ब्रह्मदेवमा भीमदत्त नगर क्षेत्रकै पहिलो महाकाली गौशालाको उद्घाटन (४ तस्बिरमा हेर्नुहोस्)

कञ्चनपुर, ९ साउन । भीमदत्त नागरपालिका वडा नं. ९ ब्रह्मदेवमा निर्माण गरिएको महाकाली गौशलाको बुधबार उद्घाटन गरिएको छ । ब्रह्मदेबस्थित सिद्धनाथ सामुदायिक वनको जमिनमा गौशला निर्माण गरिएको छ । भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले गौशलाको ब्यानर अनावरण गरी गौशला उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा जगद्गुरु बालसन्त मोहनशरण देवाचार्य, दिल्ली गौ सेवाका नन्द किशोर स्वामी लगायतका सहभागी भएका छन् ।

गौशला निर्माण समितिका अध्यक्ष लक्ष्मी भट्टको अध्यक्षतामा कार्यक्रम गरिएको गरिएको छ । गौशला उद्घाटनपछि जगद्गरुले सुदूरपश्चिम धर्तीमा उब्जिएको अन्न ग्रहण गरेका छन् । गत माघमा गाईलाई सडकमा छाडेको भन्दै जगद्गुरुले गाई व्यवस्थापन नभएसम्म सुदूरपश्चिमको धर्तीमा फलेको अन्न त्यागको घोषणा गरेका थिए । नगर प्रमुख विष्टले जगद्गुरुलाई अन्न ग्रहण गराउनु भयो ।

कार्यक्रममा नगर प्रमुख विष्टले जगद्गुरुले अन्न त्याग गरेपछि नगरपालिकाले छाडा गाई व्यवस्थापनलाई गम्भीर रुपमा लिएर गौशला निर्माण गरिएको बताए । ‘उहाँ जगद्गुरुले यस धर्तीमा फल्ने अन्न त्यागेपछि ठूलो प्रहार भयो, धर्तीलाई कलंक लाग्ने भयो’ नगर प्रमुख विष्टले भने, ‘अहिले आएर त्यो कलंकबाट जोगिएका छौ ।’

भीमदत्तले छाडा गाई व्यवस्थापनका लागि कानुन बनाएको र यसको कार्यान्वयन सुरु गरिएको बताए । कार्यक्रममा जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यले भीनपाका नगर प्रमुख विष्ट जगद्गुरुको संकल्प तोड्ने नेपालको पहिलो मेयर भएकोमा खुसी व्यक्त गरे । ‘उहाँले गौशला बनाएर मेरो संकल्प पूरा गर्नु भएको छ, जगद्गुरुको संकल्प तोड्ने एक मात्र मेयर बन्नु भएको छ’ उनले भने ।

भीमदत्त नगरपालिकाको सहयोगमा महाकाली गौशला निर्माण समितिले सामुदायिक वनको १२ बिगाहा जमिनमा गाई पालन केन्द्रका रुपमा विकास गर्ने लक्ष्य सहित गौशला निर्माण गरेको हो । कार्यक्रममा समितिका अध्यक्ष गजेन्द्र बहादुर चन्द, नन्दकिशोर स्वामी, सिद्धनाथ मन्दिर संरक्षण समितिका अध्यक्ष केशव सिह नायक, सिद्धनाथ सामुदायिक वनका अध्यक्ष मोति सिह महता लगायतले गौशलाबाट छाडा पशु चौपायाको समस्या समाधानमा टेवा पुग्ने बताए । ५२ गाई राख्ने गरी निर्माण गरिएको गौशलालाई आगामी वर्ष विस्तार गरिनेछ । कार्यक्रमका सभापति भट्टले त्यसका लागि भीमदत्त नगरपालिका सहित सबै सरोकारवाला निकायबाट सहयोग हुने आशा व्यक्त गरे ।