बिहे गर्न बन्देज, सन्तान जन्माउन छुट !

प्रकाशित मिति : शुक्रबार, फाल्गुन १८, २०७४

बैतडी । बैतडीको मैलौली नगरपालिका बिसालपुरका जानकी भट्ट देउकी हुन् । उनलाई आफू कहिले मन्दिरमा चढाइए भन्ने थाहा छैन । उनको बिहे पनि भएन ।

तर, उनका २ छोरी, एक छोरा छन् । छोरीहरूको बिहे भइसकेकाले उनीहरूले श्रीमानको नामबाट नागरिकता बनाएका छन् । छोरा रोशनको नागरिकता समेत बनेको छैन । रोशन अहिले १० कक्षामा पढ्छन् ।

जानकी सानै हुँदा मन्दिरमा चढाइन् । जानकीले भनिन्, ‘मन्दिरमा चढाउँदा देउकी भनेको बुझ्ने भएकै थिइन ।’ जान्ने भएपछि भने नरमाइलो मान्ने बाहेक उनीसँग अर्को उपाय थिएन ।

मन्दिरमा चढाएका देउकीसँग बिहे गरे देवता रिसाउँछन् भन्ने मान्यता छ । त्यसैले देउकीलाई बिहे गर्ने केटा पाईंदैन । आफूसँग बिहे गर्न कसैले नचाहे पनि धेरैले रात भने बिताएको उनले बताईन् ।

छोराछोरी जन्मेपछि गाउँकै एक व्यक्तिले बिहे गर्ने आश्वासन दिए । ६ वर्षसम्म भारत लगेर सँगै राखे । त्यसपछि भने घरै फर्काइदिएको जानकीले बताईन् ।

जानकी अहिले आफूलाई मन्दिरमा चढाएका व्यक्तिले दिएको घरमा बस्छिन् । दैनिक ज्यालादारी गरेर पेट गुजारा र छोराको पढाई खर्च मुस्किलले धान्छिन् ।

बैतडीकै बासुलिंगकी ५५ वर्षीया गंगा धामी पनि देउकी हुन् । उनलाई चन्द परिवारले किनेर बैतडीमा रहेको बासुलिंग मन्दिरमा चढाएको थियो ।

मन्दिरमा चढाएकी देवी भएकाले उनी मन्दिरमै बस्नुपथ्र्यो । तर, देवी झैं पूज्य व्यवहार उनले कोहीबाट पाइनन् । भन्छिन्, ‘मन्दिरमा पुजाआजा गर्नेदेखि लिएर मन्दिरका पुजारीहरूले समेत हेर्ने नजर फरक हुन्थ्यो ।’

गंगाकै भनाइमा उनीसँग रात बिताउन समाजमा गन्य, मान्य मान्छे पनि पुग्थे । अस्मिता जोगाउन नसक्ने भएपछि बाध्य भएर शरीर सुम्पनु परेको उनले बताइन् ।

बैतडीको दशरथचन्द नगरपालिका २ चैसिर गाउँकी सेतु नायक ६० वर्षकी भइन् । उनी पनि देउकी हुन् । अहिले पनि उनको दैनिकी मन्दिरमा काम गरेर नै बित्छ । उनलाई ५० वर्ष अघि उनकै बुबा आमासँग किनेर एक धनाढ्यले मन्दिरमा चढाएको हो ।

अविवाहित भए पनि उनीबाट ७ सन्तान जन्मिए । ५ छोराछोरीको विवाह भइसक्यो । २ छोराको बिहे गर्न बाँकी छ । उनीहरूले बाबुको पहिचान पाएका छैनन् । छोराछोरीको नागरिकतामा बाबुको पहिचान नभएको उल्लेख गर्नुपर्ने बाध्यता रहेको उनले बताईन् ।

अहिले छोरा बुहारीसँगै बस्छिन् । गंगाले आफ्नो छोराछोरी कसैले पनि हाम्रो बुवा को हुन भनेर नसोधेको बताइन् । सोधेको भए के जवाफ दिन्छिन् रु उनी आफै नाजवाफ छिन् ।

के हो देउकी प्रथा ?

बैतडी लगायत पश्चिम नेपालका डडेल्धुरा, डोटी, दार्चुलामा देउतालाई खुसी पार्न भन्दै मन्दिरमा कन्या चढाउने परम्परा देउकी प्रथा हो ।

मान्छे बिरमी, अशक्त, रोगी भएमा, छोरा नभएमा वा अन्य कुनै मुद्दा जित्नुपरेमा देवतालाई देवता खुसी पार्न महिनावारी नभएका कन्या मन्दिरमा चढाउने गरिन्थ्यो । धन भएका व्यक्तिले क्षेत्री समूदायका परिवारसँग कुमारी छोरी किनेर देवतालाई चढाउने गर्थे ।

अहिले यो प्रथा खुल्ला रुपमा छैन । यसअघि देउकी चढाइएका महिला भने समस्यामा छन् । यद्यपि, बैतडीमा देउकीको एकिन तथ्याङ्क पनि छैन । तर, उनीहरूबाटै जन्मेका सन्तानले मेलौली नगरपालिकामा देउकी गाउँ नै बनेको छ ।

गुजारा गर्नै कठिन

बैतडीको दशरथचन्द नगरपालिका २ चैसिर गाउँकी सेतु नायक ६० वर्षकी भइन् । उनी पनि देउकी हुन् । अहिले पनि उनको दैनिकी मन्दिरमा काम गरेर नै बित्छ । उनलाई ५० वर्ष अघि उनकै बुबा आमासँग किनेर एक धनाढ्यले मन्दिरमा चढाएको हो ।

बैतडीको निंगलासैनी मन्दिरमा पुजापाठ, मेला लागेपछि सबैभन्दा पहिले उनी नै पुग्छिन् । मन्दिरको सरसफाइ गर्न, मन्दिरमा आएका दर्शनार्थी, श्रद्धालु उनीसँग आर्शिवाद लिन्छन् । तर, कहिलेकाँही हुने मेलामा भएको आम्दानीले उनलाई जीवन चलाउन कठिन छ ।

मजदुरी गर्न शरीरले सक्दैन । आम्दानी हुने बाटो छैन । उनले जीवन धान्नै मुस्किल परेको बताईन् ।

बासकै समस्या

बैतडी भौनेलीकी मानमती ९नाम परिवर्तन० ३० वर्षकी भइन् । उनी पनि देउकी हुन् । उनलाई आफ्नै आमाबुबाले मन्दिरमा चढाएका हुन् । आमाबुबाले नै मन्दिरमा चढाएपछि उनले पनि बिहे गर्न पाइनन् ।

उनी अहिले माइतीमा बस्दै आएकी छन् । आमाबुबाको मृत्यु भइसक्यो । दाजुभाईले वेवास्ता गर्न थालेका छन् । आफूसँगैका दिदीबहिनी घर माइती गर्छिन् । मानमतीले भने हेला सहेर बस्नु परेको छ । उनले भनिन्, ‘आफ्नै बाआमाले मलाई यता न उताको बनाए ।’

यसरी सुरु भयो देउकी प्रथा

देउकी प्रथाको केन्द्र बिन्दु बैतडीको मेलौलीमा रहेको मेलौली देबीको मन्दिर हो । डोटीमा जुम्लाको रैका मल्ल राजाका वंशज नागी मल्लले कत्युरी नरेशको राज्य विजयपछि पश्चिम नेपालमा देउकी प्रथाको सुरु भएको भन्ने भनाइ छ ।

नागी मल्लले भागेश्वरलाई चढाएकी केटी नै डोटी राज्यकी प्रथम देवदासी अर्थात् देउकी थिइन् भनिन्छ । यहि चलन अनुसार बैतडीमा २० वर्ष पहिलेसम्म यो चलन कायमै थियो ।

देउकी चढाउँदा ५ वर्षमाथिका महिनावारी नभएकी कन्या हुनुपर्ने मान्यता थियो । गाउँका मुखिया, पुजारीहरूले गरिबको छोरी किनेर भाकल बुझाउन मन्दिरमा चढाउने गर्दथे । तर यो चलन पछिल्लो समय बैतडी लगायत दार्चुला, डोटी, डडेल्धुरामा खुल्ला रुपमा हुँदैन ।

अझै पनि कतिपय ठाउँमा यो प्रथा लुकीछिपी हुने गरेको सरोकारवाला बताउँछन् । महिलालाई देवताको नाममा राँगा, बोका झैं मन्दिरमा बली चढाउनु महिला माथिको ठूलो अन्याय हो भन्छन्, देहिमाण्डौका सामाजिक अगुवा सुर्य बोहरा । उनका अनुसार हाल खुला रुपमा यो प्रथा कायम छैन ।

कानूनी व्यवस्था

देउकी प्रथा अन्त्य गर्न २०४८ सालदेखि नै कानूनले सम्बोधन गरेको छ । बालबालिका सम्बन्धि ऐन २०४८ को दफा १४ ९१० मा देवी देवताको नाउमा बालकलाई चढाउन नहुने उल्लेख छ ।

ऐनले भनेको छ, ‘कसैले आफ्नो वा अरु कसैको बालकलाई किनी वा कुनै प्रलोभन दिई वा कुनै किसिमको करकाप वा अनुचित प्रभावमा पारी आफ्नो कुनै भाकल वा अन्य कुनै धार्मिक अभिप्राय पूरा गर्ने उद्देश्यले कुनै देवी देवताको नाउमा चढाउनु वा समर्पण गर्नु हुँदैन ।’

नेपालको संविधान २०७२ को धारा २९ उपधारा २ ले धर्म, प्रथा, परम्परा, संस्कार, प्रचलन वा अन्य कुनै आधारमा कुनै पनि व्यक्तिलाई कुनै किसिमले शोषण गर्न पाइने छैन भनेको छ ।

२०४८ सालदेखि कानूनले सम्बोधन गरेको विषय भए पनि मन्दिरमा चढाइसकेका देउकीलाई भने सरकारले पुनस्र्थापनाको कार्यक्रम नल्याएको सुदुर पश्चिममा मानवअधिकारको लागि अभियान चलाइरहेकी अधिवक्ता डा। जानकी तुलाधरको भनाइ छ ।

सरकारले पनि देउकीको रुपमा कन्यालाइ मन्दिरमा चढाए कारबाही गर्ने भनेपछि यो प्रथाको अन्त्य भएको बैतडीको निंगलासैनी भगवती मन्दिरका पुजारी देवदत्त भट्ट बताउँछन् । हिजोआज देउकीको सट्टा महिला जस्तै देखिने मूर्ति बनाएर मन्दिरमा चढाउने गरेको उनले बताए ।

सन्तानले दुःख पाए

सन्तान नजन्माएका देउकी बुढेसकालमा सहाराको चिन्तामा छन् । सन्तान जन्माएकाहरू भने छोराछोरीलाई बाबुको पहिचान दिन नसक्दा चिन्तामा छन् ।

देउकी मात्र होइन देउकीका सन्तानसँग पनि कसैले हत्तपत्त बिहे गर्न खोज्दैनन् । बिहे गर्दा कुल हेर्ने परम्परा भएकाले बुबाको पत्तो नलागेकाहरूसँग बिहे गर्ने जोडी पाउनै मुस्किल पर्छ । मेलौलीका निर्मला भट्टले छोराछोरीको बिहे गरिदिन समस्या भएको बताईन् ।

अहिले विवाहको विकल्पमा उनीहरूले आफू जस्तै देउकीबाट जन्मेका सन्तान खोज्ने गरेको मेलौलीका सामाजिक अगुवा लोकराज भट्टले बताए ।