‘असल सवारी चालक सम्मानित’

प्रकाशित मिति : सोमवार, असार ३०, २०७६

दार्चुला । सार्वजनिक सवारी साधनमा ंसवारी आवागमन, ट्राफिक नियमको पालना गर्ने, यात्रु प्रति जिम्मेवार सवारी चालकहरुलाइ सम्मानित गरिएको छ ।
दार्चुला जिल्लाका एक सय बढि सवारी चालकमध्ये उत्कृष्ट तीन जनालाइ असल सवारी चालक घोषित गरि नगद पुरस्कार र सम्मानपत्र सहित सम्मानित गरिएको हो । दार्चुला यातायात प्रालिका महादेव खत्री, सुदूरपश्चिम चमेलिया यातायात प्रालिका दिलेन्द्रसिह धामी र महाकाली बहु उदेश्यिय यातायात प्रालिका मेघराज जोशी सम्मानित भएका छन् ।
अस्थायी ट्राफिक प्रहरी पोष्ट खलंगा र स्वास्थ्य कार्यालय दार्चुलाद्धारा आयोजित सार्वजनिक सवारी साधनमा धुम्रपान र मद्यपान निशेध सम्बन्धी जनचेतनामुलक कार्यक्रममा असल सवारी चालकलाइ सम्मानित गरिएको हो । जिल्ला प्रहरी प्रमुख डिएसपी दिपेन्द्र शाहीले धुम्रपान र मद्यपान सेवन गरेर सवारीसाधन चलाउदा दुर्घटना हुने भएकोले सवारी साधनमा धुम्रपान र मद्यपान निशेष गर्न सवारी धनी र चालकहरुलाइ निर्देशित गरिएको बताउँनुभयो।
स्वास्थ्य कार्यालय दार्चुलाका जनस्वास्थ्य अधिकृत नरेन्द्रराज जोशीले धुम्रपान र मद्यपान सेवनका कारण स्वास्थ्य समस्यादेखी बिभिन्न रोगहरुको संक्रमण भइ मृत्युसम्म हुने, परिवार, समाजमा नराम्रो असर पर्ने, आर्थिक क्षती हुने तथा कुनैपनि फाइदा नहुने भएकोले धुम्रपान र मद्यपानको सेवन नगर्न नगराउँन आग्रह गर्नुभएको छ । प्रमुख जिल्ला अधिकारी शंकरबहादुर बिष्टले सम्मानित हुने चालकलाइ बधाइ तथा धन्यबाद ज्ञापन गर्दै ट्राफिक नियमको पालना नगर्ने र धुम्रपान तथा मद्यपान सेवन गरेर सवारी साधन चलाउँने चालकहरुलाइ कारवाही गर्न ट्राफिक प्रहरीलाइ निर्देशित गर्नुभएको छ ।
अस्थायी ट्राफिक प्रहरी पोष्ट खलंगाका प्रहरी सहायक निरीक्षक हिक्मत सिह महताले भन्नुभयो, पछिल्लो समय सवारी चालकहरुको लापरवाही र कमजोरीका कारण सवारी दुर्घटना बढ्दै गएकोले सवारी चालकहरुलाइ सचेत हुन अभिमुखीकरण गरिएको हो । प्रहरीले सवारी दुर्घटना नियन्त्रण गर्न चालकहरुको आखाँ र रगत जाचँ गर्ने, जनचेतनामुलक अभिमुखीकरण गोष्ठी सञ्चालन गर्ने, कामको आधारमा कारवाही र सम्मानित गर्ने गरेको छ ।