केही वर्ष अगाडि एमसिपिएममा समेत फेल भएको भीमदत्त नगरपालिका प्रदेश ७ को उत्कृष्ट

कञ्चनपुर । कञ्चनपुरको भिमदत्त नगरपालिका प्रदेश ७ को सबैभन्दा उत्कृष्ट घोषित भएको छ । केही वर्ष अघि न्यूनतम सर्त मापदण्डमा समेत फेल भएको नगरपालिका प्रदेश ७ को उत्कृष्ट भएको हो । नेपाल नगरपालिका संघको २५ औं रजत जयन्तीको अवसरमा नगरपालिकालाई पृरस्कृत गरिएको छ । नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टले सबैको साथ र सहयोगले उत्कृष्ट नगरपालिका बन्न सफल भएको बताएका छन् ।

केही वर्ष अघि न्युनतम शर्त तथा कार्यसम्पादन मुल्याकन (एमसिपिएम) मा समेत फेल भएको नगरपालिकामा जनप्रतिनिधि आएसँगै उत्कृष्ट बन्नु सबैको लागि गौरवको विषयमा भएको मेयर विष्टको भनाई छ । गत असार २५ गते शपथ ग्रहण गरेका जननिर्वाचित प्रतिनिधिले साउन २४ पहिलो नगरसभा सम्पन्न गरेको थियो । नगरसभाबाट कानुनहरु निर्माण गर्नुका साथै रणनीतिक योजनाहरु समेत सार्वजनिक गरेको थियो ।

सोही अनुसार अगाडि बढ्दै गएकाले अहिले यहाँसम्म पुगेको मेयर विष्टको भनाई छ । निर्वाचन अगाडि जनाईएका प्रतिबद्धता अनुसार काम गर्दै जाँदा नगरपालिकाले उत्कृष्ठता हासिल गर्न सफल भएको उनको भनाई छ । नगरपालिकाले अहिलेसम्म १३ बैठक सम्पन्न गरिसकेको छ । सरकार तथा प्रदेश सरकारले तोकेभन्दा पारिश्रमिक निर्धारण नगरिएको बताउँदै मेयर विष्टले भने, ‘हामीले स्थानीय स्तरबाट कुनै पनि पारिश्रमिक तोकेका छैनौं । नगरपालिकाबाट प्रदान गरिने अनावश्यक सहयोग रकम दिन बन्द गरेका छौं ।’

नगरपालिकाले ९ वटा कार्य विभाजन शाखा र २१ वटा उपशाखा गठन गरेर सेवा प्रदान गरिरहेको छ । त्यस्तै प्रत्येक वडा कार्यालयबाट प्रदान गरिने सेवाहरु वडा कार्यालयबाट नै दिईरहेको प्रमुख विष्टको भनाई छ । नगरपालिकाले विकास निर्माणको कार्यलाई पनि तिब्रताका साथ अगाडि बढाएको छ ।

जैविक धार्मिक पर्यटन मार्ग, ग्रामिण कृषि सडक, मुल सडक तथा अन्या विकास निर्माणको कार्यलाई समेत तिब्रता दिईरहेको प्रमुख विष्टले बताए । उनले भने, ‘हामिले ९० किलोमिटरको नयाँ बाटो खोलेका छौं । त्यसलाई पनि स्तर बृद्धि गर्दै लैजान्छौं । अहिले सम्म भएका ग्राइभेल सडकलाई पक्की बनाउँदै लानेछौं । त्यसरी नै सडक निर्माणको काम पनि तिब्र गतिमा अगाडि बढिरहेको छ ।’

कञ्चनपुर प्रदेश ७ को समृद्धिको आधार भएको भन्दै प्रमुख विष्टले भने, ‘भिमदत्त नगरपालिकाले भारतीय र चिनियाँ मार्ग निर्माणलाई समेत प्राथमिकता दिएको छ । त्यसको लागि महाकाली नदिमा पक्की पुल निर्माण भईरहेको छ । दार्चुलाको तिंकर नाका खोल्न केन्द्र सरकार, प्रदेश सरकार र दार्चुलाका स्थानीय निकायहरुसँग समेत समन्वय भईरहेको छ । यसरी विकास गर्न सके प्रदेश ७ देशकै समृद्ध प्रदेश बन्छ ।’