सुदूरपश्मिमकै इज्जत हुन् पाँचौ डाँन ‘निर्मला’

शेरबहादुर सिंह

भीमदत्तनगर । निरन्तर प्रयासका कारण सुदूरपश्चिम ‘पाँचौँ डाँन’ बन्ने पहिलो महिला खेलाडीमा आफ्नो नाम लेखाउन सफल कञ्चनपुरको भीमदत्तनगरपालिका–३ भाषीकी ३३ वर्षीया निर्मला डगौंरा दुई दशकदेखि निरन्तर खेलजगतमा सक्रिय छिन् ।

तेह्र वर्षकै उमेरदेखि तेक्वान्दो खेलमा प्रवेश गरेकी उनले धेरै राष्ट्रिय प्रतियोगितामा सहभागी भई उपाधिसमेत प्राप्त गरेकी छिन् । “खेलप्रतिको लगनशीलता र मेहनतले आज प्रदेशको पाँचौ डाँन बनेको हुँ ।” खुशी व्यक्त गर्दै निर्मलाले भनिन्, “यसको श्रेय खेलगुरु र मेरा अभिभावकलाई जान्छ।”

खेलप्रति लगाव भएकै कारण उनी दिनको एक पटक भिमदत्तनगरस्थीत खेल परिसर पुग्छिन् । गत २०७४ सालमा घुँडामा देखिएको चोटका कारण अन्तर्राष्ट्रिय खेलकूद प्रतियोगितामा भने निर्मला सहभागी हुन पाइनन् । “विभिन्न राष्ट्रिय प्रतियोगितामा दर्जनौँ पटक सहभागी भए पनि शारीरिक समस्या हुँदा मुलुक बाहिर जान भने रोकिएँ ।” उनी भन्छिन्, “खेलकूदमा लागेर दाम नकमाए पनि नाम भने कमाएकी छु ।”

“पाँचौ डाँन बन्न सक्नु त्यति सजिलो होइन ।” निर्मला भन्छिन्, “यसका विभिन्न मापदण्ड र चरण पार गर्दै सफल हुनेसके मात्रै सम्भव होइन्छ।” सिनियरतर्फ प्रथम ब्ल्याक बेल्ट (प्रथम डाँन) २०५६ सालमा लिएकी निर्मला पाँचौ डाँनमा हालै मात्र पुगेकी हुन् । “मसँगैका धेरै खेलाडी वैदेशिक रोजगारमा छन् ।” उनी भन्छिन्, “खेलकूदमा खेलाडीको सुविधा र सुरक्षा नभएकाले पलायन हुने क्रम बढेको हो ।”

खेल जगत्मै रहँदा सँगैका खेलाडी जहरसिंह चौधरीसित केही वर्षअघि विवाह बन्धनमा बाँधिनु भएकी निर्मलाले घरायसी कामसँगै खेलकूदलाई निरन्तरता दिँदै आएकी छन् ।

“उहाँ (श्रीमान्) र मैले प्रथम डाँनसँगसँगै पास गरेका थियौँ ।” खेलकूदमै बसेको प्रेम चार वर्षअघि विवाहमा परिणत भयो ।” दुई वर्षको छोरा समेत रहेको बताउने निर्मलाको बच्चाको स्याहार आमाले गर्नुहुन्छ । पछिल्लो समय होटल व्यवसायसमेत सञ्चालन गरेका चौधरी दम्पतीले थारू परिकार पाउने रिसोर्ट समेत सञ्चालनमा ल्याएका छन् ।

“साँझ खेलकूदमा हुने गरे पनि अरु बेला कटेजमा हुन्छु ।” निर्मला भन्छिन् “छैटौँ खेलकूद यहाँ हुँदा तीन महीने स्वयम्सेवक प्रशिक्षकमा समेत जागिर खाएको थिए ।” उनीसँगै थारू समुदायकै अर्की खेलाडी भीमदत्तनगरपालिका–३ बिचपुरीका सरस्वती चौधरी पनि तेक्वान्दोकै चौथोे डाँन हुन ।

निर्मलाभन्दा केही समयपछि तेक्वान्दो खेलमा प्रवेश गरेकी सरस्वतीले खेलसँगै अध्ययनलाई पनि निरन्तरता दिएकी छिन् । सरस्वती पनि निर्मलापछिकी प्रदेशको चौथोे डाँनमा एक्ली महिला खेलाडी बनेकी हुन् । “राष्ट्रिय प्रतियोगितामा समेत बिना पदक कहिल्यै फर्किनु परेन ।” उनी भन्छिन्, “पाँचौँ राष्ट्रिय खेलकूद प्रतियोगितादेखि यसलाई निरन्तरता दिँदै आएकी छु । ”

नाताले निर्मला सरस्वतीकी भाउजू पर्छिन । “भाउजू भए पनि हामी शुरुदेखि नै साथी जस्तै हौँ ।” स्नातकोत्तर तहमा अध्ययनरत सरस्वती भन्छिन्, “महिलाले त झन आत्मरक्षाका लागि पनि खेलकूदमा आउन जरुरी छ ।” दाइको प्रेरणाबाट खेलजगतमा आएको उल्लेख गर्दै उनी यसबाटै पनि वैदेशिक रोजगारमा धेरै सम्भावना रहेको बताउँछिन् ।

निर्मला पाँचौँ डाँन खेलाडी बनेपछि उहाँका प्रशिक्षक मोहनप्रताब गुरुङ पनि खुशी छिन् । “विसं २०४२ सालदेखि महेन्द्रनगरमा तेक्वान्दो प्रशिक्षण शुरु भएको इतिहास छ ।” प्रशिक्षक गुरुङले भने “यो अवधिमा महिला खेलाडीतर्फ निर्मला र सरस्वतीले पाएको सफलता गर्वको विषय हो ।” “दुई दशकसम्म निस्वार्थ खेलजगतमै रहनु निर्मलाको ठूलो लगानी हो ।” गुरुङ भन्छन्, “उनको सफलताले हाम्रो पनि शिर उचो भएको छ ।” पाँचौ डाँनलाई स्नातक उत्तीर्णसम्म मान्यता दिइने उनको भनाइ छ ।

पछिल्लो समय कवर्ड हलमा पहिलो पटक राष्ट्रिय खेलकूद परिषद्को रु २५ लाख लगानीमा तेक्वान्दोको प्रशिक्षण केन्द्रसमेत निर्माण भएको छ । कञ्चनपुरमा करीब आधा दर्जन तेक्वान्दो डोजाङ सञ्चालन रहेकामा जिल्लाभर करीब ७०० खेलाडी रहेको प्रशिक्षक गुरुङ जानकारी दिन्छन् ।

खेलकूदमा भविष्य नदेख्दा खेलाडी पलायन हुने गरेको प्रशिक्षक गुरुङको भनाइ छ । “खेलकूदमा लागेर रोजगारलगायत सुरक्षाको सुनिश्चितता भएमात्रै खेलकूदको विकास हुनसक्छ ।” उनी भन्छन्, “आफ्नै लगानीमा प्रतियोगितामा भाग लिनुपर्ने अवस्था अझै अन्त्य भएको छैन ।”

Leave A Reply

Your email address will not be published.