चमेलिया जलविद्युतको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले भने, ‘अब विजुली बेचेरै प्रदेश ७ समृद्ध बन्छ’

प्रकाशित मिति : शनिबार, माघ २७, २०७४

लोकेन्द्र प्रशाद जोशी, दार्चुला । प्रदेश ७ को सबैभन्दा ठुलो ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत आयोजनाको शनिबार औपचारिक उद्घाटन गरिएको छ । आयोजनाको प्रधानमन्त्री शेर बहादुर देउवाले दिउँसो १ः३० बजेपछि विद्युतको स्वीच अन गरेर उद्घघाटन गर्नुभएको हो ।

चमेलियाको उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री देउवाले जलबिद्युतको सदुपयोग गरेर बिद्युत उत्पादन गर्न सके छिट्टै प्रदेश नम्बर ७ देशकै सबैभन्दा समृद्ध प्रदेश बन्ने बताउँनुभएको छ । महाकाली, कर्णाली, चौलानी लगायतका बिद्युत उत्पादनको भण्डार भएका नदिहरु शुदूरपश्चिममा रहेको उल्लेख गर्दै उहाँले बिद्युतको उपयोग गर्न सकिए छिट्टै प्रदेश ७ को मात्रै नभएर देशको नै मुहार फेरिने बताउनुभयो । शुदूरपश्चिम क्षेत्रमा मात्रै हजारौ मेगावाट जलबिद्युत उत्पादनको सम्भाबना रहेको छ ।

आफुले पहिलोपटक प्रधानमन्त्री हुँदा सुरु भएको आयोजनाको आफैंले उद्घाटन गर्न पाउँदा निकै खुसी लागेको भन्दै देउवाले यो आयोजनाबाट बढी फाइदाँ दार्चुलाका जनताले पाउँनुपर्ने बताउँनुभयो । चमेलिया उद्घाटनकालागी प्रधानमन्त्री देउवाका साथै उपप्रधान तथा ऊर्जा मन्त्री कमल थापा र राज्यमन्त्री जयन्त चन्द लगायत उर्जा सचिब र बिद्युत प्राधिकरणका उच्चपदस्थ कर्मचारीहरु हेलिकोप्टरमार्फत दिउसो १ बजेपछिमात्रै चमेलिया पुगेका थिए ।

बैतडी र दार्चुलाको सिमानदी चमेलियामा २०६३ पुष देखि निर्माण सुरु भएको चमेलिया जलविद्युत आयोजनाले गत पुष महिनादेखी परिक्षण प्रशारण सुरु गरेको थियो । परिक्षणका क्रममा सफल देखिएपछि निर्माण सुरु भएको ठिक ११ बर्षपछि चमेलियाबाट ब्याबसायिकरुपमै विद्युत उत्पादन भएको हो । चमेलियाको सुरुको लागत साढे ८ अर्ब बाट बढेर करिब १६ अर्ब पुगेको छ भने २०६८ मा सम्पन्न हुनुपर्ने आयोजना विभिन्न पटक म्याद थप गर्दै ६ वर्ष ढिलो गरी ११ बर्षमा सकिएको हो ।