यस्तो छ प्रदेश ७ का ठूला आयोजनाको अवस्था { विस्तृतमा }

प्रकाशित मिति : आइतवार, माघ २१, २०७४

सुदूरपश्चिम भन्नेबित्तिकै प्रायः सबैले अविकसित दुर्गम क्षेत्रका रूपमा बुझ्छन् । त्यही क्षेत्र अहिले प्रदेश ७ बनेको छ । यहाँका थुप्रै ठूला आयोजनाले देशभरि नै चर्चा पाउँदै आएका छन् । वर्षौँदेखि चर्चा भइरहेका पञ्चेश्वर बहुउद्देश्यीय जलविद्युत् आयोजना, पश्चिम सेती र चमेलिया जलविद्युत् आयोजना, महाकाली र रानी जमरा सिँचाइ आयोजना, सुक्खा बन्दरगाहलगायत ठूला आयोजनाको अवस्था कस्तो छ ? नयाँ पत्रिकाले गरेको खोजबिनमा प्रदेश ७ का ठूला आयोजना लथालिंग देखिएका छन् ।

पश्चिम सेती जलविद्युत्

प्रदेश ७ का डडेल्धुरा, बैतडी, बझाङ र डोटीको सीमाक्षेत्र ओगट्ने सात सय ५० मेगावाट क्षमताको पश्चिम सेती जलविद्युत् आयोजना निर्माण सम्झौता भएको चार वर्ष बितिसक्दा पनि सुरुवातसमेत हुन सकेको छैन ।

एक खर्ब ६० अर्ब रुपैयाँ लगानीको यो आयोजना चिनियाँ कम्पनी थ्री गर्जेजसँग निर्माण सम्झौता भएको थियो । निर्माण कम्पनीले चार वर्ष अध्ययनमै बिताएको छ । अझै पनि कहिले निर्माण सुरु हुने हो यकिन छैन ।

महाकाली पुल

कञ्चनपुरको भीमदत्त नगरपालिका र महाकाली नगरपालिका जोड्ने महाकाली नदीमाथिको पक्की पुल निर्माणको कार्य चलिरहेको छ । तीन अर्ब २७ करोड ९३ लाख ३४ हजार रुपैयाँ लागत अनुमान गरिएको यो पुल ७ भदौ ०७७ भित्र निर्माण गरिसक्नुपर्नेछ । अहिले पुलका लागि स्पर निर्माण भइरहेको आयोजनाले जनाएको छ । चालू आर्थिक वर्षमा ९९ करोड ६५ लाख रुपैयाँ विनियोजन गरेको छ । यो पुल प्रदेश ७ को आर्थिक व्यापारिक नाकाका रूपमा विकसित हुने अपेक्षा गरिएको छ ।

हुलाकी राजमार्ग

पूर्व–पश्चिम जोड्ने हुलाकी राजमार्गअन्तर्गत कञ्चनपुरको दैजीदेखि बेल्डाँडीसम्मको २० किलोमिटर सडकखण्डको निर्माण रोकिएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले काम गर्न नदिएपछि तीन महिनादेखि सडक निर्माण अवरुद्ध भएको हो । डोकेबजारदेखि बेल्डाँडीसम्म ४२ किलोमिटर सडकखण्डको काम भने भइरहेको छ । हुलाकी राजमार्गको कञ्चनपुर खण्डमा ०७६ साउनसम्म कालोपत्रे गरिसक्ने गरी एक अर्ब १७ करोड रुपैयाँको ठेक्का सम्झौता भएको छ ।

महाकाली सिँचाइ तेस्रो चरण

महाकाली सिँचाइ तेस्रो चरणअन्तर्गत कञ्चनपुरको उत्तरी क्षेत्र ब्रह्मदेवदेखि कैलालीको मालाखेतीसम्म एक सय ५१ किलोमिटर लामो मूल नहरको काम एकदमै सुस्तगतिमा भइरहेको छ । ०६३ देखि निर्माण सुरु भए पनि अहिलेसम्म करिब १३ किलोमिटर मात्रै नहर निर्माण भएको छ । यसमा २६ अर्ब रुपैयाँ खर्च भएको छ । तेस्रो चरणअन्तर्गत शाखासहित एक हजार ६ सय किलोमिटर नहर निर्माण हुनेछ । बजेट अभावका कारण निर्माणमा ढिलाइ भएको आयोजना कार्यालयले जनाएको छ ।

मोहना–अत्तरिया सडक

करिब साढे १५ किलोमिटर लम्बाइ रहेको मोहनापुल–अत्तरिया ६ लेन सडक योजनाको निर्माण भइरहेको छ । सडकको मध्यबिन्दुदेखि २५–२५ मिटर र तीन–तीन मिटरको फुटपाथ निर्माण गरिनेछ । अत्तरियादेखि मोहनासम्मको साढे नौ किलोमिटर सडक निर्माणका लागि एक अर्ब १० करोड ४७ लाख रुपैयाँमा र त्यसपछिको मोहना जिरो प्वाइन्टसम्म ५१ करोड ७० लाखमा रुपैयाँमा छुट्टाछुट्टै कम्पनीसँग सम्झौता भएको छ ।

मध्यपहाडी लोकमार्ग

मध्यपहाडी लोकमार्गअन्तर्गत अछाम खण्डको ट्र्याक खोल्ने काम सकिएसँगै कालोपत्रेको तयारी भइरहेको छ । बेलखेतदेखि साँफेबगर बयालपाटासम्मको अछाम खण्डको ६० किलोमिटर सडक ०७५ भदौअघि नै कालोपत्रे गरिसकिने साइट इन्चार्ज देवहरि सिटौलाले बताए । त्यस्तै बैतडीमा त्रिपुरासुन्दरीदेखि झुलाघाटसम्मको १४ किलोमिटर सडक एक वर्षअघि नै कालोपत्रे भइसकेको छ । अन्य क्षेत्रमा काम ठप्प छ । कुन ठाउँमा जोड्ने भन्ने अन्योलले निर्माण रोकिएको जनाएको छ ।

चमेलिया जलविद्युत् आयोजन

सन् २००७ मा सुरु भएको ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजना सम्पन्न भएको छ । सुरुवातमा आठ अर्ब लागत अनुमान गरिएको आयोजनामा १६ अर्ब रुपैयाँ खर्च भएको छ । गत माघमा १५ मेगावाट क्षमताका दुवै युनिटको परीक्षण भइसकेको आयोजनाले जनाएको छ । यसबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । यसको २७ माघमा प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

रानीजमरा सिँचाइ आयोजना

रानीजमरा सिँचाइ आयोजनाको पहिलो चरण सकिएको छ । ३८ हजार हेक्टर जमिनमा सिँचाइ पुर्‍याउने लक्ष्य रहेको आयोजनाको पहिलो चरणमा कर्णाली नदीमा इन्टेक निर्माण तथा अन्य संरचना निर्माण र तल्लो क्षेत्रमा कल्भर्ट, पुल निर्माण तथा नदी नियन्त्रणका कार्य भएका छन् । विश्व बैंकको तीन अर्ब ७० करोड ऋण अनुदान, नेपाल सरकारको ५० करोड र स्थानीय तहबाट १० करोड रुपैयाँबराबरको साझेदारीमा आयोजनाको काम जारी छ । करिब १२ अर्ब रुपैयाँ लागत छ ।

जनताको तटबन्ध कार्यक्रम

आर्थिक वर्ष ०६६-६७ देखि जनताको तटबन्ध कार्यक्रमअन्तर्गत कञ्चनपुरका महाकाली, दोदा, मोहना र कैलालीको खुटिया नदी नियन्त्रणको काम भइरहेको छ । तर, बजेट अभावका कारण निर्माणमा ढिलाइ भइरहेको आयोजनाले जनाएको छ । महाकालीमा ७५ करोडको लागतमा १४ किलोमिटर र दोदामा ३२ करोड लागतमा ११ किलोमिटर तटबन्ध निर्माण भएको छ । यस्तै, मोहनामा १३ करोडमा तीन किलोमिटर तटबन्ध निर्माण गरिएको छ । तर, खुटिया नदीमा भने आव ०७२-७३ देखि निर्माण सुरु भए पनि बजेट अभावकै कारण सुस्त छ ।

दैजी–बुडर सडक

कञ्चनपुरदेखि डडेल्धुरा र डोटी जोड्ने दैजी–बुडर सडकखण्डको काम अपेक्षित गतिमा अगाडि बढेको छैन । सडकमा पर्ने रूख कटानी आदेश नआएका कारण ढिलाइ भएको जनाएको छ । दुई वर्षमा पाँच किलोमिटर सडक मात्रै कालोपत्रे भएको छ । यसले पहाडी जिल्लासँगको सडक दूरी छोट्याउनेछ । त्यस्तै, डडेल्धुरा खण्डको ४५ किलोमिटरमा ट्र्याक खोलिएको छ भने ०७६ असोजमा सम्पन्न गर्ने गरी २२ किलोमिटर कालोपत्रेको काम सुरु गरिसकेको छ । बाँकी २३ किलोमिटरको काम नयाँ टेन्डरमार्फत अगाडि बढाइने जनाएको छ ।

छेला औद्योगिक क्षेत्र

कञ्चनपुरको वेदकोट नगरपालिकामा रहेको पाँच सय ५० रोपनी जमिन क्षेत्रफलमा औद्योगिक क्षेत्र बनाउने घोषणा भए पनि बजेट विनियोजन नहुँदा सुरु भएको छैन । वेदकोट नगरपालिकाले आर्थिक वर्ष ०७४-७५ का लागि छेला औद्योगिक क्षेत्र विस्तार गर्न ४५ करोड ५५ लाख ४४ हजार आठ ८० रुपैयाँ विनियोजन गरेको छ ।

महाकाली करिडोर

दार्चुला सदरमुकामबाट चीनको सीमाक्षेत्र टिंकर जोड्ने गरी आर्थिक वर्ष ०६६-६७ देखि सुरु भएको सडकलाई गत आर्थिक वर्षदेखि महाकाली करिडोरका रूपमा अगाडि बढाइएको छ । पछिल्लो योजनाअनुरूप कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको टिंकरसम्म चार सय २६ किलोमिटर लामो करिडोरको ट्र्याक खोल्ने काम भइरहेको छ । दार्चुला सदरमुकामदेखि उत्तरतर्फ पीपलचौरीसम्मको २६ किलोमिटर र बैतडीको बाराकोटदेखि दक्षिणतिर डडेल्धुरासम्मको १७ किलोमिटरमध्ये ९ किलोमिटर ट्रयाक खोलिसकिएको छ । यसका लागि चालू आर्थिक वर्षमा विनियोजित २९ करोड ९८ लाख ९५ हजारमध्ये दोस्रो चौमासिकसम्म आठ करोड ८७ लाख ६२ हजार एक सय ३६ रुपैयाँ खर्च भएको छ ।

वातावरणीय प्रभाव मूल्यांकन (इआइए) नहुँदा महाकाली करिडोरअन्तर्गत बैतडी खण्डको निर्माणकार्य स्थगित भएको छ । यसका लागि ३० करोड बजेट छुट्याइएको थियो । यसैअन्तर्गतको कञ्चनपुरको ब्रह्मदेवमा भने सडक निर्माणका लागि ठेक्कासमेत भएको छैन ।

महाकाली नदी नियन्त्रण आयोजना

२०७० साउनको बाढीले क्षति पुगेको दार्चुला सदरमुकामलाई महाकालीबाट जोगाउन नदी नियन्त्रण आयोजना सुरु भएको छ । यसका १५ प्याकेजमध्ये २ प्याकेजको काम मात्रै सम्पन्न भएको छ भने ६ वटा प्याकेजको निर्माण अन्तिम चरणमा पुगेको जनाएको छ । चालू आर्थिक वर्षमा २८ करोड विनियोजन गरिएकोमा पुस मसान्तसम्म १९ करोडभन्दा बढी खर्च भएको छ । माघ मसान्तसम्मका लागि रकम रहेको र थप १६ करोड ५० लाख रुपैयाँका लागि सरकारसँग माग गरिएको आयोजना प्रमुख सुशील देवकोटाले बताए ।

नौगाड जलविद्युत् योजना

अपी हाइड्रो पावर कम्पनीले निर्माण गरेको नौगाढ जलविद्युत् आयोजनाले ०७२ भदौ २ गतेबाट विद्युत् उत्पादन सुरु गरेको छ । ०६८ चैतमा सुरु भएको नौगाढ विद्युत् आयोजनाबाट उत्पादित ८.५ मेगावाट बिजुली राष्ट्रिय प्रसारणमा जोडिएको छ । सोही कम्पनीले आठ मेगावाटको अपर नौगाढ जलविद्युत् योजनाको निर्माण सुरु गरेको छ । त्यस्तै, ४० मेगावाटको अपर चमेलिया विद्युत् आयोजनाको डिपिआर तयार गर्ने काम सुरु भएको कम्पनीले जनाएको छ ।

सेती लोकमार्ग

नौ वर्षदेखि चर्चा सुरु भएको सेती लोकमार्गको ट्रयाक खोल्न अझै कम्तीमा चार वर्ष लाग्ने देखिएको छ । यसअन्तर्गत टीकापुरदेखि चैनपुरसम्मको एक सय किलोमिटर ट्रयाक खोल्न बाँकी छ । यसमा कम्तीमा दुई वर्ष लाग्ने जनाइएको छ । चैनपुरदेखि उत्तर उरई भञ्ज्याङसम्मको खण्डमध्ये डिपिआर तयार भएको ३५ किलोमिटर ट्रयाक खोल्न बाँकी छ । यसमा चार वर्ष लाग्ने जनाइएको छ । अहिलेसम्म ८३ किलोमिटर मात्रै ट्रयाक खोलिएको छ ।

नयाँ पत्रीका