धावनमार्गबाटै नेताको भाषणः ‘मेरै पालामा सकाउँछु’ तर २४ वर्षसम्म कसैले पनि छुने आँट गरेनन्

प्रकाशित मिति : आइतवार, फाल्गुन २७, २०७४

लोकेन्द्र प्रशाद जोशी, दार्चुला ।

बिगत २४ बर्षदेखी बन्द रहेको दार्चुलाको एकमात्र गोकुलेश्वर बिमानस्थल सञ्चालन हुन सकेको छैन । यो बिमानस्थलसंगै बन्द भएका सुदूरपश्चिमका अन्य केहि विमानस्थलहरु कालोपत्रे भएर सञ्चालनको अन्तीम तयारीमा रहदा गोकुलेश्वर बिमानस्थल अलपत्र परेको छ ।

आर्थिक, पर्यटकिय लगायत जिल्लाको बिकास र सम्भाबनासंग जोडिएको बिमानस्थल द्धन्दकालदेखी सञ्चालन हुन नसक्दा दार्चुलाले ठुलो घाटा बेहोर्नु परेको छ ।

सिगों दार्चुला जिल्ला र बैतडि जिल्लाको आधाभन्दा बढी भुभागले सजिलै सेवा पाउँने गोकुलेश्वर बिमानस्थल सञ्चालन हुन नसक्दा जिल्लाका थुप्रै सम्भाबना ओझेलमा परेका मात्र छैनन, आकस्मीक रुपमा रिफर गर्नुपर्ने बिरामीहरुले समयमै उपचार नपाएर अकालमै ज्यान गुमाउनुपरेको छ ।

राजनीतिक दलहरूका प्रत्येक ठूला सभाहरू सञ्चालन हुने यो विमानस्थलको धावन मार्गमा उभिएर नेताहरुले मेरै पालामा यो बिमानस्थल सञ्चालन गर्छु भनेर भाषण गरेपनि बिमानस्थल गौचरणमा परिणत हुदै गएको छ ।

२०४९ देखि २०७४ सालसम्म दार्चुलाबाट जितेर जाने र हार्ने सबै नेताले गोकुलेश्वर विमानस्थल सञ्चालन हुने बताएपनि विडम्बना, ठोस पहल कुनै सासंद वा मन्त्रीले गर्न सकेनन । बहुदलीय व्यवस्थाको पुनर्वहालीसँगै सम्पन्न आमनिर्वाचनमा दार्चुलाबाट नेपाली कांग्रेसबाट निर्वाचित दिलेन्द्रप्रसाद बडू पटकपटक सांसद र मन्त्री बनेपनि विमानस्थल सञ्चालनमा ल्याउने उहाको प्रतिबद्धता कहिल्यै पूरा भएन ।

मध्यावधि निर्वाचनमा अनपेक्षित नतिजा ल्याई बिजयि प्रेमसिंह धामी, गणतन्त्रको स्थापनासँगै पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन नेकपा माओवादीका तर्फबाट निर्बाचित लक्ष्मणदत्त जोशी, दोस्रो संविधानसभा र पछिल्लोपटक भएको प्रतिनिधिसभाको चुनावमा जीत हासिल गरेर सिंहदरबार पुगेका एमालेका केन्द्रीय सदस्य गणेशसिंह ठगुन्ना सबैले बिमानस्थल सञ्चालन गर्ने नारा लगाएर जितेपनि बिमानस्थलको हालत फेरीन सकेको छैन ।

तत्कालीन बोहरीगाउँको देवथलीमा प्रस्ताव गरिएको विमानस्थल निर्माण गर्न स्थानीयले स्वीकृति नदिएपछि चमेलिया नदी किनारमा रहेको गोकुलेश्वरमा २०४४/०४५ सालतिर विमानस्थल निर्माणको काम सुरु भयो । २०४६ सालदेखि संचालनमा आयो ।

रातीसमेत हवाई टिकट काट्नुपर्ने गोकुलेश्वर विमानस्थल २०५० सालदेखि भने पूर्ण रूपमा बन्द रहेको छ । ‘तत्कालीन शाखा अधिकृत सुधीरकुमार ठाकुर सरुवा भई गएपछि बन्द रहेको विमानस्थल २०६० सालदेखि कार्यालय सहयोगिको भरमा छोडिएको छ । अहिले ‘न जीर्ण भएका भवनहरूको मर्मत सम्भारका लागि उड्डयन मन्त्रालयले चासो लिएको छ, न विमानस्थलको घरपर्खाल नै सुरक्षित बनाउन सकिएको छ, न त चिठीपत्र नै’, बिमानस्थल गौचरण बनेको छ ।

बिमानस्थल सञ्चालन नहुदा अपार पर्यटकीय र व्यापारिक सम्भावना बोकेको दार्चुला जिल्लाको पर्यटन प्रवर्धन हुन सकेको छैन । प्रदेश राजधानीबाट झण्डै ३४५ किलोमिटर सडक मार्गबाट पुगिने दार्चुला सदरमुकामसम्म पुग्न कष्टप्रद यात्रा गर्नुपर्ने भएकाले पर्यटकहरु दार्चुला कमैमात्र पुग्ने गरेका छन ।

विमानस्थल संचालन गर्न सके पर्यटकीय सम्भावना मात्रै बढ्ने छैन, दार्चुला आउनै नमान्ने कर्मचारीहरू पनि सहजै दार्चुला पुग्ने र सेवा दिने धेरैको बुझाइ छ । कष्टप्रद यात्रा देखेर सुविधा सम्पन्न ठाउँमा बसेका कर्मचारीहरू, विकास साझेदार र विज्ञहरूसमेत दार्चुला नपुग्ने गरेका छन ।

शैल्यशिखर नगरपालिका– ९ गोकुलेश्वरमा रहेको विमानस्थल संचालन गर्न विमानस्थलको दक्षिणतिर घरहरू निर्माण गरिएको र चमेलिया नदीमाथि बनेको पुलसमेत बाधक देखाएको प्राधिकरणको अध्ययन टोलीले देखाएको छ ।