कार्यकर्ता रिहाइको माग राख्दै ‘विप्लव’ द्धारा कैलाली बन्द, जनजीवन कष्टकर

कैलाली । कार्यकर्ता पक्राउको विरोधमा नेत्र विक्रम चन्द नेतृत्वको नेकपाले आज कैलाली बन्द आह्वान गरेको छ । घोडाघोडी नगरपालिकाका मेयर ममता प्रसाद चौधरीलाई आक्रमण गर्ने कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको बिरोधमा विप्लव नेतृत्वको नेकपाले कैलाली बन्द आह्वान गरेको हो ।

बन्दका कारण यातायातका साधन चलेका छैनन् भने बजार पनि बन्द छन् । गाडी नचल्दा यात्रुहरु मर्कामा परेका छन् । गत फागुन २८ गते मेयर चौधरीलाई उनकै घरमा विप्लवका कार्यकर्ताहरुले खुकुरी र गोली हानेका थिए । खुकुरी र गोली लागेर
गम्भीर घाइते भएका चौधरीको काठमाडौंमा उपचार भइरहेको छ ।

मेयर चौधरीलाई आक्रमण गरेको आरोपमा विप्लव समूहका चार जना पक्राउ परेका छन् । प्रहरीले योङ रेड कोर्सका केन्द्रिय सदस्य कमल क्षेत्री, पार्टी जिल्ला सदस्य भरत शाह, टिकापुर नगर सेक्रेटरी हिर्दय वोगटी र धनगढी उपमहानगर सदस्य पुरन खनाललार्इ पक्राउ गरेको हो। विप्लव पार्टीले भने उक्त घटनामा आफ्ना नेता तथा कार्यकर्ताको कुनै संलग्नता नरहेको बताउँदै आएको छ ।

Leave A Reply

Your email address will not be published.