‘बोक्सी आरोप’ मा आमाद्वारा आफ्नै छोरीमाथि निर्घात कुटपिट

प्रकाशित मिति : बुधबार, फाल्गुन ३०, २०७४

गोरखा । कैलालीको बोक्सी काण्ड सेलाउन नपाउँदै गोरखामा त्यस्तै घटना घटेको छ ।  त्यो पनि बोक्सीको आरोपमा आफ्नै आमाद्धारा छोरीमाथि निर्घात कुटपिट गरिएको छ । गोरखा सहिद लखन गाउँपालिका–६, बाँसकोटकी १५ वर्षीया जानुका श्रेष्ठलाई उनकै आमा पार्वती श्रेष्ठले बोक्सी बकाउन भन्दै कुटपिट गरेकी हुन् । उनले एक घण्टासम्म खुट्टा समातेर कपाल लुछ्दै कुटपिट गरेकी थिईन् ।

जनुका स्थानीय हिमालय मावि कक्षा आठकी विद्यार्थी हुन् । कक्षामा पढिरहेका बेला एक्कासी बिरामी भएको खबर पाएपछि विद्यालयमा आएकी आमा पार्वतीले जानकीमाथि निर्घात कुटपिट गरेको विद्यार्थीहरुले बताएका छन् ।

‘बिहान ११ बजे दोस्रो पिरियडको कक्षा चलिरहेको थियो । जानुका एक्कासी बिरामी भइन्’, घटना वर्णन गर्दै एक विद्यार्थीले भने, ‘हामीले उनकी आमालाई बोलायौं । आमा आउनुभयो । एक जनाले जानुकाको खुट्टा समाते । आमाले कपाल समाएर कुट्न थाल्नुभयो ।’ विद्यालयको आँगनमा १५ मिनेटजति कुटेपछि विद्यालयले उनीहरूलाई बाहिर निकालेको उनले बताए ।

विद्यालयले कम्पाउन्डबाहिर निकालेपछि आमाले छोरीलाई गाउँपालिकाको कार्यालय परिसरमा लगेर फेरि कुटपिट गर्न थालिन् । गाउँपालिकाको स्वास्थ्यचौकी, पशु सेवा कार्यालय, कृषि सेवा कार्यालयको आँगनमा राखेर धेरैबेर लुछ्दै कुट्दै गरेको प्रत्यक्षदर्शीले बताए ।

‘आमा झाँक्री, छोरी बोक्सी बनेर एक घण्टा सवालजवाफ भयो’, स्थानीय भावना श्रेष्ठले भनिन्, ‘तँ को होस् ? भनेर आमाले सोधिन् । जानुकाले मखना हुँ भनिन् । तेरो कति छोराछोरी ? भनेर आमा सोध्ने, छोरीले भन्ने । यस्तै कुट्दै सोध्दै गर्दा गाउँका ३०/३५ जना भेला भए ।’

आमाले मात्र कुटपिट गरे पनि सघाउनेमा अरू चार/पाँच जना रहेको बताइएको छ । ‘पार्वतीले किन मेरो छोरीलाई दुःख दिइस् ? भन्थिन्, छोरीचाहिँ सधैं मेरो आँगनको बाटो हिँड्ने तर मलाई मानसम्मान नगर्ने, तेरो परिवार देखेर मलाई डाह लाग्थ्यो, त्यही भएर दुःख दिएको भन्थिन्’ घटना सुनाउँदै नाम नखुलाइदिन अनुरोध गर्दै एक प्रत्यक्षदर्शीले भने, ‘के गर्‍यो भने छाड्छेस् त भनेर सोध्दा मलाई रातो भालेको मासु र भात दे अनि छाड्छु भन्थिन् ।’ कपाल लुछ्ने, कुट्ने, मुखमा थुक्ने गर्दा जानुकाको गाला सुन्निएको र ओठ काटेर रगत बगेको उनले बताए ।

पीडित मखना श्रेष्ठले गाउँपालिकाकी उपप्रमुख इन्दिरा तिवारीसमक्ष र ताङ्लिचोक प्रहरी चौकीमा उजुरी दिएकी छन् । ‘बोक्सीको आरोप लगाएकाले अनुसन्धान गरी कारबाही गरिपाऊँ भन्ने व्यहोराको उजुरी आएको छ’, गाउँपालिकाकी उपप्रमुख तिवारी भन्छिन्, ‘पार्वतीको अर्को छोरी मोटरसाइकल दुर्घटनामा परी अस्पतालमा बस्नुपरेकाले दोहोरो छलफल गराउन पाइएको छैन ।’ अस्पतालमा अर्को कुरुवा राखेर यथाशीघ्र उपस्थित हुन आग्रह गरेको तिवारीले बताइन् ।