कञ्चपुरमा भिमदत्त नगरपालिका स्तरीय माध्यमिक विद्यालय खेलकूद प्रतियोगिता सुरु

प्रकाशित मिति : शनिबार, फाल्गुन ५, २०७४

कञ्चनपुर, ५ फागुन । भीमदत्त नगरपालिका स्तरीय माध्यमिक विद्यालय खेलकूद प्रतियोगिता सुरु भएको छ । कञ्चनपुर सदरमुकामस्थित कबर्ड हलमा सुरु भएको प्रतियोगिताको उद्घाटन नगर प्रमुख सुरेन्द्र विष्टले गरे । भीमदत्त नगरपालिकाको सामाजिक विकास शाखाले गरेको प्रतियोगितामा ३७ विद्यालय सहभागी भएका छन् ।

ती विद्यालयमा २४ सामुदायिक र १३ संस्थागत विद्यालय छन् । पाँच दिनसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन गर्दै नगर प्रमुख सुरेन्द्र विष्टले देश संघीय संरचना अनुसार स्थानीय सरकारले खेलकूदको माध्यमबाट भीमदत्तलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने खेलाडी उत्पादनको लक्ष्य राखेर प्रतियोगिता आयोजना गरेको बताए ।

‘देश संघीय संरचनमा गई सकेपछि केन्द्र, प्रदेश र स्थानीय तह निर्वाचन भयो, स्थानीय सरकार गठन भई सकेको छ, संघ र प्रदेश सरकार पूर्णता पाउने चरणमा छन्’ उनले भने, ‘स्थानीय सरकारले पाएको अधिकारका आधारमा प्रतियोगिता आयोजना गरेका छौ, यसबाट नगरलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने खेलाडी उत्पादन हुने आशा लिएका छौ, ती खेलाडी स्कुलबाटै आउने छन् ।’

नगर प्रमुख विष्टले छोटो समयको तयारीमा प्रतियोगिता आयोजना गरिएको आगामी वर्षदेखि यसलाई भव्य रुपमा आयोजना गरिने बताए । ‘यो वर्ष छोटो तयारीका बीच प्रतियोगिता गरिएको छ, अर्को वर्ष यसलाई भव्य रुपमा आयोजना गर्छौ, जसले विश्व रङ्ग मञ्चमा प्रतिस्पर्धा गर्न सक्ने खेलाडी बन्ने वातावरण बनाउन चाहन्छौ ।’

विद्यालयहरुलाई अतिरिक्त क्रियाकलापका लागि हरेक शुक्रबार आधा दिन विदा दिने गरिएको उल्लेख गर्दै नगर प्रमुख विष्टले त्यसको कार्यान्वयनमा हुन नसकेको दुःख व्यक्त गरे । ‘शुक्रबार आधा दिन अतिरिक्त क्रियाकलापका लागि प्रधानाध्याक, शिक्षक, व्यवस्थापन समितिसित छलफल गर्छु’ उनले भने ।

नगर प्रमुख विष्टले भीमदत्त नगरलाई खेलकूदको नमूना नगर बनाउने उल्लेख गर्दै त्यसका लागि अल्पकालिन र दिर्घकालिन योजना बनाएर कार्यक्रम गरिने बताए । ‘यसका लागि सरोकारवाला सबै निकायसित समन्वय र सहकार्य गरी अघि जान्छौ’ उनले भने । आगामी वर्षदेखि प्रतियोगितालाई खेलकूद महोत्सवका रुपमा मनाइने उनले जनाए ।

सामाजिक विकास शाखाका सभापति वार्ड नं. ६ का अध्यक्ष हरक सिह धामीको सभापतित्वमा प्रतियोगिता उद्घाटन गरिएको हो । कार्यक्रमका सभापति धामीले प्रतियोगितामा ओलम्पियन डम्बरदत्त भट्ट, विष्णु बहादुर सिह र दिपक विष्टजस्ता खेलाडी जन्मिने आशा राखे । ‘यो प्रतियोगिताबाट अन्तर्राष्ट्रिय रङ्ग मञ्चमा खेल्न खेलाडी जन्माउने आशा राखेका छौ’ उनले भने ।

उद्घाटन कार्यक्रममा जिल्ला खेलकूद विकास समिति कञ्चनपुरका अध्यक्ष शेर बहादुर चन्दले नगरपालिकाले प्रतियोगिता आयोजना गरी खेलकूद क्षेत्रमा हौसला बढाएको उल्लेख धन्यवाद दिए । खेलकूद क्षेत्रको विकासका लागि खेलकूद विकास समिति भीमदत्त नगरपालिकासित सहकार्य र समन्वय गरी जान तयार रहेको अध्यक्ष चन्दले बताए ।

प्रतियोगितामा भलिबल र कबड्डीका खेलहरु राखिएका छन् । भीमदत्त नगरपालिका शिक्षा शाखाका स्रोत व्यक्ति हरिराज विष्टले कक्षा ११ र १२ को छात्र छात्राको भलिबल तथा कक्षा ९ र १० को छात्र छात्राको कबड्डी प्रतियोगिता हुने जानकारी दिए । प्रतियोगितामा ती दुबै खेलमा प्रथमलाई १५ हजार, द्वितीयलाई १० हजार र तृतीय हुने दुई टीमलाई ५/५ हजार पुरस्कार दिइने छ । प्रतियोगितालाई मर्यादित र अनुशासित बनाउन अफिसिलबाट ओलम्पियन विष्णु बहादुर सिह र खेलाडीबाट लिटिल बुद्ध एकेडेमीका नरेश सिह धामीले शपथ लिएका छन् ।