गौचरन बन्दै २५ बर्षदेखि बन्द गोकुलेश्वर विमानस्थल

आर्थीक, पर्यटकिय लगायत जिल्लाको विकास र सम्भावनासंग जोडिएको गाेकुलेश्वर विमानस्थल सञ्चालनकाे माग
प्रकाशित मिति : शनिबार, बैशाख १४, २०७६

दार्चुला । दार्चुलाको एकमात्र गोकुलेश्वर विमानस्थल विगत २५ बर्षदेखि बन्द रहेको छ । यो विमानस्थलसंगै बन्द भएका सुदूरपश्चिमका अन्य केहि विमानस्थलहरु कालोपत्रे भएर सञ्चालनको अन्तिम तयारीमा रहदाँ गोकुलेश्वर विमानस्थल गौचरनमा परिणत भएको छ ।
आर्थीक, पर्यटकिय लगायत जिल्लाको विकास र सम्भावनासंग जोडिएको विमानस्थल द्धन्दकालदेखि सञ्चालन हुन नसक्दा दार्चुलाले ठुलो घाटा बेहोर्नु परेको स्थानीय शुरेस श्रेष्ठको भनाइ छ । सिंगो दार्चुला जिल्ला र वैतडी जिल्लाको आधाभन्दा बढी भुभागले सजिलै सेवा पाउँने गोकुलेश्वर विमानस्थल सञ्चालन हुन नसक्दा जिल्लाका थुप्रै सम्भावनाहरु ओझेलमा परेका मात्र छैनन, आकस्मिक रुपमा रेफर गर्नुपर्ने बिरामीहरुले समयमै उपचार नपाएर अकालमै ज्यान गुमाउनुपरेको श्रेष्ठले गुनासो गर्नुभयो ।
राजनीतिक दलहरूका प्रत्येक ठूला सभाहरू सञ्चालन हुने यो विमानस्थलको धावन मार्गमा उभिएर नेताहरुले पटकपटक मेरै पालामा यो विमानस्थल सञ्चालन गर्छु भनेर भाषण गरेपनि विमानस्थल गौचरणमा परिणत हुँदै गएको छ । २०५० देखि हालसम्मका दार्चुलाबाट जितेर जाने र हार्ने सबै नेताले गोकुलेश्वर विमानस्थल सञ्चालन हुने बताएपनि कुनै सासंद वा मन्त्रीले परिणाममुखी पहल गर्न नसकेको गोकुलेश्वरका व्यापारी गंगादत्त जोशीको भनाइ छ । पछिल्लो समय विमानस्थल सञ्चालनकालागि प्रधानमन्त्री केपी सर्मा ओलीलाइ समेत भेटेर अगामी बर्षको बजेटमार्फत गोकुलेश्वर विमानस्थल सञ्चालनको कार्यक्रम ल्याउन माग गरेको दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सासंद गणेशसिह ठगुन्नाले बताउँनुभयो ।
गतबर्ष विमानस्थल सञ्चालनकालागि सम्भाव्यता अद्ययन नर्न आएको नागरिक उड्यन प्राधिकरणको टोलीले प्राविधिक समस्याका कारण गोकुलेश्वर बिमानस्थल सञ्चालन गर्न कठिनाइ रहेको रिपोर्ट निकालेपछि झनै अन्यौलता थपिएको छ । बजेट बिनियोजनको समस्या नभएपनि प्राविधिक समस्याका कारण जनअपेक्षा अनुसार छिट्टै बिमानस्थल सञ्चालनमा आउँन सकेको छैन, सासंद ठगुन्नाले भन्नुभयो, चमेलिया नदी माथिको पक्की पुल र केहि भवनहरुको कारण उडान र अवतरण गर्न समस्या हुने प्राबिधिक रिपोर्ट आएको छ, उक्त समस्या समाधान गर्ने बिकल्प सहित एयरपोर्ट सञ्चालनको योजना बनाउँन प्राधिकरणसंग आग्रह गरिएको सासंद ठगुन्नाले बताउँनुभयो ।
तत्कालिन बोहरीगाउँको देवथलीमा प्रस्ताव गरिएको विमानस्थल निर्माण गर्न स्थानीयले स्वीकृति नदिएपछि चमेलिया नदी किनारमा रहेको गोकुलेश्वरमा २०४४÷०४५ सालतिर विमानस्थल निर्माणको काम शुरु भएको थियो । २०४६ सालदेखि संचालनमा आएको गोकुलेश्वर विमानस्थल २०५० सालदेखि पूर्ण रूपमा बन्द रहेको छ । २०६० सालदेखि कार्यालय सहयोगिको भरमा छोडिएको विमानस्थल जिर्ण बन्दै गएको स्थानीय जिज्ञासु खत्रीले बताउँनुभयो । जीर्ण भएका भवन, घेरपर्खाल र विमानस्थलको मर्मत सम्भारका लागि पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चासो नलिदा विमानस्थल गौचरण, खेलमैदान र निर्माण सामाग्री राख्ने गन्तब्य बनेको खत्रीले बताउँनुभयो ।
विमानस्थल सञ्चालन नहुँदा अपार पर्यटकीय र व्यापारिक सम्भावना बोकेको दार्चुला जिल्लाको पर्यटन प्रवद्र्धन हुन सकेको छैन । प्रदेश राजधानीबाट झण्डै साढे तीन सय किलोमिटर सडक मार्गबाट पुगिने दार्चुला सदरमुकामसम्म पुग्न कष्टप्रद यात्रा गर्नुपर्ने भएकाले पर्यटकहरु दार्चुला कमैमात्र पुग्ने गरेका छन् ।
विमानस्थल संचालन गर्न सके पर्यटकीय सम्भावना मात्रै बढ्ने छैन, दार्चुला आउनै नमान्ने कर्मचारीहरू पनि सहजै दार्चुला पुग्ने र सेवा दिने धेरैको बुझाइ छ । कष्टप्रद यात्रा देखेर सुविधा सम्पन्न ठाउँमा बसेका कर्मचारीहरू, विकास साझेदार र विज्ञहरूसमेत दार्चुला नपुग्ने गरेको प्रदेशसभा सदस्य मान बहादुर धामीको भनाइ छ । पटकपटक विमानस्थल सञ्चालनको माग गर्दा समेत सुनुवाइ नहुनु दार्चुलावासीकोलागि दुःखको बिषय रहेको उहाँको भनाइ छ ।