विना मगरलाई मन्त्रीमा सिफारिस गरेका लेखराज भट्टको सभामुखमा दावी

प्रकाशित मिति : आइतवार, फाल्गुन १३, २०७४

काठमाडौं ।

वाम गठबन्धनको सरकार बनेपनि अहिलेसम्म सरकारले पूर्णता पाउन सकेको छैन् । पार्टी एकताको अन्तिम चरणमा रहेको बताउने गठबन्धनले सरकारमा भागवण्डा भने टुंगो लगाएको छ ।

एमाले माओवादीको सहमतिअनुसार राष्ट्रपति एमाले र सभामुख माओवादी केन्द्रले पाउने छ । माओवादीमा सभामुखका लागी ७ नम्बर प्रदेशका इन्चार्ज लेखराज भट्टले दावी गरेका छन् । कृष्णबहादुर महरा मन्त्रिमण्डलमा नजाने भएपछि उनको पनि सभामुखमा दावी छ ।

केपी शर्मा ओली नेतृत्वको सरकारमा भावी मन्त्रीका रुपमा चर्चा गरिएपनि भट्टले अध्यक्ष पुष्पकमल दाहालसमक्ष सभामुखमा इच्छा देखाएको स्रोतले बतायो । ‘आफू मन्त्री नबन्ने निर्णयसहित उहाँले प्रदेश ७ बाट विना मगरलाई मन्त्रीका लागि सिफारिस गर्नुभएको हो,’ उनीनिकट स्रोतले भन्यो– ‘सभामुखमा उहाँको जोडबल छ ।’

नेता भट्टले खुमलटारस्थित अध्यक्ष दाहालको निवास पुगेर सभामुखका लागि आग्रह गरेका थिए । ‘मेरो चाहना सभामुख वा गृहमा हो । यी दुईमध्ये एउटा जिम्मेवारी दिनुस,’ अध्यक्ष दाहालसँग लेखराजको भनाई उद्धृत गर्दै माओवादी निकट स्रोतले भन्यो । जवाफमा अध्यक्ष दाहालले सबैलाई मिलाएर अघि बढ्ने र उपयुक्त जिम्मेवारी दिइने बताएका थिए ।

गृहमा वरिष्ठ नेता रामबहादुर थापा र वर्षमान पुनले दाबी गरेपछि पछिल्लो समय भट्ट सभामुखमा केन्द्रीत भएको स्रोतको भनाई छ । सभामुखमा माओवादी केन्द्रबाट कृष्णबहादुर महराले पनि दाबी गरिरहेका छन् ।

माओवादी केन्द्र प्रदेश ७ प्रचारप्रसार विभाग प्रमुख ओमविक्रम भाटले सभामुखमा लेखराज भट्टको दाबी रहेको बताए । ‘पार्टीमा योगदान र त्याग गर्ने दिग्गज नेताले मन्त्री त्यागेर महिलालाई अवसर दिनुभएको छ । अब उहाँको चाहना सभामुख नै हो’, उनले भने ।