भीमदत्त नगरपालिकामा आगामी वर्षको लागि १ अर्ब १० करोड बजेट (नीति तथा कार्यक्रमसहित)

कञ्चनपुर, ५ असार । भीमदत्त नगरपालिकाले नमूना सहर बनाउने नीति र कार्यक्रमसहित आगामी आर्थिक वर्ष २०७५/०७६ का लागि बजेट ल्याएको छ । भीमदत्त नगरपालिकाको तेस्रो नगर सभाबाट सोमबार १ अर्ब १० करोड ६४ लाखको बजेट पारित गरिएको हो । चालु आर्थिक वर्षका लागि गत वर्ष १ अर्ब ६४ लाख बजेट विनियोजन गरिएको थियो ।

बजेटमा केही पूरानालाई निरन्तरता दिएर नयाँ नीति तथा कार्यक्रम समावेश गरिएका छन् । आगामी आर्थिक वर्षका लागि आन्तरिक आम्दानी १२ करोड २७ लाख प्रस्ताव गरिएको छ । वित्तिय समानीकरणबाट २५ करोड ५६ लाख, सशर्त अनुदान ३१ करोड ९५ लाख, राजश्व बाँडफाँट १४ करोड ३३ लाख, सामाजिक सुरक्षा १८ करोड, लागत सहभागिता १ करोड, क्षेत्रीय सहरी विकास आयोजना ४ करोड ३५ लाख, सडक बोर्ड ७२ लाख र सीमा क्षेत्र विकास कार्यक्रमबाट ४५ लाख आम्दानी अनुमान गरिएको छ ।

आन्तरिक आम्दानीको ६ करोड ४९ लाख साधारण, १८ लाख पूँजीगत, म्याचिङ्ग फण्ड ७५ लाख, आय फिर्ता १ करोड २५ लाख र ५८ लाख विभिन्न कोषका लागि विनियोजन गरिएको छ । वित्तिय समानीकरणको बजेट वडा कार्यालयका लागि १ करोड ४८ लाख, नगरपालिका कार्यालयका लागि ९ करोड र पूँजीगतमा १४ करोड ५६ लाख विनियोजन गरिएको छ । राजश्व बाँडफाँटाको अनुमानित आम्दानीलाई पूँजीगत खर्चमा विनियोजन गरिएको छ ।

भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टको अध्यक्षतामा बसेको नगर सभामा उप नगर प्रमुख सुशिला चन्द सिहले आगामी वर्षको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेकी थिइन् । बजेटमा सभासद्हरुले आफ्नो धारणा राखेपछि नगर सभाबाट पारित गरिएको भीमदत्त नगरपालिका नगर कार्यपालिकाका प्रवक्ता राजेन्द्र पाण्डेयले जानकारी दिए ।

भीनपा वडा नं. १८ का सदस्य प्रशान्त भट्टले खन्ने खोलाले भाँसी, सालघारी, बागफाँटासम्म स्थानीयलाई अप्ठेरोमा पारेकाले नियन्त्रणका लागि विशेष प्राथमिकता दिनुपर्ने माग राखे । भीमदत्त नगरपालिकाका नगर प्रमुख विष्टले स्थानीय सरकार सञ्चालन ऐन २०७४ का आधारमा स्थानीय स्रोत साधनको प्रयोग र जनशक्ति परिचालनबाट नगरपालिकालाई प्रदेश ७ को नमूना र व्यवस्थित सहर बनाउने नीति सहित अल्कालिन र दिर्घकालिन योजना सहित आगामी वर्षको नीति कार्यक्रम बजेट ल्याइएको बताए । ‘सबै नगरवासीको सहयोगमा यो बजेट कार्यान्वयन गर्न चाहन्छौ, यसमा सबैको साथ र सहयोग हुने आशा गरेका छौ’ नगर प्रमुख विष्टले भने ।

नगर सभामा प्रदेश साँसदहरु प्रकाश रावल र मान बहादुर सुनार सहभागी भएका छन् । भीमदत्त नगरपालिकालाई आर्थिक रुपमा आन्तनिर्भर र समुन्नत बनाउन भीमदत्तको समृद्धिको आधार, पर्यटन, शिक्षा, कृषि र व्यापार भन्ने नारा अघि सारिएको छ । नगर सभाले संघीय र प्रदेश बजेट तादाम्यता मिलाउने, विकास योजनामा लागत सहभागिता र जन सहभागिता बढाउने, करका दायरा विस्तार र वैज्ञानिक कर प्रणाली लागू गर्ने, आर्थिक क्षेत्रलाई प्राथमिकता, आफ्नो नगर आफैं आफैं बनाऔं भन्ने भावानालाई साकार बनाउन जनसहभागिता वृद्धि, स्थानीय स्रोत साधनको प्रयोग, पारदर्शिता र जनलेखा परीक्षण प्रणालीलाई प्रभावकारी बनाउने नीति लिएको छ ।

भीनपाको समृद्धिका लागि व्यवस्थित र नमूना सहर बनाउने, साक्षरता, औसत आयु, प्रतिव्यक्ति आम्दानीमा वृद्धि, मातृ मृत्यु, बाल मृत्युलाई घटाउने लगायतका नीति पारित गरिएका छन् । पश्चिमी सीमा नाकालाई व्यापारिक नाका बनाउन संघीय सरकारसित पहल गर्ने, ग्रिन सिटी क्लिन सिटीका रुपमा नगरलाई विकास गरिने, तीन वर्षे आवधिक योजनालाई आवधिक गरी समय सापेक्ष बनाउने, सरकारी तथा गैर सरकारी संस्थाहरुसित साझेदारी, प्राकृतिक स्रोत साधनबाट आउने आम्दानीको केही प्रतिशत नदी किनारका वासिन्दाका लागि खर्च गरिने, पूर्व पश्चिम राजमार्गलाई ६ लेन सडक बनाउन संघीय सरकारसित पहल गरिने नीति लिइएको छ ।

आगामी वर्षका लागि पूर्वाधार विकास तथा यातायात, शिक्षा, स्वास्थ्य र पोषण, कृषि, सिँचाई र पशुपंक्षी, खानेपानी, सरसफाई तथा फोहरमैला व्यवस्थापन, वन वातावरण, तथा विपद् व्यवस्थापन, संस्कृति तथा पर्यटन विकास, खेलकूद र युवा, उद्योग बाणिज्य, सहकारी तथा वित्तिय क्षेत्र, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण, संस्थागत विकास, सेवा प्रवाह र सुशसान र स्थानीय मेलमिलाप विषयमा कार्यक्रम पारित गरिएका छन् ।

नगरपालिकालले तीन खम्बे अर्थ नीति अनुसार समाजवाद विकास उन्मूख गराउन सामूहिक तथा सहकारी मार्फत पूँजी निर्माण गरी सार्वजनिक र निजी क्षेत्रसित सहकार्य गरी जाने नीतिलाई समेत प्राथमिकता दिइएको छ । नगर सभाबाट आर्थिक विधेयक–२०७५ र विनियोजित विधेयक २०७५ पारित गरिएका छन् । आर्थिक विधेयकले कर संकलन र विनियोजित विधेयकमा खर्च गर्ने सम्बन्धी व्यवस्था गरिएको छ ।

दुई वर्षभित्र साक्षर भीमदत्त नगरपालिका
भीमदत्त नगरपालिका आगामी दुई वर्षभित्र पूर्ण साक्षर नगरपालिका हुने भएको छ । नगरपालिकाले तेस्रो नगर सभाबाट आगामी दुई वर्षभित्र नगरपालिकालाई पूर्ण साक्ष बनाउने नीति पारित गरिएको छ । नगर समृद्धिको लक्ष्य, नीति, कार्यक्रममा पूर्ण साक्षर बनाउने नीतिलाई समावेश गरिएको छ ।

एक लाख बढी जनसंख्या भएको भीमदत्त नगरपालिकामा ८० प्रतिशत वासिन्दा साक्षर छन् । अन्य बाँकी निरक्षरलाई साक्षर बनाएर पूर्ण साक्षर बनाउने नीति नगर सभाबाट पारित गरिएको हो । भीमदत्त नगरपालिकाका सूचना अधिकारी प्रशासकीय अधिकृत हरि सिह धामीले भीनपाको ८० प्रतिशत साक्षरतालाई शत प्रतिगत पुगाउने लक्ष्य राखेर नीति ल्याएको बताए । ‘अहिले ८० प्रतिशत छ, यसलाई शत प्रतिशत पुगाउने लक्ष्य हो’ सूचना अधिकारी धामीले भने ।

भीनपाका निरक्षक वासिन्दालाई साक्षर बनाउन साक्षरताका कक्षाहरु सञ्चालन गरिएका छन् । विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालय ल्याउन शैक्षिक सत्रमा विद्यालय भर्ना अभियान सञ्चालन गरिएको थियो । भीनपाको आधारभूत तथा माध्यमिक शिक्षा शाखाको अगुवाईमा सामुदायिक सिकाई केन्द्रसित मिलेर अभियान सञ्चालन गरिएका थियो ।

आगामी वर्ष नगर शिक्षा कार्यविधिको प्रभावकारी कार्यान्वयन, स्थानीय भाषाका पाठ्यपुस्तकका लागि नीति निर्माण, माध्यमिक तहसम्म अंग्रेजी माध्यममा निःशुल्क शिक्षा उपलब्ध गराउने विद्यालयलाई प्रोत्साहन, सामुदायिक विद्यालयमा शिक्षक दरबन्दी मिलान, सामुदायिक विद्यालयका आधारभूत र माध्यमिक तहका उत्कृष्ठ विद्यार्थीलाई भीमदत्त छात्रबृत्ति वितरण र शैक्षिक अनुगमनमा कडाई गरिने आगामी वर्षको कार्यक्रममा समावेश गरिएको छ ।

जैविक र पर्यटन मार्गलाई प्राथमिकता
भीमदत्त नगरपालिकालले जैविक मार्ग स्तरोन्नति र पर्यटन मार्ग निर्माण कार्यलाई उच्च प्राथमिकता दिएको छ । नगरपालिकाको आगामी वर्षको बजेटमा ती दुबै मार्गलाई प्राथमिकता दिएको हो । तेस्रो नगर सभाबाट सोमबार आगामी वर्षको कार्यक्रममा जैविक मार्ग स्तरोन्नति र पर्यटन मार्ग निर्माण कार्यलाई प्राथमिकता दिइएको हो । आगामी वर्षको पूर्वाधार विकास तथा यातायातमा ती दुबै मार्ग प्राथमिकतामा राखिएका छन् ।

चालु आर्थिक वर्षमा आन्तरिक स्रोतबाट ती दुबै मार्गको निर्माण गर्न लागिएको हो । जैविक मार्गको ट्रयाक खोलेर ग्राभेलिङ्ग गरिएको छ । चालु आर्थिक वर्षमा ग्राभेलिङ्ग पूरा गर्ने लक्ष्य राखिएको छ । रौटेला ब्रह्मदेब जैविक धार्मिक पर्यटकीय मार्ग नाम राखिएको मार्ग १२ किलोमिटर लामो छ । यसको चौडाई १८ मिटरसम्म छ ।

जैविक मार्गबाट १, ३, ७, ८, १०, ९ नम्बर वडाका वासिन्दालाई लाभावान्तित हुने भएका छन् । जैैविक मार्गको स्तरोन्नतिका लागि संघीय र प्रदेश सरकारसित पहल गरिने नगर प्रमुख सुरेन्द्र विष्टले बताए । यसैगरी झोलुङ्गे पुलेदेखि बागफाँटासम्म शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज किनारमा पर्यटन मार्ग बनाउन थालिएको छ । यसबाट भीनपाका १३, १४, १५, १६, १८ र १९ नम्बर वडाका वासिन्दाले सुविधा पाउने छन् । अहिले पर्यटन मार्गको ट्रयाक खोल्न सुरु गरिएको छ ।

भीमदत्त नगरपालिकाले चक्रपथ निर्माण गरी नगर बस सञ्चालन गर्ने लक्ष्यका साथ उत्तरमा जैविक र दक्षिणमा पर्यटन मार्ग निर्माण सुरु गरिएको हो । रौटेलाबाट चक्रपथ निर्माण सुरु गरिएको छ । वार्षिक नीति तथा कार्यक्रममा नगर वस सञ्चालनका लागि पहल गरिने उल्लेख गरिएको छ । भीनपाका नगर प्रमुख सुरेन्द्र विष्टले तीन वर्षभित्र सार्वजनिक निजी साझेदारीमा वस सञ्चालन गर्ने योजना बनाएका छन् ।

कार्य विधि बनाएर सिटी हल सञ्चालन गरिने, नगरका सबै सडकमा सौर्य बत्ती जडान गरिने, सामुदायिक भवन निर्माण, नगर क्षेत्रका सडकको नामाकरण, नक्सा पास नगरी हुने भवन निर्माण कार्यलाई निरुत्साहित, नगर बृहत योग केन्द्र निर्माण कार्यलाई निरन्तरता, भौतिक पूर्वाधार र यातायात क्षेत्रलाई अपाङ्गता र बालमैत्री बनाइने, ट्रान्समिटर जडान, जनता आवाश कार्यक्रमलाई सहयोग गर्ने लगायतका योजना पारित गरिएका छन् ।

यसैगरी आगामी वर्ष प्रत्येक वडा तथा टोलका नदी र खोलामा कल्भर्ट र पुल निर्माण कार्य, ढल निकास, भवन सँहिता कार्यान्वयनका लागि प्रभावकारी अनुगमन लगायतका कार्यक्रम पनि बजेटमा समावेश गरिएका छन् । वडा कार्यालय भवन निर्माण, चालु आर्थिक वर्षका अधुरा योजना सम्पन्न गर्ने, सार्वजनिक बाटो कायम गर्ने लगायतका योजनालाई पनि प्राथमिकता दिइएको छ ।

भीनपामा पनि नगर अस्पताल
भीमदत्त नगरपालिकामा नगर अस्पताल सञ्चालन गरिने भएको छ । भीमदत्त नगरपालिकाको आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा नगर अस्पताल सञ्चालनको योजना समावेश गरिएको छ । तेस्रो नगर सभाबाट नगर अस्पताल सञ्चालन निर्णय पारित गरिएको छ । यसंगै एक वडा एक स्वास्थ्य इकाई सञ्चालन पनि बजेटमा समावेश गरिएको छ ।

आगामी वर्ष पनि घुम्ती शिविर सञ्चालन कार्यक्रमलाई पनि निरन्तरता दिइने भएको छ । महाकाकाली अञ्चल अस्पताल, आयुर्वेदिक अस्पताल र आँखा अस्पताल स्तरोन्नतिका लागि पहल गरिने बजेटमा उल्लेख गरिएको छ । यसैगरी बाल मृत्युदर न्यूनीकरण र सुरक्षित मातृत्वका लागि सुनौला हजार दिन कार्यक्रम समेत अगामी दिनमा निरन्तरता दिइनेछ । स्वास्थ्यकर्मीको क्षमता वृद्धि र खाद्य पदार्थ अनुगमनमा कडाई गरिने नीति लिइएको छ ।

Leave A Reply

Your email address will not be published.