अन्ततः लेखराजले पावरको दुरुपयोग गरेरै छाडे, द्धन्द्धकालमा ज्यान दिने भन्दा आगन्तुक नै प्यारा

प्रकाशित मिति : मङ्लबार, माघ २३, २०७४

प्रदेश ७ मा सरकारको नेतृत्व गर्ने नेकपा (माओवादी केन्द्र)भित्र संसदीय दलको नेता चयनका विषयमा विवाद देखिएको छ । विवादकै बीच त्रिलोचन भट्टलाई बहुमतका आधारमा संसदीय दलको नेता चयन गरिएको छ । यससँगै उनको मुख्यमन्त्री बन्ने बाटो खुलेको छ ।

माओवादी प्रदेश इन्चार्ज लेखराज भट्टले प्रदेश सभामा माओवादीका १४ सांसदमध्ये १२ जनाको बहुमतका आधारमा दलको नेतामा चयन गर्ने निर्णय भएको बताए । प्रदेश इन्चार्ज भट्टले भने, ‘संसदीय दलको नेता चयनमा १२ जनाले हस्ताक्षर गर्नु भएको छ । दुई जनाले मात्र हस्ताक्षर गर्नु भएको छैन ।’

बैठकमा प्रदेश सभा सदस्यद्वय कैलालीका वीरमान चौधरी र दार्चुलाका मानबहादुर धामीले संसदीय दलको नेतामा दाबी गरेका थिए ।

धामी र चौधरी असन्तुष्ट

दुवैजनाले संसदीय दलको निर्णयप्रति असन्तुष्टि जनाएका छन् । आफ्नो दाबीमाथि छलफल नै नगरी एकलौटी निर्णय भएको धामीको आरोप छ । उनले भने, ‘प्रक्रियाका आधारमा नेता चयन हुनुपर्ने थियो, तर बहुमतका नाममा एकलौटी निर्णय भयो ।’ लिखित असहमतिसमेत राख्न नदिएको उनको भनाइ छ । संसदीय दलको नेताका अर्का दाबेदार चौधरीले पनि विधि र प्रक्रियाविना नै निर्णय भएको प्रतिक्रिया दिए । उनले भने, ‘संसदीय दलको नेता को हुने भन्ने छलफल हुनुपथ्र्यो, तर छलफलविना नै निर्णय भयो ।’ नयाँ पत्रिका