रकाशित मिति : बिहिबार, अशोज २, २०७६

दार्चुला । शिक्षक सेवा आयोगले गर्न लागेको अध्यापन अनुमति पत्र परीक्षाको परीक्षा केन्द्र दार्चुलामा नराखिएपछि चौतर्फी विरोध भइरहेको छ ।
शिक्षक सेवा आयोगले विज्ञापन गरेको अध्यापन अनुमति पत्रको दार्चुला र बैतडी जिल्लाको परीक्षा यहि असोज ९ गतेदेखि ११ गतेसम्म बैतडी जिल्ला सदरमुकाममा हुने भएको छ । विगतमा समेत अध्यापन अनुमति पत्रको परीक्षा सञ्चालन भइसकेको दार्चुलाको परीक्षा केन्द्र बैतडी सारिएपछि दार्चुलामै परीक्षा केन्द्र कायम गर्न माग भइरहेको छ ।
अध्यापन अनुमति पत्रको परीक्षा दार्चुलामै गर्न विद्यार्थी संगठनहरुले संयुक्त रुपमा प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्ट मार्फत शिक्षक सेवा आयोगको ध्यानआकर्षण गराएका छन् । भगौलिक रुपमा विकट दार्चुलाको परीक्षा केन्द्र बैतडी सदरमुकाम सार्ने निर्णय बिना कुनै आधार हचुवाको भरमा गरिएकोले दार्चुलामै परीक्षा केन्द्र कायम गर्न शिक्षक सेवा आयोगलाई ज्ञापनपत्र बुझाएर ध्यानआकर्षण गराएको अनेरास्ववियु दार्चुला बहुमुखी क्याम्पस इकाई कमिटि अध्यक्ष दिपकराज भट्टले बताउँनुभयो ।
नेबि संघ क्याम्पस इकाई कमिटि सभापती सुरेन्द्र सिह धामीले भन्नुभयो, दार्चुलाका विद्यार्थीहरुलाइ आवतजावतका साथै खान र बस्न समेत बैतडीमा समस्या हुने भएकोले दार्चुलामै परीक्षा केन्द्र हुनुपर्ने माग गरिरहेका छौ । भगौलिक विकटताका कारण दार्चुलाका कतिपय विद्यार्थीहरु परीक्षामा सहभागि हुनबाट बञ्चित हुने अवस्था शृजना भएकोले दार्चुला सदरमुकाममै परीक्षा केन्द्र तोक्नुपर्ने विद्यार्थी संघ, संगठनहरुले माग गरेका छन् । शिक्षक सेवा आयोगले दार्चुला सदरमुकाममा परीक्षा केन्द्र निर्धारण नगरे सम्पुर्ण विद्यार्थी संघ, संगठन र आम परीक्षार्थीहरुले कडा कदम चाल्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
यसअघि दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सासंद गणेशसिह ठगुन्नाले समेत प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यापन अनुमति पत्रको परीक्षा केन्द्र दार्चुलामै कायम गर्न शिक्षक सेवा आयोग र शिक्षा मन्त्रीको ध्यानआकर्षण गराउनुभएको थियो ।