प्रदेश ७ को मन्त्रिमण्डल नातावाद र कृपावादबाट मुक्त हुने, लागू हुने भयो आचार संहिता

प्रकाशित मिति : बिहिबार, फाल्गुन १७, २०७४

धनगढी । प्रदेश ७ को मन्त्रिमण्डलले सदाचार कायम गराउने नीति ल्याएको छ । बुधबार बसेको दोस्रो मन्त्रिपरिषद् बैठकले सदाचार कायम गर्न आचार संहिताको व्यवस्था गरेको हो । मन्त्रीपरिषद्को निर्णयसँगै अब मन्त्री परिषदका सदस्यहरु अर्थात प्रदेश सरकारका मन्त्रीहरुका लागि आचार संहिता लागू हुने भएको छ ।

सदाचार कायम गराउन मन्त्रीहरुका लागि लागु हुने आचार संहितामा मन्त्री पदको दुरुपयोग गरी नाता गोता र आफन्तहरुलाई ग्राह्यता दिन नपाईने, आफु मातहतका कर्मचारीहरुको क्षमता अभिबृद्ध गराउन आफु पनि अध्ययनसिल हुने र कर्मचारीलाई पनि अध्ययनसिल बनाउनुपर्ने लगायतका बुँदाहरु राखिएका छन् ।

यो संगै मन्त्री परिषदको बैठकले विभिन्न मन्त्रीहरुको नेतृत्वमा आर्थिक सामाजिक र पुर्वाधार समिति, राजनितिक समिति र प्रसासनिक विधेयक समिति गठन समेत गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकास बहादुर साहको नेतृत्वमा आर्थिक सामाजिक र पुर्वाधार समिति, सामाजिक विकास मन्त्री दीर्घ सोडारीको नेतृत्वमा राजनितिक समिति र भौतिक पुर्वाधार विकास मन्त्री पठानसिंह बोहराको नेतृत्वमा प्रशासन र विधेयक समिति गठन गरेको छ।

यी समितिहरुले मन्त्री परिषदको बैठक नभएपनि आ आफ्नो बिषयसँग सम्बन्धित कुराहरुमा निणर्य लिन सक्ने सरकारका प्रवक्ता प्रकास बहादुर शाहले जानकारी दिए।