टीकापुर घटनामा मुख्य अभियुक्त रेशम चौधरीलाई थुनामा राख्न अदालतको आदेश

प्रकाशित मिति : सोमवार, फाल्गुन १४, २०७४

धनगढी, १४ फागुन । जिल्ला अदालत कैलालीले टीकापुर घटनाका अभियुक्त रेशम चौधरीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । कैलाली क्षेत्र नम्वर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद समेत रहेका चौधरीलाई न्यायधिस पर्शुराम भट्टराईको ईजलासले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

१६ गतेका लागी अर्को पेशी तोकिएको छ । अदालतको आदेशसँगै चौधरीलाई जिल्ला कारागार धनगढी पठाईएको छ । टीकापुर घटनापछि फरार रहेको चौधरीले सोमबार अदालतसामू आत्मसमर्पण गरेका थिए । लगतै उनको बयान लिनुका साथै दुबै पक्षबाट बहस भएको थियो ।

बहसका क्रममा चौधरीका वकिलहरुले जनताको भारी मतबाट विजयी भइसकेका उनलाई साधारण तारेखमा छाड्नु पर्ने तर्क गरेका थिए । चौधरीको तर्फबाट अधिवक्ताहरु मिलनकुमार राई, गंगाराम पाध्याय र गजेन्द्र केसीले बहस गरेका थिए भने सरकारको तर्फबाट जिल्ला न्याधिवक्ता प्रकाश वहादुर भण्डारीसहितका अधिवक्ताहरुले बहस गरेका थिए ।

बहसपछि न्यायाधीश भट्टराईको इजलासले जनमत गैरकानुनी कार्य छोप्ने राजनीतिक आवरण हुन नसक्ने बताएको छ । आदेशमा भनिएको छ, ‘जनमत प्राप्त गर्नु पूर्वको फौजदारी कृयाकलापलाई पनि उत्तिकै हेक्का राख्नुपर्छ । साथै प्रतिवादीले प्राप्त गरेको जनमत गैरकानुनी कार्य छोप्ने राजनीतिक आवरण बन्न सक्दैन ।’

चौधरीले अभियोग इन्कार गरेपनि लक्ष्मण थारु, लाहुराम चौधरी लगायतका अभियुक्तहरुले अदालतमै रेशम चौधरीको नेतृत्व र योजनामा घटना भएको हो भनेर बयान दिएको भन्दै अदालतले प्रतिवादी कसुरदार छैनन् भन्न नसकिने बताएको छ ।

चौधरीले चुनाव जितेको प्रमाणपत्र पाएका छैनन् । २०७२ भदौ ७ गते टीकापुरमा भएको हिंसात्मक झडपमा एक बालक र एसएसपी सहित ८ सुरक्षाकर्मीको हत्या भएको थियो । चौधरी सहित ५६ जना विरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाक चोरी मुद्धा लगाईएको छ । २५ जना जिल्ला कारागार कैलालीमा छन् भने अन्य सबै फरार सुचिमा रहेका छन् ।