प्रदेश ७ का मुख्य न्यायाधिवक्ताको तलब मुख्यमन्त्रीको भन्दा झण्डै दोब्बर बढी

प्रकाशित मिति : बिहिबार, फाल्गुन २४, २०७४

धनगढी, २४ फागुन । प्रदेश ७ को मुख्य न्यायाधिवक्तामा कुलानन्द उपाध्याय नियुक्त भएका छन् । प्रदेश ७ को मन्त्रीपरिषद् बैठकले उपाध्ययलाई प्रदेश सरकारको कानूनी सल्लाहकारमा नियुक्त गरेको हो । प्रदेश सरकारले मुख्यमन्त्रीसहित सबैको सेवा सुविधा समेत निर्धारण गरेको छ ।

बुधबार बसेको बैठकले मन्त्रिपरिषद्का पदाधिकारीसहित प्रदेशसभाका सदस्यहरुको पारिश्रमिक र सेवा सुविधा तोकेको हो । तोकिएको सेवा सुविधाअनुसार मुख्यमन्त्रीको भन्दा मुख्य न्यायधिवक्ताको तलब बढी निर्धारण गरिएको छ ।

मुख्यमन्त्रीले ६० हजार ९ सय पारिश्रमिक सहित मासिक ६२ हजार ९ सय ७० पाउने छन् । प्रदेश मन्त्रीहरुले भने मासिक ५४ हजार पाउने छन् । सभामुखले ५६ हजार ५ सय मासिक पारिश्रमिक सहित सरकारी आवास पनि पाउने छन् । यस्तै उपसभामुख र विपक्षी दलका नेताले आवास भत्ताका लागि १२ हजार रुपैयाँ सहित मासिक ६५ हजार २ सय ५० रुपैयँ प्राप्त गर्नेछन् ।

सचेतक र समितिका सभापतिहरुले पनि १२ हजार रुपैयाँ आवास भत्तासहित ६२ हजार ७ सय पाउनेछन् । प्रदेश सांसदहरुले आवास भाडा सहित ५९ हजार मासिक रुपमा प्राप्त गर्नेछन् । मुख्य न्यायधिवक्ता उपाध्यायले इन्धन सुविधा बाहेक उच्च अदालतका न्यायधिसले पाउने सुविधा सरह मासिक ९४ हजार प्राप्त गर्ने छन् ।