कैलाली कञ्चनपुरमा ६ सय ७३ मध्ये १ सय ५४ सीमा स्तम्भ गायब हेर्नुहोस् विस्तृतमा

प्रकाशित मिति : सोमवार, फाल्गुन ७, २०७४

कृष्णसिंह धामी, काठमाडौं । कञ्चनपुर र कैलालीको सीमा क्षेत्रमा मात्रै १ सय ५४ सीमा पिल्लर गायब भएको पाईएको छ । नेपाल–भारत संयुक्त सीमा सर्वेक्षण टोलीले गरेको सर्वेक्षण अनुसार कैलाली र कञ्चनपुरमा मात्रै १ सय ५४ सीमा पिल्लर गायब भएका हुन् ।

नेपाली टोलीको नेतृत्व गरिरहेका नापी विभागका अधिकृत सुर्दशन सिंह धामीले कैलालीको सीमा क्षेत्रमा रहेका २ सय ८३ पिल्लर मध्ये १ सय ५ सीमा पिल्लर गायब भएका छन् । त्यस्तै कञ्चनपुरमा रहेका ३ सय ९० मध्ये अहिलेसम्म १ सय ११ पिल्लरको अनुगमन गरिएको छ । जसमा ४९ पिल्लर गायब भएको देखिएको अधिकृत धामीले जानकारी दिए ।

नेपाल भारत सीमा क्षेत्रमा विस्तृत अध्ययन गर्न २ वर्षको म्यान्डेड पाएको उक्त टोलीले अहिले कैलाली, कञ्चनपुरको सर्वेक्षणको काम सकेको छ । अनुगमन, सर्वेक्षण लगायतको काम सकिएको चैत्र मसान्त सम्ममा अध्ययनको विस्तृत प्रतिवेदन तयार हुने अधिकृत धामीको भनाई छ ।

टोलीले बर्दिया र कैलालीको सीमामा पर्ने पिल्लर नम्बर ७ सय देखि कञ्चनपुरको ब्रह्मदेवमा रहेको पिल्लर नम्बर ८ सय ११ सम्मको सर्वेक्षणको अनुमति पाएको थियो । आजभन्दा तीन महिना पहिलेदेखि काम थालेको टोलीले सर्वेक्षणको काम सकेको र प्रतिवेदन बनाउने काम भईरहेको जनाएको छ । सर्वेक्षणका क्रममा नेपाल भारत संयुक्त टोलीले विगतको विभिन्न सन्धि सम्झौता, पुराना नक्सा, नापी विभागले उपलब्ध गराएको नक्साको आधारमा अध्ययन गरेको थियो ।

टोलीले देखेन वर्षौदेखिको सीमा विवादः
संयुक्त टोलीले कञ्चनपुर र कैलाली सीमा क्षेत्रको सर्वेक्षणका क्रममा कुनै विवाद नरहेको जनाएको छ । टोलीले अहिले सम्म सिमांकन गरिएको क्षेत्रमा कुनै विवाद नरहेको जनाएको हो । सर्भेक्षण टोलीलाई भारतसँग जोडिएका कैलाली, कञ्चनपुर, डडेल्धुरा र दार्चुला जिल्लाको सीमा सर्भेक्षणको जिम्मेवारी दिईएको छ ।

अध्ययन सम्पन्न गरिएका सीमा स्तम्भहरुमा हाल सम्म कुनै खालको विवाद नदेखिएको अधिकृत धामीको भनाई छ । तर टोली बेला बेलामा नेपाल र भारतीय नागरिकहरुबीच भईरहने सीमा विवादको बारेमा बेखबर देखिएको छ । गत फागुनमा भारतीय सीमा सुरक्षा बल (एसएसवी) को गोली लागेर कञ्चनपुरको पुर्नवासमा गोविन्द गौतम शहीद भएका थिए । तर सर्वेक्षण टोलीले त्यस्ता क्षेत्रमा कुनै विवाद नरहेको जनाएको छ ।

६ वटा पिल्लर मर्मत सम्भारः
टोलीले ६ वटा पिल्लरहरु नयाँ बनाएर सीमा क्षेत्रमा गाँडेको छ । नेपाली पक्षले कालिकुण्डा क्षेत्रमा ४ वटा र भारतीय पक्षले फुलवारी क्षेत्रमा २ वटा नयाँ पिल्लर गाँडेको जनाएको छ । नेपाली पक्षले बिजोर नम्बर र भारतीय पक्षले जोर पिलरको मर्मत सम्भार, निर्माण तथा पुनः निर्माण गर्ने सहमति भएको छ । सोही अनुरुप दुई देशका टोलीले सीमा पिल्लरको सर्वेक्षण गरिको अधिकृत धामीले बताए ।

नदीलाई सीमा पिल्लर मानिएको क्षेत्रमा के भयो ?
सीमा क्षेत्रको सर्वेक्षण गर्दा टोलीलाई सबैभन्दा समस्य नदी क्षेत्रमा परेको थियो । कैलालीको मोहना नदीलाई नेपाल भारत सीमा मानिएको थियो । तर अहिले नदीले धार परिवर्तन गरेको छ । जसले गर्दा अब कसरी सर्वेक्षण गर्ने भन्ने समस्या हुँदा टोलीले केन्द्रको सहयोग मागेको थियो ।

दुई देशका अधिकारीहरुको सीमा क्षेत्र निर्धारण गर्दा नदी जहाँ थियो त्यही क्षेत्रलाई सीमा स्तम्भ मान्ने सहमति अुनसार विवाद समाधान गरिएको नेपाली टोलीका प्रमुख धामीले बताए । टोलीलाई विगतमा नेपाल भारतबीच भएको सम्झौताका आधारमा सीमा पिल्लरहरुको अवस्था, विवादित क्षेत्रको विस्तृत अध्ययन, सीमा विवाद समाधनको उपाय लगायका विषयमा विस्तृतमा अध्ययन गर्ने जिम्मेवारी दिईएको थियो । केन्द्रबिन्दुबाट