राष्ट्रियसभाका उम्मेदवारलाई आज चुनाव चिन्ह प्रदान गरिने

प्रकाशित मिति : सोमवार, माघ १५, २०७४

काठमाडौं

निर्वाचन आयोगले माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनमा भाग लिने उम्मेदारलाई आज (सोमबार) निर्वाचन चिन्ह प्रदान गर्ने भएको छ । आयोगले सात वटै प्रदेशमा रहेका निर्वाचन अधिकृतको कार्यालय मार्फत सोमबार अन्तिम नामावली प्रकाशन गरेपछि आयोगले उम्मेदारलाई निर्वाचन चिन्ह दिने भएको हो । आयोगले आइतबार दिउँसो १ बजे देखि सोमबार दिउँसो २ बजे सम्म उम्मेदवारी फिर्ता लिने समय सकिएपछि उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरी निर्वाचन चिन्ह दिने भएको हो । आइतबार आयोगले उम्मेदवार विरुद्ध परेको उजुरीको छानबिन पछि आइतबार मनोनयन भएका उम्मेदारको नामावली प्रकाशन गरेको थियो ।

आयोगले उम्मेदवारी दिएका ८३ जना मध्ये १ जनाको मात्रै उम्मेदवारी खारेज गरेको छ । आयोगले प्रदेश नम्वर ४ अन्र्तगत अपांगता कोटामा उम्मेदवारी दिएका एमालेका उम्मेदवार राम बहादुर थापाको उम्मेदवारी खारेज गरेको हो । अपांगता कोटा तर्फका उम्मेदवार बनेका थापाले निर्देशिका अनुसार अपांगता परिचयपत्र नलिएपछि उम्मेदवारी खारेज भएको हो । उनी विरुद्ध प्रतिस्पर्धामा रहेका कांग्रेसका प्रकाश पन्थले उजुरी दिएका थिए । दर्ता लगत्तै उम्मेदवार विरुद्ध उजुरी एवं दावी विरोध गर्न समय दिएकोमा उजुरी माथि छानबिन गरी आयोगले आइतबार मनोनयन भएका उम्मेदारको नामावली प्रकाशित गरेको थियो ।

आयोगका प्रवक्ता नवराज ढकालले सोमबार दिउँसो सम्म उम्मेदवारी फिर्ता लिने समय दिइएकाले उम्मेदवारी फिर्ता लिने समय सकिएपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने बताए । त्यसपछि उम्मेदवार आआफ्नो प्रचारमा लाग्ने उनको भनार्इ छ । राष्ट्रियसभा निर्वाचनका लागि आयोगले शुक्रबार देखि निर्वाचन आचारसंहिता जारी गरिसकेको छ।
नागरिक