टीकापुर घटनाका मुख्य आरोपी रेशम चौधरीले कारागारभित्रै थाले अनशन

प्रकाशित मिति : आइतवार, फाल्गुन २०, २०७४

कैलाली, २० फागुन । टीकापुर घटनाका मुख्य आरोपी रेशम चौधरीले कारागारभित्रै अनशन सुरु गरेका छन् । प्रहरी हिरासतमा रहेका चौधरीसहित २४ जनाले आइतबार साँझदेखि कारागारभित्रै अनशन थालेका हुन् ।

कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरीसहित टीकापुर घटनालगत्तै प्रहरीले पक्राउ परी पुर्पक्षका लागि थुनामा रहेका २४ जना विभिन्न माग राख्दै अनशनमा बसेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सागर बोहराले जानकारी दिए ।

उनीहरुले प्रतिनिधि सभामा विजयी चौधरीलाई निर्वाचित भएको प्रमाणपत्र दिइनुपर्ने, संसदमा शपथ खान पाउनुपर्ने, टिकापुर घटनाका आरोपी २६ जनालाई क्षतिपूर्तिसहित रिहा गर्नुपर्ने र थरुहट संघर्ष समितिले राखेका माग पुरा गर्नुपर्ने लगायतका माग राखेका छन् । टीकापुर घटना लगतै फरार भएका चौधरी झण्डै ३० महिनापछि फागुन १४ गते कैलाली जिल्ला अदालतमा उपस्थित भएका थिए ।