प्रदेश ७ मन्त्रिपरिषद्को पहिलो बैठकले गर्‍यो यस्तो महत्वपूर्ण ३ निर्णय, विकासको ढोका खुल्ने आशा

प्रकाशित मिति : आइतवार, फाल्गुन ६, २०७४

धनगढी, ६ फागुन । प्रदेश ७ को पहिलो मन्त्रिपरिषद् बैठक सम्पन्न भएको छ । आइतबार मुख्यमन्त्री त्रिलोचन भट्टको संयोजकत्वमा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश ७ को सम्बृद्धीसँग जोडिएका ३ वटा महत्वपूर्ण निर्णय गरेको छ । बैठकले प्रदेश ७ को महत्वका राजमार्गहरुको निमार्णको काम समयमै सम्पन्न गर्न केन्द्र सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

बैठकले राष्ट्रिय गौरवका आयोजनाका रुपमा रहेका महाकाली लोकमार्ग, सेती लोकमार्ग र खुटिया दिपायल फाष्ट ट्रयाकको कामलाई गुणस्तरीय तवरले, समयमै सम्पन्न गर्न नेपाल सरकारलाई अनुरोध गर्ने र त्यसको प्रदेश स्तरमा अनुगमन संयन्त्र निमार्ण गर्ने निर्णय गरिएको प्रदेश ७ सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले जानकारी दिए।

यस्तै मन्त्रीपरिषदको बैठकले प्रदेश ७ मा कृषिको उत्पादकत्व बढाउन माटो परिक्षणको कार्यलाई संस्थागत गर्नका लागि नेपाल सरकार र स्थानिय तहसँग पनि समन्वय गरेर कार्य अगाडी बढाउने, प्रदेश ७ का पर्यटनका सम्भाव्यताको पहिचान गर्ने र त्यसको संरक्षण र प्रबद्र्धनमा जोड दिने निर्णय समेत गरेको प्रवक्ता शाहले बताए ।

बैठकमा शुसासनमा जोड दिएर भ्रष्टाचार बिरुद्ध सुन्य सहनसिलता अपनाउने निर्णय पनि भएको छ । यसका साथै बैठकले मुख्यमन्त्री र मन्त्री परिषदको कार्यालयबाट प्रस्ताव गरिएका प्रदेश सरकार कार्यबिभाजन नियमावली, प्रदेश सरकारको कार्य सम्पादन नियमावली, केहि सार्वजनिक लिखत प्रमाणीकरण सम्बन्धी नियमावली २०७४ लाई पनि स्वीकृत गरेको छ ।