पिथौरागढमा नेपाल भारत सीमा सुरक्षा समितिको बैठक, के विषयमा हुँदैछ छलफल ?

प्रकाशित मिति : सोमवार, फाल्गुन २१, २०७४

लोकेन्द्र प्रशाद जोशी, दार्चुला ।

भारतीय पक्षको आग्रह अनुसार भारतको पिथौरागढमा नेपाल भारतका सुरक्षा अधिकारी बीच सीमा सुरक्षा समन्वय बैठक शुरु भएको छ । बैठकमा नेपाल भारतका सुरक्षा अधिकारीहरुले साझा एजेण्डाको रुपमा सीमा अपराध प्राथमिकतामा राखेर छलफल गरीरहेका छन ।

पिथौरागढदेखि दार्चुलाको व्यास तिंकरसम्म र भारतको झुलाघाटमा नेपाल भारत सीमा क्षेत्र जोडिएको छ । भारतीय पक्षले सीमा क्षेत्रमा आइएसको गतिविधि हुन सक्ने भन्दै यसको नियन्त्रणमा नेपाली पक्षसँग छलफल गरीरहेको छ । यस्तै नक्कली मुद्राको काराबोर तथा नेपालको क्षेत्रमा सुरक्षा गस्ती थप गर्नुपर्ने लगायतको विषयमा छलफल भइरहेको हो ।

नेपाल भारतको समन्वय बैठकमा भारतले नेपाली पक्ष सामु यसअघि ९ वटा एजेण्डामा छलफल गरिने प्रस्ताव तयार गरेको थियो । नेपाली पक्षले भने बैठकमा ११ वटा विषय वस्तुमाथि छलफल गर्ने गरी एजेण्डा तयार गरेको थियो । मानव वेचबिखन, सीमा अपराध, अवैध वन्यजन्तुको ओसार पसार तथा चोरी निकासी, लगायतका विषयवस्तु दुवै देशको साझा एजेण्डा छन् ।

यसैगरी नेपाली पक्षले महाकाली नदीमा लगाइने झोलुंगे पूल, बंगाबगर खोतिला पहिरो, लागू पदार्थ ओसार पसार नियन्त्रण, विपद तथा खोज उद्धारमा सहकार्य, सीमा क्षेत्रमा निर्माण कार्यले हुने क्षति बारे एजेण्डा तयार गरेको थियो । केहि दिन अघि भारतीय पक्षले महाकालीमा चार वटा झोलुंगे पूल निर्माण प्रस्ताव गरेलगत्तै एकतर्फी रुपमा पूल निर्माण गरेपछि सो विषयमा समेत छलफल हुने अपेक्षा गरीएको छ ।

नेपालतिर सीमा सशस्त्र प्रहरी बल सदरमुकाम खलंगामा मात्रै केन्द्रीत छ । दार्चुलाबासीले सीमा सशस्त्र प्रहरी वललाई तिंकरमा राख्न पटक पटक माग गरेपनि नेपाल सरकारले यसबारे निर्णय लिएको छैन । सीमा सशस्त्र प्रहरी तिंकरमा राखे सीमाको सुरक्षा हुने तथा अपराध नियन्त्रणमा सजिलो हुने जिल्लाबासीको बुझाई छ । बैठकमा दार्चुलाको तर्फबाट प्रमुख जिल्ला अधिकारी जनार्दन गौमतको नेतृत्वमा सुरक्षा निकाय प्रमुखहरु लगायतको सहभागिता रहेको छ ।