बादी समुदायका बालबालिका आधारभुत शिक्षाबाट बञ्चित (फोटोफिचर)

भर्ना भएकापनि बिद्याल जादैनन्

दार्चुला । शिक्षा पाउनु सबै बालबालिकाको मौलिक हक एबं नैसर्गिक अधिकार हो, अनिवार्य निःशुल्क आधारभुत शिक्षा राज्यको नारा छ । नेपालको संबिधान २०७२ ले समेत बालबालिकाको हक अन्तरगत शिक्षा प्राप्त गर्ने अधिकारलाइ अनिवार्य भनेको छ । हामी सबैको इच्छ्या अनिवार्य आधारभुत निशुल्क शिक्षा मूल नारा एबं एक बच्चाको भर्ना मेरो समाजिक दायित्व पहुँचको सुनिश्चितता सिकाइको स्थायित्व आदर्श वाक्यकासाथ बिद्यार्थी भर्ना बिशेष अभियान राष्ट्रब्यापी रुपमा सञ्चालन भएको छ । तर, दार्चुलाको बादी समुदायका अधिकासं बालबालिका राज्यले अनिवार्य र निशुल्क गरेको आधारभुत शिक्षाको पहुचबाट समेत बञ्चित रहेका छन ।
शुक्रबार देशभरी भब्यताकासाथ वाल दिवस मनाइरहदा यो समुदायका बालबालिकाहरुको पिडा निकै पृथक थियो । बिडम्बना बालबालिकाहरु अभिभाबक संगै गिट्टि कुट्न, बालुवा बोक्न जान्छन, तर बिद्यालय जादैनन ।
शैल्यसिखर नगरपालिका वडा नम्बर ९ गोकुलेश्वर बजारमा बसोबास गर्ने बादी समुदायका दुई दर्जन बढी बालबालिका शिक्षाको ज्योतिबाट बञ्चित रहेका हुन । बादी बस्ती जिल्लाकै दोस्रो ठुलो बजार, गोकुलेश्वर माबि, क्याम्पस लगायत आधा दर्जन बिद्यालय रहेको क्षेत्रमा पर्छ, तर बालबालिकाहरु बिद्यालय हैन, चमेलिया नदी किनार र सडक पेटिहरुमा भौतारीएका देखीन्छन् । शिक्षा क्षेत्रका समाजिक अभियान्ताहरुलाइ यो बस्तीको तस्बिरले सधै गिज्याइरहेको हुन्छ । बिद्यार्थी भर्ना अभियानमा सतप्रतिषत बिद्यार्थी नियमित आधारभुत शिक्षा आर्जन गरीरहेको भनेर तथ्याङक तयार पार्ने काम भइरहेको छ । तर बिडम्बना यो बस्तीका अधिकासं बालबालिकाहरुले बिद्यालय र शिक्षाको अनुहार देख्न पाएका छैनन, बिद्यालय भर्ना भएका बिद्यार्थीहरुसमेत नियमित उपस्थित नहुने र बिचैमा कक्षा छोड्ने समस्या रहेको छ ।
नेपालको संबिधानमा प्रतेक बालबालिकालाइ परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालनपोषण, उचित स्याहार, खेलकूद, मनोरञ्जन तथा सर्बागीण ब्यक्तित्त बिकासको हक हुनेछ भनेर स्पष्ट उल्लेख गरीएको छ । तर ब्यवहारीकता र वास्तबिकता चिन्ताजनक छ ।
गोकुलेश्वर माद्यमिक बिद्यालयको चालु शैक्षिक सत्रको तथ्याङक अनुसार बादी समुदायका २६ जना बिद्यार्थी भर्ना भएका छन् । बिद्यालयका प्रद्यानाद्यापक धनन्जय जोशीका अनुसार सिशु कक्षामा २ जना छात्र र २ जना छात्रागरी ४ जना, कक्षा १ मा ५ जना छात्र र ७ जना छात्रा गरी १२ जना, कक्षा २ मा १ जना छात्र र १ जना छात्रागरी २ जना, कक्षा ३ मा १ जना छात्रा, कक्षा ४ मा ३ जना छात्रा, कक्षा ५ मा ३ जना छात्रा र कक्षा ६ मा १ जना छात्रा गरी २६ जना बालबालिका भर्ना भएका छन् ।
माथिको तथ्याङक हेर्दा बिद्यालय भर्ना नहुने र बिचैमा कक्षा छोड्ने बालबालिकाहरु ठुलो संख्यामा भएको स्पष्ट हुन्छ । साथै भर्ना भएका बिद्यार्थीहरु समेत कहिलेकाही मात्रै बिद्यालय पुग्ने गरेका छन् । सरकारले बादी समुदायका बालबालिकाहरुलाइ बिद्यालय भर्ना भएबाफत भत्ता र दैनिक उपस्थितिको आधारमा समेत भत्ताको ब्यवस्था गरेको छ, तर बालबालिकाहरु बिद्यालय जादैनन् । बिचैमा पढाइ छोड्ने गरेकै कारण कक्षा ६ भन्दा माथि बिद्यालयमा एक जनापनि बिद्यार्थी छैनन् ।
यस बस्ती वरिपरिका बालबालिकाहरु सधै हातमा कापि कलम समाएर बिद्यालय जादैगर्दा बादी समुदायका बालबालिकाहरु माछा मार्न, गिट्टि कुट्न, पौडिन चौलानी नदी किनारतर्फ लाग्छन् । साथै उमेरमा बिबाह गरेर धेरै बच्चा जन्माउने यो समुदायका मानिसको भरपर्दो आयस्रोतको माध्यम केहिपनि छैन । भारी बोक्ने, गिट्टि बालुवा निकाल्ने, छलिया नाचँ गर्ने, माछा मार्ने लगायतका गतिबिधि गरेर दिनचर्या बिताउँने गरेका छन् । मजदुरी गरेर पैसाबाट मदिरा सेवन गरेर अधिकासं रात त पुरै परिवार भोकभोगै सुत्नुपर्ने दुखेसो समेत यो समुदायका मानिसहरु सुनाउँछन । अधिकासंको न आफ्नो खेतबारी छ, नत घर जमिननै । बस्तीभरी फोहोरमैला र दुर्गन्ध मात्रै भेट्टिन्छ । यो समुदायमा अशिक्षा, बेरोजगारीकै कारण बिकृति बिसङगतिले समेत जरा गाडेर बसेको छ ।
बादी समुदायको अवस्था निकै दयनिय छ, राज्यले लगानि गरेपनि बालुवामा पानी हालेजस्तै हुने गरेको छ । त्यसकारण अब राज्यले प्रभाबकारी कार्यक्रम सञ्चालन गरेर यो समुदायका बालबालिकाहरुलाइ शिक्षा, दिक्षा र बेरोजगारहरुलाइ स्वरोजगारी शृजना गर्दै आत्मनिर्भर बनाउँनु आबश्यक रहेको छ । ब्यवहार परिवर्तन गरेर जीबिकोपार्जनमा ध्यन दिए अहिलेको अवस्थाबाट यो समुदायका मानिसहरु माथी उठ्न सक्ने सम्भाबना रहेको छ ।

Leave A Reply

Your email address will not be published.