विश्वकप २०१८ का ५ रोचक घटना (भिडियोसहित)

१. आईसल्याण्डका सबै खेलाडीको पछाडी किन सन होला

थर राख्ने आइसल्याण्डको अनौठो चलन

सन् २०१६ को यूरो फुटबल प्रतियोगिता देखिनै सबैको चासो हुने टिमको रुपमा रहेको आइसल्याण्डले रसिया बिश्वकपमा पनि कौतुहलता पैदा गरिरहेको छ । बिश्वकपको दाबेदार टिमको रुपमा रहेको अर्जेन्टिनालाई १–१ गोलको बराबरीमा रोकेपछि आइसल्याण्डले बिश्वकपको छनोट फ्ल्युकको रुपमा नभएको कुरालाई पून: पुष्टि गरेको छ ।

अहिले बिश्वकप प्रति नजर दौडाई रहेका फुटबल प्रेमिहरुलाई आइसल्याण्ड टिमका खेलाडीहरु प्रति थप कौतुहलता पैदा भैरहेको छ । यदी तपाईहरुले अर्जेन्टिनाबिरुद्धको खेल हेर्नु भयो भने कमेन्टेटरले आइसल्याण्डका खेलाडीहरुको नाम एरोन गुनारसन, ह्यानिस थोर हल्डरसन, जोन डाडी बोड्भारसन, अल्बर्ट गुड्मुन्डसन आदी बताईरहेका थिए ।

तपाईले आईसल्याण्डका खेलाडीको नाम उच्चारण गर्दा एउटा शब्द लगातार आईरहेको थाहा पाउनु भयो । आइसल्याण्डका एक जना गोलकिपर खेलाडी फ्रेडिरिक श्रेयम बाहेक सबै खेलाडीको थरको पछाडी जोडिएर सन आएको छ ।

आइसल्याण्डमा मानिसहरुको नाम आफ्नो बाबुको नामलाई थरको रुपमा जोडेर राख्ने गरिन्छ । उक्त नाममा छोरा भए सन र छोरी भए डोटिर राखिन्छ । जस्तो ओडिनले आफ्नो छोराको नाम थोर राखे भने उसको नाम थोर ओडिनसन हुन्छ ।

अब थोरको छोराको नाम मेग्नी राखियो भने तपाईलाई मेग्नी ओडिसन हुन्छ जस्तो लाग्यो होला । तर होईन मेग्नीको बाबुको नाम त थोर थियो त्यसैले उसको नाम मेग्नी थोरसन हुन्छ ।

यही कारणले आइसल्याण्डका गोलकिपर फ्रेडिरिक श्रेयम बाहेक सबै खेलाडीको नामको अन्तमा बुबाको नामसंगै सन रहेको हो । फ्रेडिरिक श्रेयमको चाहि किन रहेन भन्ने तपाईलाई लाग्यो होला उनको बुबा डेनिस भएको कारण उनको नामको पछाडी सन हुन नसकेको हो ।

२. बडवाइजर प्रायोजक भएपछि उपाधि अस्विकार

इजिप्टका गोलकिपर मोहमेद एल–सिनावेले म्यान अफ दि म्याच उपाधिको प्रयोजक बडबाईजर बियरले गरेकै कारण लिन अस्विकार गरेका छन् । उरुग्बे बिरुद्धको पहिलो खेलमा इजिप्ट १–० गोलले पराजित भएपनि गोलकिपर मोहमेदको उत्कृष्ठ प्रदर्शनले इजिप्ट लज्जाजनक हारवाट बचेको थियो । यो खेलमा राम्रो बचाउ गरेको भन्दै इजिप्टका गोलकिपर मोहमेदको योगदानलाई कदर गरेर सम्मान राखिएको थियो । उनलाई प्रदान गर्न लागिएको म्यान अफ दि म्याचको शिल्डमा बडबाईजरले प्रायोजन गरेकै कारण मोहमेदले उक्त लिन अस्विकार गरेका छन् ।

ईस्लामिक कानूनमा मदिरालाई बर्जित गरिएको छ । सोही अनुसार आफु इस्लाम धर्मावलम्बि रहेको कारण उक्त शिल्डमा बडबाइजरको लोगो रहेकै कारण अस्विकार गरेको मोहमेदले बताए । बडवाईजर बिश्वकप २०१८ को मुख्य प्रायोजकको रुपमा रहेको छ ।

मोहमेदको यो निर्णयले गर्दा अरु ईस्लामिक धर्मावलम्बि रहेका देशका खेलाडीहरुले पनि के गर्ने हुन् भन्ने कौतुहलता अहिले बढेको छ । यो बिश्वकपमा ईस्लामिक पृष्ठभुमि भएका इजिप्ट लगायत मोरक्को, साउदी अरेयिबा, इरान, ट्युनिशिया, सेनेगल र नाईजेरियाले पनि प्रतिस्पर्धा गरिरहेका छन् । जसमा जर्मनीका मेत्सु ओजील, फ्रान्सका पाउल पोग्वा र इजिप्टका मोहमेद सलाह जस्ता चर्चित खेलाडीको धार्मिक आस्था इस्लामिक नै रहेको छ ।

३. नाईकिले इरानका खेलाडीलाई फुटबल बुट नै दिएन

बिश्वकपको पहिलो खेलमा मोरक्को बिरुद्ध जित हात पारेको इरानले यो सफलताको श्रेय अमेरिकाले आफ्नो देश प्रति लगाएको नाकाबन्दीलाई प्रेरणाको रुपमा लिएको बताएको छ ।

अमेरिकाले इरानको परमाणु कार्यक्रमलाई बन्द गराउन बर्षौ देखि नाकाबन्दी लगाएको छ । यो नाकाबन्दिको प्रभाव देशलाई परेपछि सोही देशका खेलाडीलाई पर्ने नै भयो । धेरै पहिला देखि इरानियन टिमलाई चाहिने खेल सामग्री नाईकी कम्पनीले उपलब्ध गराउदैं आएको थियो ।

जसको कारण उसले खेलाडीहरुलाई चाहिने सबै खेल सामग्रीहरु सप्लाई गर्नु पथ्र्यो । तर अमेरिकी कम्पनी नाईकीले इरानियन टिमलाई यो बिश्वकपमा खेल्न जुत्ता समेत सप्लाई गरेन । जसको कारण इरानियन खेलाडीहरुले फरक फरक ब्राण्डको जुत्ता लगाएर मोरक्को बिरुद्ध मैदानमा खेलेका थिए ।

मोरक्को बिरुद्ध पाएको सफलता पछि इरानियन टिमका प्रशिक्षक कार्लोस क्वेरोजले स्पेनिस पत्रिकालाई अन्तवार्ता दिदै हाम्रो देशलाई जसरी नाकाबन्दी लगाएर कमजोर बनाएको बताउन चाहनेहरुलाई यो सफलताले राम्रो सन्देश दिएको छ । हामी उक्त नाकाबन्दीले गर्दा नै फुटबल मार्फत् केही देखाउने प्रयासमा अहिले रसिया आएका हौं उनले भने ।

४. साउदी खेलाडीलाई सजाँय हुने

बिश्वकपको उद्घाटन खेलमा आयोजक रसियासंग ५–० गोलले पराजित भएको साउदी अरेबियाका ३ जना खेलाडीहरुलाई सजाँय हुने भएको छ । साउदी अरेबियाको फुटबल एसोसिएसनका प्रमुख अदेल इज्जातले उक्त नतिजा पछि प्रतिक्रिया दिदैं विश्वकपमा साउदीले सोचे अनुसारको प्रदर्शन गर्न नसकेको जनाए । साउदीको यो असफलतामा तिन जना खेलाडीहरु मुख्य रुपमा जिम्मेवार रहेको कारण उनीहरु स्वदेश फर्किएपछि उनीहरुलाई सजाँय हुने बताए ।

साउदी पत्रिका अल योयुम असाब्बालाई अन्तवार्ता दिदै प्रमुख आदेलले भने यो नतिजा साउदीले सोच्नै नसक्ने किसिमले आएको छ । यो खेल साउदीको खेल स्तर भन्दा निकै नै कमजोर देखियो । उनका अनुसार साउदी आएपछि सजाँय पाउनेमा गोलकिपर अब्दुल्ला अल मायुफ, स्ट्राइकर मोहम्मद अल सहलाबी र डिफेण्डर ओमर हउसाबी रहेका छन् । आदेलका अनुसार उनीहरुलाई दिईने सजाँय कस्तो किसिमको हुने भन्ने कुरा भने खुलाएका छैनन् ।

फुटबल एसोसिएसनका अध्यक्ष आदेलले गरेको निर्णयलाई साउदीकै स्थानिय खेल विभागका प्रमुख तुर्कि बिन अब्दुलमोहसिन हल सिखले पनि समर्थन गरेका छन् । विभाग प्रमुख तुर्किले ट्विटरमा भिडियो पोष्ट गर्दै उक्त खेल अकल्पनिय रुपमा लज्जास्पद रहेको बताए । उनीहरुको कारण हामीहरुको अनुहार अध्यारो भएको छ ।

हामीले यसपटक साउदी अरेबियाको टिमको प्रदर्शन राम्रो होस् भनेर प्राविधिक सहयोग देखि उच्चस्तरको प्रशिक्षण दिएर उनीहरुलाई तिन बर्षको तलब समेत दिएका थियौं । हामीले उनीहरुको मनोबल बढेस् भनेर गरेका सबै किसिमका सहयोगहरु निरर्थक भयो । हामीले उनीहरुसंग राखेको आशा अनुसार ५ प्रतिशत पनि प्रदर्शन गर्न सकेनन् ।

कुनै पनि चर्चित खेलाडी नरहेको टिमसंग त साउदी अरेबियाले लज्जाजनक हार ब्योहर्यो भने समूह एमै रहेको लुईस स्वारेजको उरुग्बे र मोहम्मद सलाहको इजिप्टसंगको खेलमा साउदी टिमको प्रदर्शन झनै फितलो हुने अनुमान गरिएको छ ।

साउदीका तिन खेलाडीलाई सजाँय हुने बताएपनि कस्तो किसिमको सजाँय हुने भने खुलाईएको छैन । उद्घाटन खेलमै साउदीका राजकुमार हेर्न गएको हुनाले यो खेललाई साउदी सरकारले पनि बिशेष चासोको रुपमा लिएको थियो ।

फिफाको वरियताक्रममा आफु भन्दा तल रहेको रसियासंग भोगेको पराजय साउदी सरकारलाई अकल्पनिय रहेको देखिन्छ । तर साउदी राजकुमारले महिलाहरुलाई पनि रंगशालामा गएर फुटबल हेर्न छुट दिएको कारण उनलाई खेलकुदको क्षेत्रमा उदार राजघराना पनि मानिन्छ । यस्तो अवस्थामा सम्भवत उनले नै खेलाडीहरुलाई दिने भनिएको सजाँयलाई कटौती पनि गर्न सक्छन् । अर्को रुपमा हेर्ने हो भने साउदी अरेबिया नियम कानूनको क्षेत्रमा अन्य मुलुक भन्दा कडा पनि रहेको छ ।

५. इस्लामिक स्टेटको निशानामा मेस्सी र नेयमर

रसियामा आयोजना भैरहेको विश्वकप फुटबल प्रतियोगितामा इस्लामिक स्टेटले कुनै पनि रुपमा आक्रमण गर्ने चेतावनी दिएपछि सुरक्षा ब्यवस्थालाई कडा गरिएको छ । बिश्वकै सर्वाधिक चासो रहने खेलकुद प्रतियोगिताको मौका पारेर आक्रमणको प्रयास गर्दा आतंकवादको चर्चा विश्वब्यापी हुने र यस्ता आक्रमणमा जनधनको क्षति पनि धेरै नै हुने देखेर पनि आक्रमणको प्रयास हुने गरेको छ । यही कुरालाई बुझेर रसियाले पनि सुरक्षा ब्यवस्थालाई निकै कडाई गरेको जनाएको छ ।

इस्लामिक स्टेटको शाखा वाफा मिडिया फाउण्डेसनले बिश्वकपमा खेलिरहेका अर्जेन्टिनाका लियोनल मेस्सी र ब्राजिलका नेयमरको तस्विरहरुलाई प्रयोग गरेर आक्रमण गर्ने धम्कि दिएका थिए । यो वाहेक रसियाले सिरियाका राष्ट्रपति बसद अल असदलाई सहयोग गर्ने नाममा सिरियामा युद्धरत धेरै आईएसआईएसका लडाकु लगायत नागरिकहरुको हत्या गरेको आरोप रहेको छ । सिरियामा पछिल्लो पटक रसियाको समर्थनमा भैरहेको आक्रमणको बदला लिन आईएसआईएसले अहिले विश्वकपलाई उचित मौकाको रुपमा लिएको जनाएको छ ।

सन् २०१५ मा पेरिसमा आयोजना भएको एक फुटबल प्रतियोगितामा पनि इस्लामिक स्टेटका लडाकुले रंगशाला बाहिर आक्रमण गर्दा १ सय ३७ जनाको मृत्यु भएको थियो भने ४ सय भन्दा बढी ब्यक्ति घाईते भएका थिए ।
From: Kendrabindu.com

 

Leave A Reply

Your email address will not be published.