महाकाली अञ्चल अस्पतालमा लगाईएको ताला ११ दिनमा खुल्यो

प्रकाशित मिति : बुधबार, फाल्गुन ९, २०७४

कञ्चनपुर । महाकाली अञ्चल अस्पत्तालमा लगाईएको ताला ११ दिनपछि खोलिएको छ । विभिन्न मागहरु राखेर माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले अस्पत्ताल प्रशासनमा लगाएको ताला बुधबार खोलिएको हो । अस्पत्ताल प्रशासन र विद्यार्थी संगठनबीच १० बुँदे सहमति पछि ताला खोलिएको हो ।

अस्पताल सुधारको माग राख्दै अखिल क्रान्तिकारीले माघ २८ गते महाकाली अञ्चल अस्पताल विकास समितिका अध्यक्ष अशोक प्रसाद पाण्डेयको कार्यकक्षमा तालाबन्दी गरेको थियो । बुधबार महाकाली अञ्चल अस्पताल विकास समिति, अस्पताल प्रशासन र अखिल क्रान्तिकारीवीच १० बुँदे सहमतिपछि अस्पतालमा लगाएको तालाबन्दी खोलिएको अखिल क्रान्तिकारीका अध्यक्ष बिरेन्द्रराज विष्टले जानकारी दिए ।

क्रान्तिकारीले अस्पताल सुधारका लागि अघि सारेका माग १५ दिन भित्र पुरा गर्ने अस्पतालले सहमति जनाएपछि तालाबन्दी खोलिएको अध्यक्ष विष्टले बताए । महाकाली अञ्चल विकास समितिका अध्यक्ष अशोक प्रसाद पाण्डेय, मेडिकल सुपरिटेण्डेन्ट रोजन ताम्राकार, क्रान्तिकारीका तर्फबाट केन्द्रीय सदस्य भीम भट्ट र अध्यक्ष विरेन्द्र राज विष्टले १० बुँदे सहमती पत्रमा हस्ताक्षर गरेका छन् ।

महाकाली अञ्चल अस्पतालमा कञ्चनपुरबाट भन्दा बाहिरबाट आएका डाक्टर, स्टाफको उचित आवास व्यवस्थापनका लागि स्थानीयबाट हालसम्म प्रयोग भएका कोठाहरु १५ दिनभित्र अनिवार्य खाली गर्ने, अस्पतालका लागि खरिद गरिने औषधि एव अन्य सामाग्री खरिद गर्दा टेण्डर प्रकृयाबाट पारदर्शी रुपमा गर्ने, फोहोर व्यवस्थापनका लागि आवश्यक व्यवस्था मिलाउने, स्वच्छ खानेपानीका लागि ट्याङकी व्यवस्थापन गर्ने लगायतका सहमति भएको छ ।

त्यस्तै बिरामीका लागि हेल्प डेस्क स्थापना गर्ने, आकस्मिक कक्षमा २४ सै घण्टा डाक्टरको व्यवस्था गर्ने, ओजेटी गर्ने विद्यार्थीबाट प्राप्त हुने रकम सोझै बैंक दाखिला गर्न लगाउने र ओजेटीका विद्यार्थीले डाक्टर अथवा तालिम प्राप्त नर्सको रहोबरमा मात्रै सेवा दिने, अस्पताललाई अति आवश्यक पर्ने औषधी तथा उपकरण व्यवस्थापन गर्ने र अस्पतालमा रहेका दरबन्दी अनुसार डाक्टरको पदपूर्ति लागि सम्बन्धित निकायमा पहल गर्नुका साथै लामो समयसम्म एकै फाँटमा काय गरिरहेका कर्मचारीको सरुवा व्यवस्थापनका लागि पहल गर्ने सहमति भएका छन् ।