चन्दा नदिएपछि घोडाघोडी नगरपालिका मेयर चौधरीमाथि आक्रमण भएको खुलाशा

प्रकाशित मिति : बिहिबार, चैत्र १, २०७४

धनगढी, १ चैत्र । कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममता प्रसाद चौधरीमाथी चन्दा नदिएपछि आक्रमण भएको बुझिएको छ । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा कार्यकर्ताले चन्दा नदिएको भन्दै आक्रमण गरेको खुलेको हो । गत सोमबार राति कैलालीको घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चोधरीमाथि गोली प्रहार भएको थियो ।

चौधरीमाथि आक्रमण गर्ने ४ जना पक्राउ परेका छन् । पक्राउ परेकाहरुसँगको अनुसन्धानबाट उक्त रहस्य खुलेको हो । विप्लव कार्यकर्ताले मेयर चौधरीलाई मोटो रकम चन्दा माग गरेको तर चौधरीले अस्वीकार गरेपछि आक्रमण भएको कैलालीका प्रहरी प्रमुख विनोद घिमिरेले जानकारी दिए । चौधरीमाथि आक्रमण गर्नेमा घोडाघोडी नगरपालिका १ का कमल क्षेत्री, वडा नम्बर ९ का भरत शाह, वडा नम्बर ८ का पुर्ण प्रसाद खनाल, र वडा नम्बर १ का ह्दयराज बोगटी रहेका छन् ।

प्रहरीले पक्राउ परेका चार जना सहित १३ जनामाथी ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता गरेको छ । घटनामा पक्राउ परेका बाहेक फरारको सूचीमा रहेकाहरु बिप्लव माओवादीका पश्चिम क्षेत्रका ठुला कमान्डरहरु समेत रहेको प्रहरीले जनाएको छ ।