७ नम्बरको पहिलो प्रदेशसभा बैठक, २७ सरकारी कर्मचारी सम्पर्कमा १ जना

प्रकाशित मिति : आइतवार, माघ २१, २०७४

देश संघिय संरचनामा गएसँगै अहिले विभिन्न प्रदेशमा प्रदेशसभाको पहिलो बैठकको चटारो चलिरहेको छ । यसैबीच प्रदेश नम्बर ७ को पहिलो प्रदेशसभा बैठक अस्थायी राजधानी धनगढीमा केहि बेरपछि सुरु हुँदैछ ।

पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सदस्य ७४ वर्षीय दिव्यश्वरी शाहले गर्ने छिन् । सहयोगी ५ जनाको समिति गठन हुनेछ ।
दलका प्रतिनिधिले बोलेपछि संसदले संसद संचालनको अन्तरमि कार्य्विधि पारित गर्ने कार्यसुची रहेको प्रदेश सभा संचालनका लागि आएको केन्द्रीय संसदको विज्ञ टोलीका संयोजक सहसचिव मुरारी महतले जानकारी दिए ।

प्रदेश सभा हल अगाडि रहेको जिल्ला प्राविधिक कार्यालयका ५ वटा कोठामा सभामुख, उपसभामुख, संसद सचिवालय तथा बाँकी दुई वटा कोठालाई संसदका मर्यादा पालकको पोशाक परिवर्तन कक्षका रुपमा प्रयोग गरिने छ ।

मर्यादा पालकले प्रयोग गर्ने ती कोठामा पछि संसदमा प्रतिनिधितव गर्ने चार वटा दलका संसदीय कार्यालयहरु राखिने डिभिजन प्रमुख बोहराले बताए ।

५३ सदस्यीय प्रदेश संसदमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टीको प्रतिनिधित्व रहेको छ ।
प्रदेश सभा सचिवालयका लागि सरकारले २७ जनाको दरबन्दी स्वीकृत गरेको छ । तर, स्वीकृत दरबन्दी अनुसार कर्मचारी भने आईपुगेका छैनन् ।

आईतबारसम्म एक जना अधिकृतमात्र सम्पर्कमा आएका केन्द्रीय संसद सचिवालयको टोलीले जनाएको छ । टोलीका संयोजक महतले कर्मचारी नआए पनि संसद संचालनलगायतका काम नरोकिने बताए ।

आफूहरुको आग्रहमा स्थानीय प्रशासनले थप एक जना कर्मचारी संसद सचिवालयमा खटाएको उनले बताए । संसदमा ३० जना प्रहरी कर्मचारीलाई मर्यादापालकको रुपमा खटाइदै छ ।