अपिहिमालमा सुदूरपश्चिमकै लामो झोलुंगे पूलको सर्वेक्षण

प्रकाशित मिति : आइतवार, पुस २९, २०७५

सुदूर समाचार, दार्चुला ।
दार्चुलाको अपी हिमाल गाउँपालिकामा सुदूरपश्चिम प्रदेशकै लामो पाटुु झुस्कु झोलुंगे नमुना झोलुंगे पूलको सर्वेक्षण भएको छ । अपी हिमाल गाउँपालिका, सुदूरपश्चिम प्रदेश सरकार, टिविएसयू हेल्भटास नेपाल र समाज कल्याण समाजको पहलमा झोलुंगे पूलको सर्वेक्षण भएको हो ।
अपीहिमाल गाउँपालिकाको वडा नम्बर २ र वडा नम्बर ३ जोड्नेगरी निर्माण गर्न लागिएको झोलुंगे पूलको लम्बाई ५ सय ३० मिटर हुने प्रारम्भिक सर्वेक्षण गरिएको छ । पूलको मात्रै लम्बाई ४ सय ९८ मिटर मापन गरिएको छ भने दुवैतिर जमिनमा गाभ्ने गरी थप ३२ मिटर थप गरिएको हो ।
दुई वडामा आवत जावत गर्न झण्डै एक घण्टा बढि समय लाग्ने गरेको छ । झोलुंगे पूल निर्माण गर्न सके ५ मिनेटमै वारपार आवत जावत गर्न सकिने गाउँपालिका अध्यक्ष धर्मानन्द मन्यालले बताउनुभयो ।
यसअघि नेपालकै लामो झोलुंगे पूलको रुपमा बागलुङदेखि पर्वतको पांग जोड्ने गरी ५६७ मिटर लामो झोलुंगे पूलको सर्भे गरिएको छ । उक्त पूल प्राविधिक हिसाबले सम्भव देखिएको कारण अपी हिमाल गाउँपालिकाको पूल पनि बनाउन सकिने प्राविधिकहरुले बताएका छन् ।