पूर्वएआइजी जयबहादुर चन्द सौर्य दैनिकको प्रबन्ध निर्देशकमा नियुक्त

0

सिर्जना इन्टरनेसनल मिडिया प्रालिद्वारा प्रकाशित सौर्य राष्ट्रिय दैनिकमा नयाँ लगानीकर्ता भित्रिएका छन । पत्रिकालाई सातै प्रदेशबाट प्रकाशन गर्ने योजनासहित अध्यक्ष पदम शाह, संस्थापक तथा प्रधान सम्पादक बोधराज त्रिपाठी र कार्यकारी निर्देशक बशन्त पन्तले नयाँ साझेदार भित्र्याएका हुन ।

नयाँ पार्टनर भित्रिएसँगै आजबाट सौर्य दैनिकको प्रबन्ध निर्देशकमा पूर्वएआइजी जयबहादुर चन्द नियुक्त गरिएको छ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा निकट चन्दले आजबाटै कार्यभार सम्हाल्ने गरी प्रिन्टलाइनमा नाम प्रकाशन गरिएको छ । ब्यापारिक साझेदार भित्र्याएसँगै व्यवस्थापन समिति बैठकले सुरक्षा क्षेत्रमा तीन दशक लामो अनुभव संगालेका पूर्वएआइजी चन्दलाई प्रबन्ध निर्देशक नियुक्त गरेको हो ।

२५ भदौ ०२१ सालमा बैतडीको सुरनयाँ गाउँपालिका–७ मा जन्मिएका चन्दसँग नेपाल प्रहरीमा आइजीपी नियुक्त भएपनि अदालतको आदेशबाट घटुवामा परी एआइजीबाट अवकाश पाएका थिए । सुरक्षाको दृष्टिले अतिसंवेदनशील मानिएको काठमाडौं जिल्लाको पहिलो प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को जिम्मेवारी कुसलतापूर्वक सम्हालेका चन्द सुरक्षाविज्ञका रूपमा पनि परिचित छन् ।

व्यवस्थापनदेखि परिचालनसम्ममा उत्कृष्ट रहेका चन्दसँग सुरक्षाको दृष्टिले ज्यादै संवेदनशील मानिएका कपिलवस्तु, रूपन्देही, पर्सा, रौतहट, मकवानपुर, काभ्रे लगायतका जिल्लाको सुरक्षा नेतृत्व सम्हालेको अनुभवसमेत छ । उनीसँग ट्राफिक प्रमुख, लागुऔषध नियन्त्रण ब्युरोको प्रमुख भएर काम गरेको अनुभव पनि छ ।

सुदूरपश्चिमको डिआइजी भएर नेतृत्व सम्हालेका चन्दले महानगरीय प्रहरी आयुक्तको जिम्मेवारीसमेत कुसलतापूर्वक सम्हालेका थिए । नेपाल प्रहरीमा रहँदा उनले महत्वपूर्ण विदेशी मिसनमा काम गरिसकेका छन् । उनी नेपाल प्रहरीभित्र कुसल अधिकृत मानिन्छन् । स्व। राजा वीरेन्द्रको एडिसी भएर काम गरिसकेका चन्दले डेढ दर्जन मुलुकको भ्रमण गरेका छन् । स्वदेश तथा विदेशमा सञ्चालित महत्वपूर्ण तालिमको अनुभव लिएका चन्द केही महिनाअघि मात्र नेपाल प्रहरीबाट सेवानिवृत्त भएका हुन् ।

प्रहरीभित्र अत्यन्त हिम्मतवाला अधिकृतका रूपमा स्थापित चन्द सेवानिवृत हुँदा महानगरीय प्रहरी आयुक्त थिए । चन्दको नेतृत्वमा सिर्जना इन्टरनेसनल मिडिया र यसबाट प्रकाशित सौर्य राष्ट्रिय दैनिकले नयाँ उचाइ प्राप्त गर्ने विश्वास लिइएको सौर्य दैनिकको व्यवस्थापनले लिएको छ । janata times

You might also like
Loading...