शुदूरपश्चिमाञ्चल विश्वविद्यालय सुधारको माग गर्दै प्राध्यापक र कर्मचारीहरु रिले अनसनमा

प्रकाशित मिति : शनिबार, फाल्गुन ५, २०७४

कञ्चनपुर, ५ फागुन । शुदूरपश्चिमाञ्चल विश्वविद्यालय सुधारको माग गर्दै प्राध्यापक तथा कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । उनीहरुले शनिवारदेखि रिले अनशन सुरु गरेका छन् । महेन्द्रनगरमा केन्द्रीय कार्यालय रहेको शुप विश्वविद्यालय सुधारको माग गर्दै विश्वविद्यालयकै कर्मचारी तथा प्राध्यापकहरुले रिले अनशन सुरु गरेका हुन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेपाली कांगेस निकटका प्राध्यापक संगठन तथा कर्मचारीहरुले विश्वविद्यालय पदाधिकारीहरु समक्ष विभिन्न ६ बुँदे माग राख्दै रिले अनशन सुरु गरेका हुन् । शुप विश्वविद्यालय सुधार समिति मार्फत उनीहरुले आन्दोलन सुरु गरेका हुन् ।

विश्वविद्यालयका उपकुलपति, रजिष्टार लगायतका पदाधिकारीहरु आफ्नो मनपरी ढंगले चलिरहेको भन्दै विश्वविद्यालयको केन्द्रीय कार्यालय परिषरमा रिले अनशन थालिएको सुधार समितिका अध्यक्ष विर बहादुर सिंहले जानकारी दिए । माओवादी केन्द्र निकट नेपाल राष्टिय प्राध्यापक संघका अध्यक्ष समेत रहेका सिंहले विश्वविद्यालय पदाधिकारी समक्ष विभिन्न ६ बुँदे माग राख्दै रिले अनसन सुरु गरेको बताए ।

विश्वविद्यालयका उपकुलपति भूषण श्रेष्ठ, रजिष्टार द्धिजराज भट्ट लगायतका पदाधिकारीहरु केन्द्रीय कार्यालय भन्दा काठमाडौंमा रहेको सहायक कार्यालयमा बढी बस्ने गरेको, विश्वविद्यालय सुधारको लागि कुनै पहल नगरेको लगायत आर्थिक, सामाजिक, तथा प्रशासनिक मागहरु राखेका अनसनमा बसेको अध्यक्ष सिंहले जानकारी दिए । रिले अनसनमा अध्यक्ष सिंह सहित १३ जना बसेका छन् । उनीहरुले दोस्रो चरणको आन्दोलन अन्र्तगत यहि फागुन ९ गतेसम्म अनसनमा बस्ने बताएका छन् । त्यसपछि पनि मागहरुको सम्बोधन नभएमा तेस्रो चरणको आन्दोलनको घोषणा गर्ने सुधार समितिले जनाएको छ ।

तेस्रो चरणको आन्दोलन थप सशक्तः
शुप विश्वविद्यालय सुधार समितिले रिले अनसनलाई शान्तिपूण आन्दोलनको संज्ञा दिएको छ । ९ गतेसम्म पनि आफुहरुका माग सम्बोधन नभएमा १० गते बृहत अन्र्तक्रिया गरेर थप आन्दोलनको घोषणा गरिने अध्यक्ष सिंहले बताए । तेस्रो चरणको आन्दोलनमा विश्वविद्यालयका पदाधिकारीहरुले केन्द्रीय कार्यालयजस्तो मान्दै आएका सहायक कार्यालयका सामाग्रीहरु महेन्द्रनगरमा रहेको कार्यालयमा लगिनेछ ।

‘उपकुलपति, रजिष्टारले केन्द्रीय कार्यालयलाई सहायक र सहायकलाई मुख्य कार्यालय बनाएका छन् । अब हामीहरु सहायक कार्यालयमा भएका सामाग्रीहरु सांकेतिक रुपमा केन्द्रीय कार्यालयमा ल्याएर राख्छौं’ अध्यक्ष सिंहले भने । साथै विश्वविद्यालयका पदाधिकारीहरुलाई बहिस्कार गर्ने, उनीहरुको राजीनामा माग गर्ने, भण्डाफोर कार्यक्रम गर्ने लगायतका आन्दोलनका कार्यक्रम तेस्रो चरणमा गर्ने बताईएको छ ।

उपकूलपति, रजिष्टार सबैबाट भाग्दैः
पौष २९ गते आयोजना गरिएको प्रथम दिक्षान्त समारोहपछि उनीहरु केन्द्रीय कार्यालय महेन्द्रनगरमा छैनन् । यतिबेला उपकुलपति श्रेष्ठ र रजिष्टार भट्ट काठमाडौंमा रहेका छन् । उनीहरुसँग पटक पटक सम्पर्क गर्दा फोन उठ्न सकेन् । उनीहरुको सहायक कार्यालयमा रहेको फोन नम्बरमा समेत सम्पर्क हुन सकेन् ।