बर्षभरीको बजेट खर्च निरासाजनक, बर्खेभलमा बजेट बगाउँदै सरकारी कार्यालय

प्रकाशित मिति : मङ्लबार, असार ३१, २०७६

दार्चुला। चालु आर्थिक बर्ष २०७५÷०७६ सकिन दुई दिन मात्रै बाकी रहदा सुदूरपश्चिम प्रदेश सरकार अन्तरगत दार्चुलास्थित कार्यालयहरुको पुजिगत बजेटको ५१ प्रतिषत रकम खर्च गर्न बाँकी रहेको छ ।
प्रदेश सरकार अन्तरगतका आधादर्जन कार्यालयमा यो बर्ष कुल ३५ करोड ४१ लाख ३५ हजार पुजिगत बजेट रहेकोमा शुक्रबारसम्म १७ करोड २७ लाख २९ हजार २ सय २३ रुपैँया अर्थात करिब ४९ प्रतिषत बजेट खर्च भएको छ । साउनदेखी जेठसम्मका एघार महिनाको अवधिमा २८ प्रतिषत बजेट मात्रै खर्च गरेका कार्यालयहरुले असारको अन्तिममा आएर खर्च प्रतिषत बढाएका छन् ।
कोष तथा लेखा नियन्त्रण कार्यालय दार्चुलाको तथ्याङक अनुसार प्रदेश सरकार मातहतका कार्यालयहरुले ६ करोड ८२ लाख ६६ हजार ७ सय ६० रुपैँया अर्थात २० प्रतिषत बजेट असार महिनामा मात्रै खर्च गरेका छन् । प्रदेश सरकार मातहतका जलस्रोत तथा सिचाइ विकास डिभिजन कार्यालय, प्रदेश स्वास्थ्य कार्यालय र जिल्ला अस्पताल लगायत कार्यालयले अहिलेपनि योजनाको काम गरिरहेकाले खर्च प्रतिषत केहि बढ्ने अनुमान गरिएको छ ।
आर्थिक बर्षको अन्त्यमा बजेट सिद्धाउने उदेश्यले गुणस्तरहिन काम हुने गरेको बिगतदेखी नै आरोप लाग्दै आएपनि बिभिन्न कार्यालय, योजनाहरु, स्थानिय तहले समेत आर्थिक बर्षको अन्त्यमा पुगेर योजना कार्यान्वयन गरिरहेका छन् । योजनाहरुको समयमै कार्यान्वयन र नियमन नहुदा बजेट सिद्धाउने नाममा गुणस्तरहिन काम हुने गरेको छ । निरन्तर बर्षा भइरहदा समेत विकास निर्माणका योजनाहरुको काम रोकिएको छैन् ।
लेकमका सम्भुराज जोशीले भन्नुभयो, जलस्रोत तथा सिचाइ विकास डिभिजन कार्यालयले असारको अन्त्यमा आएर सम्झौताको काम गरिरहेको छ । बर्खा लागेपछि बिकास निमार्णका कार्यलाइ अघि बढाउँदा स्थानिय सरकार र बिकासे कार्यालयले गरेको बजेट खर्च बालुवामा पानी खन्याएजस्तै हुने गरेको छ ।
बैंकिङ कारोबार बढेसंगै सदरमुकाममा चहलपहल
दार्चुला सदरमुकाम खलंगास्थित एकमात्र राष्ट्रिय वाणिज्य बैंकको शाखामा केहि दिनयता सेवाग्राहीको भिड बढ्दै गएको हो । असार महिना शुरु भएसंगै बैंकमा दैनिक २ सयदेखी ४ सयसम्म सेवाग्राहिहरुले सेवा लिइरहेको बैंकले जनाएको छ ।
सबैजसो स्थानीय तहमा बैंकिङ सेवा विस्तार भएको कारण विगत बर्षको तुलनामा सेवाग्राहीको चाप केहि घटेको छ । यद्धपी सरकारी कार्यालय, स्थानीय तहका योजनाहरुको भुक्तानी लिने उपभोक्ता, तलबभत्ता बुझ्ने शिक्षक, कर्मचारी र जडिबुडी तथा यार्सागुम्बा व्यापारीका कारण बैंकमा भीड लागेको छ ।
केहिदिनयता बिहान बैंक खुल्ने समय पहिले देखी नै बैंकमा लाइन बसेपछि बेलुकी समेत पालो पाउन मुस्किल रहेको सेवाग्राहिहरुले बताएका छन । स्थानीयको चहलपहल बढेसंगै भोजनालय, होटल लजहरुको कारोवार समेत ह्वात्तै बढेको छ ।