बिहेको एक महिना नपुग्दै श्रीमतीको शंकास्पद मृत्यु, गाडिएको शव ५ दिनपछि निकालेर अस्पताल पोष्टमार्टम

प्रकाशित मिति : शुक्रबार, चैत्र २, २०७४

लोकेन्द्र प्रशाद जोशी/दार्चुला २ चैत्र । दार्चुलाको दुहु गाउँपालिका २ हिकिलामा एक महिलाको शव गाडेको ५ दिनपछि निकालिएको छ । शव शंकास्पद भएपछि पोष्टमार्टमका लागि निकालेर जिल्ला अस्पताल दार्चुला ल्याइएको हो ।

दुहुँ गाउँपालिकाको वडा नम्बर २ हिकिलाका अन्दाजी २१ वर्षीय लक्ष्मी भट्टको शव गाडेको ५ दिनपछि पोष्टमार्टमका लागि जिल्ला अस्पताल दार्चुला ल्याइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

गत फागुन ४ गते हिकिलाकै वीरेन्द्र जोशीसँग प्रेम विवाह गरेकी मृतक भट्ट बिहेको एक महिना नपुग्दै मृत फेला परेकी थिइन । गत फागुन २७ गते मृत अवस्थामा फेला परेकी भट्टको शव सोही दिन गाडिएको थियो ।

श्रीमान वीरेन्द्रसहित साथीहरुसँग खर्क गएकी भट्ट त्यस दिनको भोलिपल्ट मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । मृतक भट्टका दाई केशव भट्टले प्रहरीमा दिएको उजुरीका आधारमा गाडेको शव निकालेर पोष्टमार्टमका लागि जिल्ला अस्पताल दार्चुला ल्याइएको हो ।

अहिले शव पोष्टमाटमका लागी अस्पतालमा राखिएको र शनिवार पोष्टमार्टम गरिने जिल्ला प्रहरी कार्यालय दार्चुला प्रहरी निरिक्षक तथा सूचना अधिकारी लाल बहादुर साउँदले जानकारी दिए ।