डाक्टरको लापरवाहीले महिलाको मृत्यु भएको भन्दै महाकाली अञ्चल अस्पताल तनाबग्रस्त

प्रकाशित मिति : शनिबार, फाल्गुन १९, २०७४

कञ्चनपुर १९ फागुन । महाकाली अञ्चल अस्पतालमा उपचारका लागि ल्याईएकी एक महिलाको मृत्यु भएपछि अस्पताल तनाबग्रस्त बनेको छ । भीमदत्त नगरपालिका ११ भुजेलाकी ४० वर्षिया कलावती सार्कीको मृत्यु भएपछि अस्पताल तनाबग्रस्त बनेको हो ।

अस्पतालको लापरबाहीका कारणले बिरामीको मृत्यु भएको भन्दै मृतकका परिवार र आफन्तजनले दोषिलाई कारबाही र मृतकलाई क्षतिपूर्तिको माग राख्दै विरोध गरिरहेका छन् । राति १२ बजे ईमरजेन्सी कक्षमा उपचारका लागि ल्याइएपनि डाक्टर बिहान ५ बजे मात्रै पुगेको मृतकका परिवारको आरोप छ । डाक्टर पुगेर चेकजाँच गरिसकेपछि मृत घोषणा गरेका हुन् ।

समयमा बिरामीलाई हेर्न डाक्टर नपुगेका कारणले बिरामीको मृत्यु भएको भन्दै परिवारजनले लापरबाही गर्ने माथि कडा कारबाही र मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग राखेका छन् । मृतक महिलाको शव महाकाली अञ्चल अस्पतालमै राखिएको छ । परिवारजनले घट्नाको छानविन नभएसम्म शव पोष्टमार्टम समेत नगर्ने र शव पनि नबुझ्ने अडान राखेका छन् । अहिले महाकाली अञ्चल अस्पताल बाहिर मृतकका परिवार र आफन्तहरु ठूलो संख्यामा अस्पताल बाहिर भेला भएका छन् । अप्रिय घट्ना हुन नदिन प्रहरी परिचालन गरिएको छ ।